सोसल मिडिया
Contact Us
युनिकोड
बिर्तामोड । किरात मोर्चाले इलामको क्षेत्र नम्बर–२ मा हुन लागेको उपनिर्वाचन बहिष्कार गर्ने घोषणा गरेको छ । मोर्चाका अध्यक्ष मिसेकहाङ किरातले प्रेस विज्ञप्ति जारी गर्दै आसन्न उपनिर्वाचन बहिष्कार गर्ने घोषणा गरेका हुन् । कोशी प्रदेश नामकरण भएकै समयमा हुने सम्पूर्ण निर्वाचन प्रक्रिया बहिष्कार गर्ने घोषणा गरेको मोर्चाले शान्तिपूर्ण आन्दोलन गर्ने जनाएको छ । कोशी नाम खारेजी, अधिकार सम्पन्न किरात राज्यको स्थापनाको माग गर्दै आन्दोलनरत मोर्चाले प्रदेशको नाम ‘किरात’ राख्नुपर्ने माग गरेको छ । इलाम–२ मा वैशाख १५ गते निर्वाचन गर्ने सरकारको तयारी छ । उक्त क्षेत्रबाट प्रतिनिधि सभामा निर्वाचित सांसद सुवासचन्द्र नेम्वाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।
मिलन लिम्बुले घोषणा गरे स्वतन्त्र उम्मेदवारी बैशाख १५ गते हुने इलाम–२ को प्रतिनिधिसभा उपनिर्वाचनमा मिलन लिम्बुले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । लिम्बूले राजनीतिक दलहरूले गरेको भ्रष्टाचारको विरुद्धमा लडिरहने प्रतिबद्धतासहित उम्मेदवारी दिने बताए । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले इलामका नागरिकको सेवक बनेर जीवनभर काम गर्ने बाचा गर्दै उनले नेताहरुले गरेको संस्थागत भ्रष्टाचार र अभिमतको दुरुपयोग रोक्दै सुशासनको पक्षमा काम गर्ने बताए ।
उनले भने, ‘हाम्रो क्षेत्रको विकासको चाहना पूरा गर्नका लागि मलाई इलाम २ का जनताले यो माटोको उम्मेदवारका रूपमा उभ्याएका छन् । राजनीतिक दलहरूले गरिरहेको संस्थागत भ्रष्टाचार र अभिमतको दुरुपयोग रोक्दै सुशासनको पक्षमा र भ्रष्टाचारको विरुद्ध लडिरहनेछु । यो उपनिर्वाचनमा मात्रै नभएर म इलामका नागरिकको सेवक बनेर जीवनभर सुख–दुःखमा सँगै उभिने बाचा गर्दछु ।’ उनले राजनीतिक दलका उम्मेदवारले मतको दुरुपयोग मात्रै होइन, मूल्य–मान्यताहरूलाई समेत कुल्चिएको भन्दै यसलाई रोक्नको लागि सबैको साथ र सहयोगका लागि अपिल गरेका छन् । संविधान र संघीयता लागू भएपनि अझै राजनीतिक कार्यभार बाँकी रहेको भन्दै उक्त कार्यभार पूरा गर्नका लागि सबै एकताबद्ध हुन आवश्यक रहेको पनि उनको भनाई छ । उनले भने, ‘संविधान र संघीयता लागू भएपनि अझै केही राजनीतिक कार्यभार बाँकी छन् । स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाउनु छ । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख बनाउने गरी शासकीय प्रणालीमा परिवर्तन गर्नुछ । सबै अस्तित्वहरूको सम्मान गर्दै पहिचानको आधारमा प्रदेशको पुनः नामकरण गर्नुछ ।’