सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारीलाई नियुक्त गरेको छ । यस्तै नेपाल आयल निगमको कार्यकारी निर्देशक पदमा चण्डिकाप्रसाद भट्टलाई नियुक्त गरेको छ । सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीसँग निर्णयबारे जानकारी गराउँदै सरकारका प्रवक्ता रेखा शर्माले सरकारले डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत् उपयोग गर्ने ग्राहकको महसुलसम्बन्धी विवाद निरुपण गर्न गठित जाँचबुझ समितिको म्याद एक महिना थप गर्ने निर्णय गरेको जनाइन् । बैठकले सशस्त्र द्वन्द्वमा घाइते भई अपांगता भएका व्यक्तिहरुको अपांगता प्रतिशत निर्धारण तथा पुनरावलोकन कार्यविधि, २०७४ को अध्ययन गरी २ महिनाभित्र परिमार्जित मस्यौदा पेस गर्न गृह मन्त्रालयका सचिवको संयोजकत्वमा कार्यदल गठन गरेको छ । त्यस्तै सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक विकल पौडेलले अमेरिकाको कानुनी स्थायी आवासीय अनुमति एलपीआर लिएको देखिएकाले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक विकल पौडेललाई पदबाट हटाउने, राष्ट्रिय प्रशारण १२औं संशोधन नियमावली, २०८० स्वीकृत गर्ने, बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्समक्ष पेस गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ । त्यस्तै बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्समक्ष पेस गर्न स्वीकृति दिएको छ । प्रवक्ता शर्माका अनुसार सरकारले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य(सचिवमा डा. प्रमोद जोशीलाई नियुक्ति गरेको छ । यस्तै सरकारले एनसेलको सेयर खरिद(बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन गर्न गठित समितिको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने पनि निर्णय गरेको छ ।