इलाम–२ मा कांग्रेसले सिफारिस गर्‍यो उम्मेदवारको नाम, भेषराज आचार्य पहिलो नम्बरमा

बुधबार, चैत ७, २०८०

काठमाडौं । आउँदो वैशाख १५ गते हुने इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिले उम्मेदवारको नाम सिफारिस गरेको छ ।  क्षेत्रले पठाएको नामहरु जिल्ला र प्रदेश कार्यसमितिले रायसहित केन्द्रमा पठाउनेछ । मंगलबार इलामको चुलाचुलीमा बसेको पार्टी क्षेत्रीय कार्यसमितिको बैठकले उमेदवारको नाम सिफारिस गरेको हो । 
क्षेत्रीय सभापति डिकेन्द्र इदिङ्गोका अनुसार विधानले दिएको अधिकार र व्यवस्था अनुसार आकांक्षीहरुको नाम पठाइएको हो । सभापति इदिङ्गोले भने,‘क्षेत्रीय समितिको बैठकबाट पहिलो नम्बरमा महासमिति सदस्य एवम महाधिवेशन प्रतिनिधि भेषराज आचार्यको नाम समावेश गरेर पठाएका छौं । दोस्रो नम्बरमा पूर्वसांसद केशव थापाको नाम सिफारिस गरेका छौं ।’ 
त्यस्तै क्रमशः जिल्ला सभापति डम्बर खड्का, संविधानसभा सदस्य नगेन्द्र कुमाल र नेता रमेश लिङ्देनको नाम सिफारिस गरिएको पनि उनले जानकारी दिए । बैठकले आकांक्षीद्वय चन्द्रमाया लिम्बू र चन्द्रकला राईको नाम पनि सिफारिस गरेर पठाइएको उनले बताए । 
सिफारिस भएका नामहरुमा जिल्ला र प्रदेश कार्यसमितिले राय लेखेर पठाउनेछन् र केन्द्रले फाइनल गर्ने पनि उनले बताए । एमाले उपाध्यक्ष तथा उक्त क्षेत्रका सांसद सुवासचन्द्र नेम्वाङको गत भदौमा निधन भएको थियो । त्यसैले निर्वाचन हुन लागेको हो । 
कांग्रेसबाट मुख्यगरी आचार्य, थापा, सभापति खड्का र कुमाल मुख्य आकांक्षीका रुपमा दौडधुपमा छन् ।  इलाम क्षेत्र नम्बर २ कांग्रेसको बलियो क्षेत्र मानिन्छ । राष्ट्रिय राजनीतिमा स्थापित नेम्बाङको निधनपछि मुख्य प्रतिस्पर्धी एमालेभित्र उम्मेदवारमा रस्साकस्सी चलिरहेको बेला कांग्रेसले यसपटक सकरात्मक परिणाम निकाल्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  ०७:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार