राष्ट्रिय सभामा माओवादीले आफ्नै उम्मेदवार उठाउने 

बुधबार, फागुन १६, २०८०

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षमा आफैं उम्मेदवारी दिने निर्णय गरेको छ ।  बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको पार्टी स्थायी कमिटिको बैठकले माओवादी आफैंले उम्मेदवारी दिने निर्णय गरेको पार्टी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।  सत्तारुढ गठबन्धन दल कांग्रेसले कृष्णप्रसाद सिटौलालाई अध्यक्षमा अघि सार्ने तयारी चर्चाकाबीच माओवादी यस्तो निर्णय गरेको हो ।  माओवादीको स्थायी कमिटी बैठकमा मंगलबार अधिकांश नेताहरूले राष्ट्रिय सभा अध्यक्षमा दाबी प्रस्तुत गर्नुपर्ने अडान राखेका थिए ।  संवैधानिक आयोगका पदाधिकारी नियुक्ति सिफारिस गर्ने ६ सदस्यीय संवैधानिक परिषद्को सदस्यसमेत हुने भएकाले दुवै दलले राष्ट्रिय सभा अध्यक्ष आफनो दलका नेतालाई बनाउन चाहेको बताइएको छ ।
राष्ट्रिय सभा अध्यक्षको निर्वाचन यही फागुन २९ मा हुँदैछ । 

माओवादीका प्रदेश इन्चार्ज हेरफेर
नेकपा माओवादी केन्द्रले पार्टीका प्रदेश इन्चार्जहरुको जिम्मेवारी हेरफेर गरेको छ ।  बुधबार सम्पन्न बैठकले सातवटै भूगोल, गैरभौगोलिक प्रदेश र प्रवासको जिम्मेवारी हेरफेर गरेको पार्टी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए। माओवादीले कोशी प्रदेश इन्चार्जको जिम्मेवारी हरिबोल गजुरेलले पाएका छन् भने सहइन्चार्जको जिम्मेवारी सावित्रिकुमारी काफ्लेलाई दिएको छ । त्यस्तै, मधेशको इन्चार्जमा लिलामणि पोखरेललाई यथावत राख्दै सहइन्चार्जको जिम्मेवारी विश्वनाथ साहलाई दिइएको छ । बागमतीको इन्चार्ज पार्टी प्रवक्ता सापकोटा नै बनेका छन् भने सहइन्चार्ज टुंगो लाग्न सकेको छैन। यसैगरि, गण्डकीको इन्चार्जमा दिनानाथ शर्मालाई तोकिएको छ भने सहइन्चार्जमा हरिराज अधिकारी रहेका छन् ।  लुम्बिनी इन्चार्जमा चन्द्रप्रकाश खनाल रहेका छन् भने सहइन्चार्जमा कुलप्रसाद केसीले जिम्मेवारी पाएका छन् ।  कर्णाली इन्चार्जको जिम्मेवारी कालीबहादुर मल्लले पाएका छन् भने सहइन्चार्जको टुंगो लाग्न सकेको छैन ।  उता सुदूरपश्चिम इन्चार्जमा गिरिराजमणि पोखरेललाई जिम्मेवारी दिइएको छ भने सहइन्चार्ज बिना मगर बनेकी छिन् ।  विशेष प्रदेशको इन्चार्जको जिम्मेवारी हितमान शाक्यले पाएका छन् भने सहइन्चार्जमा यशोदा सुवेदी रहेकी छिन् ।  प्रवास अन्तर्गत मध्यपूर्वको इन्चार्जमा पम्फा भुसाल, भारतको इन्चार्जमा लक्ष्मण पन्त र सहइन्चार्जमा टिबी पाठक रहेका छन् ।

प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  १४:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार