भाखा नाघेको ऋण व्यवस्थापनका लागि सहकारी सञ्चालक तथा व्यवस्थापकलाई महालक्ष्मी नगरपालिका ९ नं. वडाको तालिम

शुक्रबार, चैत २, २०८०

लामाटार (ललितपुर) । महालक्ष्मी नगरपालिका ९ नं. वडाले वडा भित्र सञ्चालित सहकारी संस्थाका सञ्चालक तथा व्यवस्थापकहरूलाई ‘भाखा नाघेको ऋण’ असुली प्रक्रियाका बारेमा एक दिने तालिम–प्रशिक्षण दिएको छ । 
महालक्ष्मी नगरपालिका ९ नं. वडा समितिको आयोजना तथा सिद्धिविनायक कृषि बहुउद्देश्यीय सहकारी संस्थाको सहआयोजनामा भएको तालिममा राष्ट्रिय सहकारी बैंकले प्राविधिक सहयोग प्रदान गरेको थियो । तेजप्रसाद बजगाईंले भाखा नाघेका ऋण असुलिका प्रक्रियाका बारेमा वडा भित्र सञ्चालनमा रहेका ९ वटा सहकारीका व्यवस्थापक तथा सञ्चालकहरूलाई प्रशिक्षण दिएका थिए ।

Rin-4-1710470329.jpg

प्रशिक्षणका क्रममा उनले कर्जा लगानी गरेको दिनबाटै जोखिमको सुरुवात हुने भएकोले उक्त जोखिमबाट बच्ने तयारी पनि सुरुदेखि नै गर्नुपर्नेमा सञ्चालक तथा व्यवस्थापकहरूलाई सतर्क गराएका थिए । 
तालिम समापनका अवसरमा सहभागीहरूलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य मदनबहादुर अमात्यले प्रमाणपत्र प्रदान गरेका थिए । 
कार्यक्रममा केन्द्रीय सदस्य अमात्यले अहिले मुलुक भरकै सहकारीहरू संकटमा रहेको औंल्याउँदै सहकारी क्षेत्रमा यस्तो संकटमा आउनुमा सहकारीका सञ्चालक तथा सदस्यहरूको अल्प ज्ञान दोषी रहेको बताए । 

rin-3-1710470328.jpg

‘सहकारीमा अहिले जति पनि समस्या आएका छन् कि सदस्यले नबुझेर आएका छन् कि सदस्यलाई बुझाउन नचाहेर आएका हुन्’, तालिम समापन कार्यक्रमका प्रमुख अतिथि संविधान सभाका सदस्य अमात्यले भने,‘सहकारीमा यत्रो संकट आएका बेला सहकारीका सञ्चालक तथा व्यवस्थापकहरूलाई राखेर ऋण असुलिका विषयमा प्रशिक्षण दिएकोमा महालक्ष्मी नगरपालिका वडा नं. ९ का निर्वाचित वडाअध्यक्षसहित सिंगो जनप्रतिनिधिको  टिमलाई म धन्यवाद दिन चाहन्छु ।’
वडाले जुन तालिम दिएको छ सो अनुसार सहकारी सञ्चालकहरू हिँड्ने हो भने सहकारी प्रतिको विश्वास पुन फर्कने उनको धारणा थियो । 
तालिम समापनका अवसरमा राष्ट्रिय सहकारी बैंक ईमाडोल शाखा प्रमुख रुक्मिणी थापाले वडाको समन्वयमा अन्य तालिमहरु सञ्चालन गर्ने जानकारी दिइन् । कार्यक्रमका सभापति वडाअध्यक्ष जयकृष्ण बोगटीले आफ्नो वडामा ९ वटा सहकारी सञ्चालनमा रहेको बताउँदै वडा भित्रका नौवटै सहकारीमा संकट नदेखिए पनि बाहिर खुलेर आफ्नो वडामा सेवा काउन्टर तथा शाखा खोलेर वडावासीको बचत अपचलन गरिदिँदा वडावासी समस्यामा परेको जानकारी दिए । 

ac3ffc84-cb2e-4e81-9b61-beb718161fcd-1710470642.jpg


बढी व्याजको लोभमा बाहिरबाट आएका सहकारीमा बचत जम्मा गर्दा समस्या देखिएको छ उनले भने, ‘२० लाख भन्दा तलको ऋण मिनाह हुन्छ भन्ने हौवा फैलाउनेहरूबाट पनि सहकारीमा समस्या आएको हो । यस्ता विषयमा पक्षमा लाग्नु हुँदैन ।’ वडाअध्यक्ष बोगटीले बिना धितो ऋण प्रवाह गर्दा पनि सहकारीमा संकट आएको बताए । 
यसअघि उद्घाटन सत्रमा  राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामहरि बजगाईंले सहकारी भन्नासाथ ठगी गर्ने निकाय हो भन्ने भाष्य निर्माण भएका कारण समस्या देखिएको औंल्याउँदै सहकारीमा समस्या आउनुमा सञ्चालक तथा सदस्यहरू दुबै जिम्मेवार रहेको बताउँदै नियमनकारी निकायहरूले कडाई गर्न सकेमात्रै अहिलेको संकटबाट पार पाइने बताए । 

931710bc-2bff-4e2a-935b-6c9683d606c4-1710470680.jpg
मुलुकमा खुलेको मध्ये ८० प्रतिशत सहरकारी स्थानीय तह मातहत छन्, १९ प्रतिशत प्रदेश मातहत र १ प्रतिशतमात्रै केन्द्र मातहत रहेको जानकारी दिँदै बजगाईंले भने, ‘स्थानीय तहले सहकारीको ऋण नतिर्नेहरूलाई राज्यको सेवा सुविधाबाट बञ्चित गर्न सुरु नगर्दासम्म यो समस्याबाट उम्कन सकिँदैन ।’
कार्यक्रममा  वडासदस्य तथा कार्यक्रम संयोजक शशीधर पोखरेलले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै सहकारी सञ्चालन तथा ऋण असुलीका बारेमा विज्ञहरूले दिएको प्रशिक्षण अनुसार चल्न व्यवस्थापक तथा सञ्चालकहरुलाई आह्वान गरे । रोजिना दहाल पोखरेलले सञ्चालन गरेको कार्यक्रममा सहकारी सञ्चालक देबेन्द्र पौडेलले पनि मन्तव्य व्यक्त गरेका थिए ।   
तालिम कार्यक्रममा महालक्ष्मी नगरपालिका वडा नं. ९ का वडाअध्यक्ष जयकृष्ण बोगटी, वडा सदस्य शशीधर पोखरेल र बेली सुर्खेती, कार्यपालिका सदस्य सरिता पोखरेल, कुमार बयलकोटी तथा वडा सचिव नारायणकुमार श्रेष्ठको पनि उपस्थिति रहेको थियो । 

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  ०८:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार