विचारमा कांग्रेस एक भएको सन्देश दिनुपर्छ : विमलेन्द्र निधि 

बिहीबार, फागुन १०, २०८०

काठमाडौं । कांग्रेस नेता विमलेन्द्र निधिले कांग्रेस महासमितिको बैठकपछि गुट, उपगुटले चर्चित बनेको कांग्रेस सिद्धान्त र विचारमा एक छ है भन्ने सन्देश बाहिर दिन सक्ने बन्नुपर्ने बताएका छन् । 
गोदावरीमा जारी कांग्रेस महासमितिको बैठकमा बिहीबार नेता निधिले पार्टीभित्र विभिन्न गुट–उपगुट भएको तथा त्यसैका कारण कांग्रेस एक हुन नसके पनि विभिन्न नौ वटा पक्षले कांग्रेसलाई जोड्न सक्ने धारणा राखे ।  उनले व्यक्ति र गुटको आधारमा राजनीति गरे कांग्रेस कहीँ पुग्न नसक्ने भन्दै थपे,  ‘हामी व्यक्ति र गुटको आधारमा होइन सिद्धान्त र विचारको आधारमा एक भएका छौं, यही नै सन्देश लिएर जाऔं ।’  निधिले महासमितिको बैठकपछि राम्रा कुरामात्रै लिएर जानुपर्ने भन्दै गुट, उपगुट र व्यक्तिवादी राजनीतिलाई छाडेर कांग्रेसले अब एकताको सन्देश दिनुपर्ने बताए । 
उनले राष्ट्रियता, लोकतन्त्र, समाजवाद, संघीयता, गणतन्त्र, समावेशिता, मिश्रित निर्वाचन प्रणाली, धर्म निरपेक्षता र अहिंसा र शान्तिलगायत नौ वटा सूत्रलाई कांग्रेसले विचारको रुपमा लिनुपर्नेमा जोड दिए । ‘यहाँबाट राम्रा कुरामात्रै लिएर जाऔं र भनौ कि नेपाली कांग्रेस हामी एक भएर आएका छौं । एकताको लागि यी नौ वटा सूत्र छ,’ उनले भने, ‘यो नौ वटा सूत्र नै विचार हो, बिना विचारको पार्टी पनि हुँदैन, राजनीतिक अभियान पनि अघि बढ्दैन ।’

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १८:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार