सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । सहकारी ठगी र संगठित अपराधको कसुरमा फरार रहेका जीबी राई ‘स्वदेश फर्किन चाहेको’ प्रेस विज्ञप्ति र अडियो सन्देश सार्वजनिक भएको छ । सेतोपाटी डिजिटल पत्रिकाले शनिबार सार्वजनिक गरेको अडियोमा राईले ‘सेयरधनी, बचतकर्ता, ऋणी र सरकार’ लाई सम्बोधन गर्दै सहकारी संस्था, कम्पनी र अन्य विषयवस्तुबारे जानकारी गराएका छन् । राईको भनिएको विज्ञप्तिमा विगतमा ‘तत्कालीन सरकारबाट सहयोग र सहकार्यको अपेक्षा गरिएको’ तर सहयोगको सट्टा बचतकर्ताहरूलाई मुद्दा हाल्न प्रेरित गरिएको उल्लेख छ । ‘विभिन्न शीर्षक तयार पारेर अनेक ठाउँमा मुद्दा दर्ता गरियो । परिस्थिति यति जटिल बन्यो कि ज्यान मार्ने धम्कीसम्म आउन थालेपछि बाध्य भएर भूमिगत हुनुपर्ने अवस्था सिर्जना भयो,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसपछि अन्तर्राष्ट्रिय माध्यमबाट समेत खोजी गर्ने काम भयो । म आज एउटा प्रश्न गर्न चाहन्छु, के मेरो पक्राउ नै यो सम्पूर्ण समस्याको समाधान हो ?’ पक्राउ नै समाधान हो भने आफैं उपस्थित हुने तर त्यसो गर्दा लाखौं बचतकर्ताको अर्बौं रकम फिर्ता नआउने उनले बताएका छन् । उनले भनेका छन्, ‘सरकारलाई मेरो आग्रह छ, मेरो खोजीमा संयुक्त रूपमा शक्ति प्रयोग गर्नुपर्दैन । म बचतकर्ताहरूको रकम निश्चित समयभित्र विभिन्न वैकल्पिक उपाय अवलम्बन गरी व्यवस्थापन गर्न प्रतिबद्ध छु ।’ राईका जेठान ज्ञानबहादुर बमजनले सेतोपाटीलाई प्राप्त अडियो सुनेर त्यो आवाज उनकै भएको बताएका छन् । ‘हामीले फरेन्सिक ल्याबमा परीक्षण गरेर राईको अडियो पुष्टि गरेका छैनौं,’ सेतोपाटीले भनेको छ । जीबी राईको भनिएको अडियो सार्वजनिक भएपछि कान्तिपुरले नेपाल प्रहरीका तीन उच्च अधिकारीसँग कुराकानी गरेको छ । उनीहरूले अडियोको सत्यता परीक्षण गर्ने तयारी गरिएको बताएका छन् । ‘सञ्चारमाध्यममा अडियो आएको थाहा पायौं । त्यो सत्य हो कि होइन भन्ने भेरिफाई गर्न खोजिरहेका छौं,’ एक अधिकारीले भने । बमजनले त्यो अडियो जीबीकै भएको बताएका छन् । तर सेतोपाटीबाट आफूलाई पठाइएपछि मात्र अडियोबारे थाहा पाएको उनको भनाइ छ । ‘मैले अडियो सुनेँ, आवाज उहाँकै हो,’ उनले भने, ‘तर मेरो उहाँसँग कुरा नभएको लामो समय भइसकेको छ।’ विज्ञप्तिबारे भने आफूलाई केही जानकारी नभएको र राईसँगको सम्पर्कसूत्रबारे पनि आफूलाई केही थाहा नभएको बमजनले बताए । आफू अमेरिकामा भएका बेला राईसँग अन्तिम पटक कुरा भएको पनि उनले जानकारी दिए । ‘मलाई पनि पोखराको एउटा संस्थामा प्रतिवादी बनाइएको थियो । फेस गर्न आएको थिएँ । त्यसबेला मैले फोनमा उहाँलाई म पनि फेस गर्न आएको हुँ, तपाईंले पनि गर्नुपर्छ भनेको थिएँ,’ उनले भने, ‘उहाँले आफ्नो ज्यानमाथि चुनौती रहेको बताउनुभएको थियो ।’ राईविरुद्ध पोखराको सूर्यदर्शन, चितवनको साहारा, वीरगन्जको सानो पाइला, बुटवलको सुप्रिम, नेपालगन्जको समानता र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीमा रहेको हजारौं सर्वसाधारणको बचत रकम हिनामिना गरेको अभियोग छ । अहिलेको सरकारले बचतकर्ताहरूको बचत सुरक्षाका लागि गरिरहेको पहल स्वागतयोग्य र सकारात्मक रहेको राईले जनाएका छन् । बचत सुरक्षााका लागि सरकारसँग सहकार्य गर्न चाहेको उनको भनाइ छ । ‘त्यसको सुरुवातस्वरूप मैले साथीभाइ, आफन्त र शुभेच्छुकबाट केही जग्गाजमिनको व्यवस्थापन गरेको छु । आवश्यक परे त्यही सम्पत्ति प्रयोग गरेर वा कुनै अरू विकल्पबाट भए पनि म तपाईं सम्पूर्णको बचत सुरक्षित गर्न र आफ्नो दायित्व पूरा गर्न अन्तिम क्षणसम्म प्रयासरत रहनेछु,’ उनले विज्ञप्तिमा भनेका छन् । विभिन्न सहकारीबाट ग्यालेक्सी टेलिभिजनमा गएको सम्पूर्ण रकम अध्यक्षको हैसियतले आफ्नै जिम्मेवारीभित्र पर्ने राईले बताएका छन् । ‘आर्थिक स्रोत व्यवस्थापनमा अन्य कुनै सञ्चालकको संलग्नता रहेको छैन । साथै, कर्मचारी वा अन्य कुनै व्यक्तिबाट अभिलेख राख्ने क्रममा असावधानीवश नाम वा कागजात दुरुपयोग भएको हुन सक्छ । त्यस विषयमा अन्य व्यक्तिहरूलाई अनावश्यक रूपमा जोड्नु उचित हुँदैन भन्ने मेरो धारणा छ,’ विज्ञप्तिमा उनले भनेका छन् । तत्कालीन सञ्चालकद्वय रवि लामिछाने र छविलाल जोशीलाई त्यस विषयमा जोड्नु उचित नभएको आफ्नो बुझाइ रहेको उनको भनाइ छ ।