महँगी र संकटकाबीच पाकिस्तानमा आमचुनाव, दौडमा पाँच हजार उम्मेदवार

बुधबार, माघ २४, २०८०

काठमाडौं । पार्किस्तानमा फेब्रुवरी ८ अर्थात् बिहीबार आमचुनाव हुँदैछ । महँगीले आकाश छोएर आर्थिक संकट झेलिरहेका बेला पाकिस्तानी जनता आगामी पाँच वर्षका लागि आफ्नो राजनीतिक भविष्य तय गर्ने तयारीमा छन् । 
पाकिस्तानको निर्वाचन आयोगले निर्वाचनको सबै तयारी पूरा भएको जनाएको छ ।
पाकिस्तानमा दुई सदनात्मक संसदीय प्रणाली छ । जसमा राष्ट्रिय सभाका अधिकांश सदस्यहरू जनताद्वारा निर्वाचित हुन्छन् । राष्ट्रिय सभामा कुल ३३६ सिट छन्, जसमध्ये २६६ सिटका लागि जनताले मतदान गर्नेछन् भने बाँकी ६० सिटमा महिला र १० सिट गैरमुस्लिमका लागि आरक्षित छन् । 
पञ्जाब प्रान्तमा सबैभन्दा बढी १४१ सिटमा निर्वाचन हुँदैछ । सिन्धमा ७५, खैबर पख्तुनख्वामा ५५, बलुचिस्तानमा २० र इस्लामाबादमा तीन सिट छन् ।
यसपटक २६६ सिटका लागि ५ हजार १२१ जनाले उम्मेदवारी दर्ता गरेर प्रतिस्पर्धामा रहेका छन् । जसमध्ये ४ हजार ८०६ पुरुष, ३१२ महिला र दुई जना तेस्रोलिङ्गी उम्मेदवार छन् । 
पाकिस्तानमा हाल १२.८५ करोड मतदाता छन्, जुन देशको कुल जनसंख्याको आधाभन्दा बढी हो । ६.९ करोड पुरुष र ५.९ करोड महिला मतदाता छन् । दर्ता भएका मतदाताहरूमध्ये पनि ४४ प्रतिशत ३५ वर्षभन्दा कम उमेरका छन् ।
यसपटक पूर्व प्रधानमन्त्री नवाज शरीफको पाकिस्तान मुस्लिम लिग र बिलावल भुट्टो र आसिफ अली जरदारीको नेतृत्वमा रहेको पाकिस्तान पिपुल्स पार्टी छन् । निर्वाचन आयोगले इमरान खानको पाकिस्तान तहरीक एइन्साफ (पीटीआई) को चुनाव चिन्ह रोक्का गरेको छ । यस कारणले, पीटीआई उम्मेदवारहरू स्वतन्त्र रूपमा चुनावी मैदानमा छन् । 
यो निर्वाचनमा कुल ९० हजार ५८२ मतदान केन्द्र तोकिएको छ । तीमध्ये १७ हजार ५ सय मतदान केन्द्र संवदेनशील भनिउका छन् । 
सन् २०१८ यता देशमा मतदाताहरूको संख्या २.२५ करोडले बढेको छ । जसमा १.२५ करोड महिला छन् । सन् २०१८ मा भएको आम निर्वाचनमा ५२ प्रतिशत जनताले आफ्नो मताधिकार प्रयोग गरेका थिए ।

प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  ०९:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार