इलाम–२ उपनिर्वाचन : उम्मेद्वार तय गर्न दलहरूको तयारी तीव्र

आइतबार, चैत ४, २०८०

विराटनगर । वैशाख १५ गते हुने इलाम क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि उम्मेदवारी दिन विभिन्न राजनीतिक दलले तयारी तीव्र बनाएका छन् ।
केही दलले आकांक्षीहरूबाट निवेदन लिइसकेका छन् भने केहीले निवेदन दिन सूचित गरेका छन् । आकांक्षीहरूको निवेदन परेपछि पार्टीको विभिन्न तह हुँदै केन्द्रमा उम्मेदवारको नाम सिफारिस गर्ने तयारी दलहरूको छ ।
पछिल्लो पटक नेपाली कांग्रेसले आकांक्षीहरूबाट प्रस्ताव पेस गर्न सूचना जारी गरेको छ । उक्त क्षेत्रको पार्टी क्षेत्रीय कार्य सम्पादन समितिको बैठकले चैत ५ गते साँझ ५ बजेसम्म इच्छुक उम्मेदवारहरूले समितिमा निवेदन दिन सूचित गरेको हो ।
निवेदनमा आवश्यक कागजात र आफू उम्मेदवार हुनका लागि निश्चित विवरण माग गरिएको जनाइएको छ ।
कांग्रेस क्षेत्रीय सभापति डिकेन्द्र इदिङ्गोका अनुसार उम्मेदवारीको निवेदनमा एकजना प्रस्तावक र एकजना समर्थक, राजनीतिक वैयक्तिक विवरण, पार्टीका उम्मेदवारलाई विजयी गराउन सम्पूर्ण रुपले सक्रिय रहने प्रणसहितको प्रतिबद्धता पत्र माग गरिएको छ । निवेदन परेपछि पार्टीको माथिल्ला निकाय हुँदै केन्द्रीय समितिमा नाम सिफारिस गर्ने तयारी पार्टीले गरेको छ । इलाम–२ मा हुने उपनिर्वाचनका लागि कांग्रेसबाट जिल्ला सभापति डम्बर खड्का, पूर्वसांसद केशव थापा, महासमिति सदस्य भेषराज आचार्य, युवा नेता नगेन्द्र कुमाललगायतको नाम चर्चामा छ ।
उक्त क्षेत्रबाट निर्वाचित नेकपा एमालेका नेता तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएको थियो ।  उनको निधनपछि रिक्त रहेको प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो ।
२०७९ सालको निर्वाचनमा नेम्वाङ प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार डम्बर खड्काभन्दा १ सय १४ मत बढी ल्याएर निर्वाचित भएका थिए । उपनिर्वाचनका लागि नेकपा एमालेले उम्मेद्वार घोषणा गरेको छैन । पार्टीले आकांक्षीहरूको निवेदन माग गर्दा नेम्वाङ पुत्र सुहाङ नेम्वाङ, नेता नरेन्द्रनाथ भट्टराई, देवी क्षेत्री दुलाल, बुद्धि खनाललगायत ६ जनाले निवेदन दिएका छन् ।
सहमति नभएपछि जिल्ला कमिटीले उनीहरूसबैको नाम केन्द्रमा सिफारिस गरेको छ । 
नेकपा माओवादी केन्द्रले पनि उम्मेदवारबारे केही निर्णय गरेको छैन । केन्द्रमा नयाँ गठबन्धन बनेपछि संयुक्त उम्मेदवार उठाउने चर्चा चले पनि दलहरुले यसबारे कुनै निर्णय गरेका छन् ।
यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि उक्त क्षेत्रमा उम्मेद्वारी दिने निर्णय गरिसकेको छ । कसलाई उम्मेद्वार बनाउने भन्ने टुंगो भइनसकेको पार्टीले जनाएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि उक्त क्षेत्रमा उम्मेद्वारी दिने तयारी गरेको छ । 
पार्टीको कोशी प्रदेश समितिले जिल्ला समितिसँग समन्वय गरी उम्मेदवार सिफारिस गर्ने तयारी गरेको नेताहरुले बताएका छन् । राप्रपाबाट लक्ष्मी गुरूङ उम्मेदवार बन्ने चर्चा छ । 
निर्वाचन आयोगले इलाम–२ उपनिर्वाचनका लागि कार्यक्रम तालिका सार्वजनिक गरिसकेको छ । त्यसअनुसार चैत २४ गते उम्मेदवारी दर्ताको मिति तोकेको छ । 
यसैबीच, उपनिर्वाचनमा स्वतन्त्र स्वतन्त्र उम्मेदवारी दिने मिलन लिम्बुले घोषणा गरेका छन् । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले उम्मेदवारी घोषणा गरेका हुन् ।
किरात मोर्चाले भने उपनिर्वाचन बहिष्कार गर्ने घोषणा गरेको छ । मोर्चाका अध्यक्ष मिसेकहाङ किरातले विज्ञप्ति प्रकाशन गर्दै उपनिर्वाचन बहिष्कार गर्ने घोषणा गरेका हुन् ।
 

प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  १९:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार