कांग्रेसको महासमिति बैठक किन महत्त्वपूर्ण ?

सोमबार, फागुन ७, २०८०

ललितपुर । संसद्‌को सबैभन्दा ठूलो दल सत्तारुढ नेपाली कांग्रेस महासमिति बैठक आज सोमबारदेखि तीनदिनसम्म ललितपुरमा हुँदैछ । काँग्रेसका नेताहरूका अनुसार यो बैठकले कांग्रेसको नीति पारित गर्ने भएकाले यसलाई ‘नीति महाधिवेशन’कै अर्को रूप भन्दा पनि हुन्छ । कांग्रेसले आगामी दिनका लागि लिने नीतिबारे देशैभरिबाट आएका प्रतिनिधिबीच बृहत् छलफल हुने भएकाले यो बैठकलाई धेरैले चासोपूर्वक हेरेका छन् । गठबन्धनलाई लिएर विभिन्न अडकल बाजी भइरहेकाले पनि महासमितिले लिने निर्णयलाई महत्वका साथ हेरिएको छ । काँग्रेसको देउवा खेमा वर्तमान गठबन्धनलाई अर्काे निर्वाचनसम्मै लैजानु पर्ने मत राख्छ भने देउवा इतर खाष गरी गगन–शेखर पक्षधरले भने गठबन्धनको विरोधमा मत राख्दै आएका छन् । आफूलाई नेपालको सबैभन्दा पूरानो लोकतान्त्रिक दल भन्दै आएको कांग्रेसको यही बैठकले तय गरेका नीति र मार्गनिर्देशनका आधारमा पार्टी अघि बढ्ने छ । दलको आन्तरिक बैठक भए पनि यसलाई “दलबाहिर र देशैभरिबाट चासोपूर्वक हेरिएको” प्रचारप्रसार उपसमितिका संयोजक मीनबहादुर विश्वकर्मा बताउँछन् । यस पटकको बैठकमा कांग्रेसका केही नेताहरूले ‘सनातन हिन्दूराष्ट्र’को मागलाई पनि व्यापक रूपमा उठाउने घोषणा गरेका छन् । पार्टीका २२ जना केन्द्रीय सदस्यले त्यससम्बन्धी एउटा पूरक प्रस्ताव सभापति शेरबहादुर देउवासमक्ष पेस समेत गरेका थिए ।

बैठक किन महत्त्वपूर्ण ?
सोमवार सुरु हुने महासमिति बैठक बिहीवार सम्पन्न हुनेछ। ललितपुरको गोदावरीमा हुने उक्त बैठकमा पार्टीको नीतिसम्बन्धी प्रस्तावमा छलफल हुने भएकाले यो विशेष भएको प्रचारप्रसार उपसमितिका संयोजक विश्वकर्माले बताए । प्रायः लोकतान्त्रिक दलहरूको महाधिवेशनले पार्टीको विधान र नीति पारित गर्नुका साथै नेतृत्व चयन गर्ने गर्छ । नेपाली कांग्रेसले विसं २०७८ मङ्सिरमा १४औँ महाधिवेशन गरेको थियो र सोही महाधिवेशनबाट देउवा पुनः सभापति चयन भएका थिए । यद्यपि त्यस बेला समय नपुगेको भन्दै कांग्रेसले नीति पारित गरेको थिएन र त्यसबारे छलफल पनि भएन ।
विश्वकर्माले भने, “हाम्रो पार्टीको चौधौँ महाधिवेशनमा विधान पारित गरी नेतृत्व पनि चयन गरियो। तत्कालीन अवस्थामा समयाभावका कारण नीति प्रस्तावमा छलफल भएन।”
‘नीतिगत प्रस्तावमा छलफल गर्न छुट्टै नीति अधिवेशन गर्ने र नेतृत्व चयनबाहेक महाधिवेशनले गर्ने सबै कार्य महासमितिले गर्न सक्ने वैधानिक प्रावधान अनुसार यो महासमितिको बैठक आयोजना गरिएको छ’, उनले भने ।  पार्टीको भावी कार्यदिशाका लागि नयाँ नीति बन्ने भएकाले यो बैठक महत्त्वपूर्ण भएको उनले जानकारी दिएका छन् । यो बैठकले पार्टीको राजनीतिक, सामाजिक र आर्थिक मार्गलाई स्पष्ट गर्ने र त्यसै अनुरूप दल अघि बढ्ने नेताहरूको भनाइ छ ।

सहभागी र छलफल
उक्त दलको महासमिति बैठकमा विभिन्न नीतिगत प्रस्तावहरू पेस हुने र त्यसमा देशैभरिबाट आएका महासमिति सदस्यहरूले छलफल गर्ने बताइएको छ । कांग्रेसले महासमिति सदस्य नरहेका प्रदेश सभापति, जिल्ला सभापित तथा भातृ र शुभेच्छुक संङ्घरसंस्थाका केन्द्रीय अध्यक्षहरूलाई पनि आमन्त्रित सदस्यका रूपमा बैठकमा सहभागी गराउने निर्णय गरिसकेको छ ।
उक्त बैठकबारे जानकारी दिन जारी एउटा विज्ञप्तिमा जनाइए अनुसार बैठकमा मुख्यतस् तीनवटा प्रतिवेदनहरू प्रस्तुत हुनेछन् । बैठकमा नीतिगत प्रस्ताव पार्टी उपसभापति एवं नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक पूर्णबहादुर खड्काले पेस गर्नेछन् । त्यस्तै पार्टीको सांगठनिक प्रतिवेदन महामन्त्री गगनकुमार थापाले र समसामयिक राजनीतिक प्रस्ताव महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गर्नेछन् । त्यसमा भनिएको छ, “नीति अधिवेशनको रूपमा सम्पन्न हुने यो महासमितिको बैठकमा प्रस्तुत हुने आर्थिक, सामाजिक, धार्मिक सांस्कृतिक तथा राजनीतिक विषय समेटिएको करिब ५६ पेजको नीति प्रस्ताव, महामन्त्रीहरूको साङ्गठानिक र समसामयिक राजनीतिक प्रतिवेदनले वर्तमान राजनीतिक परिवेशलाई उचित सम्बोधन गर्दै व्यवस्था परिवर्तनका हरेक आन्दोलनमा सहभागी जनताहरू माझ नेपाली कांग्रेसले नै जनताको अवस्था परिवर्तनका लागि विश्वासीलो र भरपर्दो गरी काम गर्दछ भन्ने थप विश्वास दिलाउने छ।”

हिन्दूराष्ट्रबारे बहस
सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानको बैठकमा कांग्रेस नेताहरू सहभागी भएका थिए । पार्टीको महासमिति बैठकअघि गत बिहीवार र शुक्रवार केन्द्रीय समिति बैठक भएको थियो । शुक्रवारको बैठकमा कांग्रेसका २२ जना केन्द्रीय सदस्यले महासमिति बैठकमा सनातन हिन्दूराष्ट्रको पक्षमा निर्णय लिनुपर्ने भन्दै सभापित देउवालाई एउटा पूरक प्रस्ताव पेस गरेका थिए । त्यसमा महासमिति बैठकले निर्णय गरेर सनातन हिन्दू राष्ट्रको पक्षमा नेपाली कांग्रेस लाग्नुपर्ने उल्लेख छ । कांग्रेका केही नेताहरूले नेपाल धर्मनिरपेक्ष राष्ट्र भएदेखि नै हिन्दूराष्ट्र पुनर्स्थापनाको अभियान चलाउँदै आएका छन् । निधन हुनु अघिसम्म कांग्रेस नेता खुमबहादुर खड्काले त्यस्तो अभियानको नेतृत्व गर्दै आएका थिए । पछिल्ला केही वर्षदेखि भने कांग्रेस केन्द्रीय सदस्य तथा सांसद शङ्कर भण्डारीले त्यस्तो अभियानको अगुवाइ गरेका छन् । भण्डारी संयोजक रहेको ‘सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियान’ले विभिन्न गतिविधि गर्नुका साथै पार्टी नेतृत्वलाई त्यसका लागि दबाब दिँदै आएको छ ।
उनै भण्डारीको नेतृत्वमा महासमिति बैठकअघि पनि कांग्रेसलाई हिन्दूराष्ट्रको पक्षमा लाग्न दबाब दिने खालका गतिविधिहरू कांग्रेस नेता तथा कार्यकर्ताले गरिरहेका छन् । गत शनिवार ‘सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियान’को घोषणा गर्दै भण्डारीसहितका नेताहरूले बैठकभित्र आफूहरूले घनीभूत रूपमा हिन्दूराष्ट्रको माग उठाउने बताएका थिए । उनीहरूले बैठक बाहिर उक्त मागलाई बल दिन ब्यानर र पम्प्लेटसहित उपस्थित हुन कार्यकर्ताहरूलाई आह्वान समेत गरेका थिए । कतिपय हिन्दूराष्ट्र पक्षधर नेताहरूले त्यसमा पार्टी नेतृत्वको पनि सकारात्मक धारणा रहेको बताउँदै आएका छन् । यद्यपि हिन्दूराष्ट्रको पक्षमा नरहेका नेताहरू अहिले संविधानलाई उल्ट्याउने बाटोमा जानु नहुने तर्क गर्छन् । राजनीतिशास्त्रीहरू भने नेपाली कांग्रेसले “आफ्नो घट्दो मतआधार जोगाउन धर्मको आड लिनसक्ने” सङ्केत गर्छन् ।

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  ०८:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार