नियन्त्रित चुनावबाट पाँचौँ पटक राष्ट्रपतिमा पुटिन निर्वाचित

सोमबार, चैत ५, २०८०

 मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पाँचौँ कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन् । रुसी राष्ट्रपतीय निर्वाचनमा ६७.५४ प्रतिशत मत खसेको रुसी समाचार एजेन्सी तासले जनाएको छ। यो अघिल्लो निर्वाचनमा खसेको मतभन्दा धेरै हो । सन् २०१८ को मतदानमा ६७.५ प्रतिशत मत खसेको थियो । उनका अधिकांश आलोचकहरू निर्वासनमा वा जेलमा रहँदा ७१ वर्षीय पुटिन पुनः निर्वाचित भएका छन् । प्रतिपक्षी दलका नेता एलेक्सी नभाल्नीको गत महिना आर्कटिक सर्कलको एक जेलमा अचानक मृत्यु भएको थियो । उनकी विधवा श्रीमती युलिआ नभाल्न्याले रुसी नागरिकहरूलाई मतदान केन्द्रमा लामो लाइन लागेर विरोध जनाउन आह्वान गरेकी थिइन् ।

मौन विरोध
मतदानका दिन मध्याह्नतिर मस्कोका मतदान केन्द्रहरूमा अचानक मानिसहरूको लाइन देखिएको थियो ।  कुनै नाराबाजी र पर्चाहरू बिनै मौन विरोध प्रदर्शन गरिएको हो ।  सयौँ मतदान केन्द्रहरूमा तोडफोड भएका थिए भने कैयौँ मानिसहरू पक्राउ परेका थिए। रुस बाहिरका कतिपय देशहरूमा पनि पुटिनविरुद्ध प्रदर्शनहरू भएका थिए । 

रुसी नियन्त्रणका युक्रेनी भू–भागमा पनि मतदान
रुसले नियन्त्रणमा लिएका युक्रेनी भूमिहरू जपोरिज्या, खेअरसन, डोनेट्स्क र लुहान्स्क क्षेत्रमा पनि रुसले मतदान गराएको छ । कतिपय विश्लेषकहरूले सन् २०३६ सम्म पुटिन सत्तामा बसिरहन सक्ने आकलन गर्दै आएका छन् । यसअघि सन् २०१८ मा भएको चुनावमा उनले ७६ प्रतिशत मत पाएका थिए । रुसी फेडेरेशनका राष्ट्रपति बोरिस येल्त्सिनले सन् १९९९ मा पुटिनलाई पहिलो पटक प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।
पुटिन सन् २००० देखि २००८ सम्म राष्ट्रपति र फेरि सन् २००८ देखि २०१२ सम्म प्रधानमन्त्री बनेका थिए । सन् २०१२ मा पुनः राष्ट्रपति भएयता उनी निरन्तर राष्ट्रपति छन् ।
उनले ८७ प्रतिशतभन्दा बढी भोटसहित चुनावी नतिजा आफ्नो पक्षमा पारेका त्यहाँको निर्वाचन आयोगले जानकारी दिएको छ । रुसमा राष्ट्रपति पदका लागि गत शुक्रबारदेखि आइतबारसम्म तीन दिन चुनाव भएको थियो ।
सीएनएनका अनुसार पोलस्टर पब्लिक ओपिनियन फाउन्डेसन (एफओएम) को एक एग्जिट पोलबाट पुटिनले ८७.८ प्रतिशत भोट पाउने देखिएको छ । जो रुसको सोभियत इतिहासकै सबैभन्दा ठूलो परिणाम हो ।
यसैगरी रसियन पब्लिक ओपिनियन रिसर्च सेन्टर (वीसीआईओएम)ले पनि पुटिनले ८७ प्रतिशत भोट पाएर राष्ट्रपति पदमा थप ६ वर्ष कायम रहने निश्चित रहेको जनाएको छ । यी रिसर्च सेन्टरका अघिल्ला एग्जिट पोलहरु सटिक थिए । यसपटकको राष्ट्रपति चुनावमा ७१ वर्षीय पुटिन उनी एकल दाबेदार थिए । यद्यपि प्रतिस्पर्धामा क्रेमलिनद्वारा समर्थित तीन उम्मेदवार थिए । उनीहरु सशक्त उम्मेदवार थिएनन् । पुटिनका कट्टर आलोचक एलेक्सी नाभाल्नीको जेलभित्रै मृत्यु भएको र अरु सशक्त उम्मेदवार कोही नहुँदा पुटिनको जित पहिल्यै सुनिश्चित थियो । उनका केही विरोधीहरु अहिले पनि जेलमै छन् ।
त्यसैले कतिपयले रुसमा भएको राष्ट्रपतिको निर्वाचन निष्पक्ष नभएको भनेर आलोचना पनि गरेका छन् । निर्वाचनको दिन पनि पुटिनका विरोधीहरुले मतदान केन्द्र बाहिर विरोध प्रदर्शन गरेका थिए । अमेरिकाले निर्वाचन स्वतन्त्र र निष्पक्ष नभएको भनेर आलोचना गरेको छ । जर्मनीले पनि सेन्सरसिप, दमन र हिंसाको जगमा छद्म चुनाव गराइएको टिप्पणी गरेको छ । बेलायतले पनि चुनावलाई अवैध भनेर निन्दा गरेको छ । तर पुटिनले भने रुसको लोकतन्त्र अन्य देशहरुको तुलनामा अधिक पारदर्शी रहेको जिकीर गरेका छन् । पुटिन सन् १९९९ देखि रुसको सत्तामा छन् । बोरिस यल्तसिनले आफ्नो खराब स्वास्थ्यका कारण पुटिनलाई सत्ता सुम्पिएका थिए । त्यसयता उनले चुनाव हारेका छैनन् । थप ६ वर्षका लागि राष्ट्रपति पदमा औपचारिक रुपमा निर्वाचित भएपछि पुटिनले जोसेफ स्टालिनको रेकर्ड तोड्ने छन् ।–एजेन्सी 

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  ०८:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार