सोसल मिडिया
Contact Us
युनिकोड
हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका क्षेत्रको मुख्य बजार सडक विस्तारको योजना पछिल्लो दिनहरूमा विवादको केन्द्रविन्दु बनेको छ । नगरपालिकाले हालै १५ दिने सूचना जारी गरेपछि स्थानीय व्यवसायी, घरधनी र बासिन्दा सडकमा उत्रिएर विरोध प्रदर्शन गर्दै छन्। उनीहरूले विकासका नाममा घर–जग्गा उचित मुआब्जा बिना अधिग्रहण गर्न खोजिएको भन्दै आक्रोश व्यक्त गरेका छन् । बजार क्षेत्रमा आयोजित प्रदर्शनमा सहभागीहरूले पारदर्शी प्रक्रिया, वैकल्पिक बसोबास र न्यायपूर्ण मुआब्जा सुनिश्चित नगरी कुनै पनि संरचना भत्काउन नदिने चेतावनी दिएका छन् । प्रदर्शनमा सहभागीहरूले दशकौंदेखि सञ्चालन हुँदै आएका व्यवसायलाई सुरक्षा दिनुपर्ने, नागरिकको अधिकारलाई संरक्षण गर्नुपर्ने माग राखेका छन् । पूर्वअध्यक्ष, उद्योग वाणिज्य संघ मकवानपुर, रामहरी न्यौपानेले भने, ‘हामी व्यवसायी शान्तिपूर्ण छौँ—आन्दोलनकारी होइनौँ । सरकारसँग अनुरोध छ—हाम्रो पीडा बुझेर, सहमति र न्यायसंगत मुआब्जा सुनिश्चित गर्दै सडक विस्तार गर्नुस्। पूर्वाधार निर्माण आवश्यक छ, तर डर र आतंक फैलाउने काम स्वीकार्य छैन ।’ व्यवसायीहरूले अझ जोड दिए कि जग्गा मूल्यांकन, क्षतिपूर्ति दर, वैकल्पिक बसोबास र व्यापार स्थानान्तरण योजना सम्बन्धी कुनै स्पष्ट जानकारी प्रशासनबाट नआएको कारण उनीहरू अन्योलमा छन् । यदि प्रशासनले न्यायसंगत प्रक्रिया र मुआब्जा सुनिश्चित नगरेको खण्डमा आन्दोलन अझ उग्र हुने चेतावनी समेत दिएका छन् । बजार क्षेत्रको सडक विस्तार परियोजना दशकौं पुरानो योजना हो। तर वार्षिक रुपमा विभिन्न कारणले ढिलाइ हुँदा अहिले फेरि विवादमा परेको छ । स्थानीयहरूले भने—सडक विस्तार आवश्यक छ, तर व्यवसायी र घरधनीको अधिकार र जीवन सुरक्षा सुनिश्चित नगरी बलपूर्वक काम अघि बढाउन नहुने, व्यवसायी र घरधनीहरूले केही दिनभित्रै संयुक्त आन्दोलनको विस्तृत कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेका छन् । उनीहरूको मुख्य माग भनेको सडक विस्तारको विरोध मात्र होइन, न्यायपूर्ण प्रक्रिया, मुआब्जा र वैकल्पिक बसोबासको सुनिश्चितता हो। नगरपालिकाले यसबारे अझै स्पष्ट धारणा नदेखाएपछि विवाद थप गहिरो हुने संकेत देखिएको छ।