क्यान्सरका बिरामीलाई सरकारले दिने १ लाख रुपैयाँको उपचार खर्च अपुग : डा.सुदिप

बिहीबार, फागुन ३, २०८०

ललितपुर । सरकारले बाललगायत सबै क्यान्सरका बिरामीलाई दिने गरेको १ लाख रुपैयाँ उपचारको लागि अपुग छ । एकजना बाल क्यान्सर बिरामीको उपचारको लागि ५ देखि (ब्लड क्यान्सर देखिएमा) १० लाखसम्म उपचार खर्च लाग्छ । 
उपचार खर्च धेरै लाग्ने भएकोले बाल क्यान्सरका बिरामीहरू बीचैमा उपचार छाड्ने गरेका छन् । अझ क्यान्सर लागेका बालिकाहरूलाई त उपचारै नगर्ने परिपाटी पनि रहेको छ । सबै उमेर समूहका क्यान्सरका बिरामीलाई एउटै स्तरमा राखेर प्रतिबिरामी १ लाख रुपैयाँ उपचार खर्च दिनुभन्दा ‘निको हुने दर बढी भएका’ बाल क्यान्सरका बिरामीको उपचार खर्चमा सरकारले वृद्धि गर्नुपर्छ । अन्य उमेरका क्यान्सर बिरामीको तुलनामा बालबालिका (जन्मेदेखि १८ वर्ष उमेर सम्मका) हरूमा उपचारपछि क्यान्सर निको हुने दर ८० देखि ८५ प्रतिशत छ ।
विपन्न क्यान्सरका बिरामीहरूको उपचारका लागि सरकारले दिँदै आएको प्रति बिरामी १ लाख रुपैयाँ उपचार खर्च पनि सरकारले लामो समयसम्म उपलब्ध नगराईदिँदा निजी अस्पतालहरूलाई निकै समस्या पर्ने गरेको छ । 
‘बोनम्यारो  ट्रान्सप्लाण्ट’ गर्न सकिएमा उपचारमा आएका थप १० प्रतिशत बोनम्यारो या ब्लड क्यान्सरका बिरामीलाई बचाउन सकिन्छ ।

nch-3-1708001469.jpg

ब्लड क्यान्सरका बिरामीको लागि ‘बोेनम्यारो ट्रान्सप्लाण्ट’ भनेको रगतको कोषिका मात्रै प्रत्यारोपण गर्ने हो । यसमा रगतसँग सम्बन्धित काम मात्रै हुन्छ । यो मिर्गाैला र कलेजो जसरी दाताको शरीरबाट झिकेर बिरामीमा हाल्ने होइन । यसबारे सरकारले बुझेको छैन र गहिराईमा बुझ्न खोजेको पनि छैन । 
निजी क्षेत्रबाट विगत १० वर्षदेखि विभिन्न प्रकारका क्यान्सरको गुणस्तरीय निदान र उपचार सेवा दिँदै आएको नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेण्टर हरिसिद्धिका सरोकारवाला र विशेषज्ञहरूले बाल क्यान्सर दिवसको पुर्वसन्ध्यामा सञ्चारकर्मीहरूसँगको सहभागितामा बुधबार राउण्ड टेवल बैठकको आयोजना गरी सरकारसँग यस्ता माग गर्नुका साथै विविध सुझाव पनि दिए ।
अस्पतालको बाल क्यान्सर रोग विभागद्वारा आयोजित राउण्ड टेवल बैठकमा अस्पतालका कार्यकारी अध्यक्ष एवम् वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा.सुदिप श्रेष्ठले सरकारले विनियोजन गरेको १ लाख रुपैयाँ उपचार खर्च अपुग भएका कारण बाल क्यान्सरका बिरामीहरूलाई आर्थिक समस्या भई बीचैमा उपचार छाड्ने गरेको बताए । 

nch-main-1708001469.jpg

सरकारको औषधि व्यवस्था विभागले क्यान्सरको उपचारको लागि आवश्यक पर्ने नयाँ नयाँ प्रविधिका औषधिहरू नेपालमा भित्र्याउने अनुमति नदिँदा धेरै क्यान्सरका बिरामी अकालमै मर्ने गरेको तथ्य पनि उनले औल्याए । 
अस्पतालको वरिष्ठ बाल क्यान्सर रोग विशेषज्ञ डा.प्रकाश निधि तिवारीले नेपालका कुल अनुमानित बाल क्यान्सरका बिरामीमध्ये ७० देखि ८० प्रतिशत बिरामी सम्पर्कमा नआउने र आएका २० प्रतिशतको मात्रै उपचार हुने गरेको बताए ।
नेपाल क्यान्सर हस्पिटलमा उपचारका लागि आउने बाल क्यान्सरका बिरामीलाई निको पारेर घर फिर्ता पठाउने गरेको बताउँदै बाल क्यान्सर रोग विशेषज्ञ डा.अञ्जली पण्डितले उपचार रकमको अभावका कारण कुनै पनि बाल क्यान्सरका बिरामीलाई उपचारबाट वञ्चित नगराउने अस्पतालको नीति भएको बताइन् । 
अस्पतालका सिनियर कन्सल्टयान्ट रेडियोलोजिष्ट डा.गिसुपनिख प्रसिको, सिनियर मेडिकल इपिडिमियोलोजिष्ट डा.मुरारीमान श्रेष्ठ, अंको प्याथोलोजि विभाग प्रमुख डा.हरिप्रसाद ढकाल, कन्सलट्याण्ट अर्थाे अन्कोलोजिष्ट ऋषिराम पौडेलले बाल क्यान्सरका बिरामीहरूको निदान र उपचारको लागि अस्पतालमा उपलब्ध भएका सेवाबारे प्रकाश पारे । 
अस्पतालका प्रमुख कार्यकारी अधिकृत कपिल गौतमले सरकारले क्यान्सरका बिरामीको उपचारका लागि विनियोजन गरेको रकम समयमै निकासा नगरिदिँदा अस्पताल सञ्चालनमा कठिनाई भएको गुनासो गरे । 
आज फेबु्रअरी १५ तारिख विश्वभर विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गरी विश्व बाल क्यान्सर दिवस मनाइँदै छ ।

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  १८:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार