सोसल मिडिया
Contact Us
युनिकोड
सुनसरी । सुनसरीको इनरुवामा मोटरसाइकल, स्कुटर र साइकल एकआपसमा ठोक्किँदा ७ वर्षीया बालिकाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । इनरुवा नगरपालिका–५ बलाहास्थित भित्री सडकखण्डमा बुधबार साँझ मोटरसाइकल, स्कुटर र साइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो । प्रहरीका अनुसार साँझ करिब ५ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १५ प २२५७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र.१–०२–०५५ प १२९८ नम्बरको स्कुटर तथा सोही दिशाबाट आउँदै गरेको साइकल एकआपसमा ठोक्किएका थिए । दुर्घटनामा स्कुटर चालक, मोटरसाइकलमा सवार तीन जना र साइकलयात्री गरी ६ जना घाइते भएका थिए । घाइतेमध्ये स्कुटरको पछाडि सवार इनरुवा नगरपालिका–९ निवासी सन्जु कुमार सरदारकी ७ वर्षीया छोरी रिदिमा सरदारको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनलाई साँझ ५ः४५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा स्कुटर चालक इनरुवा नगरपालिका–७ का ३० वर्षीय सुजन चौधरी, मोटरसाइकल चालक दुहबी नगरपालिका–३ का २२ वर्षीय सागर सरदार तथा मोटरसाइकलमा सवार २४ वर्षीय अभिनष सरदार र ११ वर्षीय आयुष सरदार घाइते भएका छन् । त्यस्तै, साइकलयात्री इनरुवा नगरपालिका–५ बलाहाका ४७ वर्षीय इन्द्रजित मण्डल पनि घाइते भएका छन् । घाइते पाँचै जनाको विराट नर्सिङ अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।