गठबन्धनले देशलाई मल्टी अर्गान फेलिएर जस्तो बनायो : एमाले नेता विष्णु पौडेल  

सोमबार, माघ २२, २०८०

काठमाडौं । एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले गठबन्धन सरकारले देशको अर्थतन्त्रदेखि सबै क्षेत्रलाई छियाछिया बनाएको आरोप लगाएका छन् । सरकारले अर्थतन्त्रको समस्या समाधान गर्नुपर्नेमा समस्या बुझ्ने सामथ्र्य समेत नभएको टिप्पणी उनले गरे । काठमाडौंमा सोमबार आयोजित प्रेस चौतारी नेपालको स्थापना दिवसको कार्यक्रममा उनले भने, ‘स्वास्थ्य क्षेत्र, श्रम बजार, राष्ट्रिय अर्थतन्त्र, कृषि उत्पादनदेखि सुशासनसम्म कुनै क्षेत्रमा चित्त बुझाउनेसम्मको अवस्था नभएको र सबै क्षेत्र गम्भीर समस्यामा परेको छ । सरकारको संकिर्ण स्वार्थले संकट बढाएको छ ।’  ‘अहिलेको परिस्थिति कहालीलाग्दो छ । गठबन्धन सरकारको संकिर्ण स्वार्थ, अयोग्यता र सत्तालिप्साका कारण देश आज छियाछिया भएको छ । त्यस्तो कुनै क्षेत्र पाउन सकिँदैन जहाँ हामी समस्यामा मात्र होइन गम्भीर सम्स्यमा नभएका हौं’, उनले भने, ‘कतिपय अवस्थामा बिरामीहरूको मुटु, कलेजो, फोक्सो, रगत परीक्षण ग¥यो खराब छ अरु शरीरका अंगहरू पनि खराब भएको संकेत गरिरहेको हुन्छ, त्यस्तै हाम्रो देश अहिले मल्टी अर्गान फेलिएर भएको बिरामी मानिसको अवस्था जस्तो बन्न पुगेको छ । देशलाई यो ठाउँमा ल्याउने काम गठबन्धन सरकारले गरेको छ ।’   प्रतिपक्षले उठाएको आवाजको सम्बोधन गर्नुपर्नेमा सत्ताले उल्टो आफूहरूलाई पूर्वाग्राही व्यवहार गरिरहेको आरोप पौडेलले लगाए ।  ‘अहिलेको सरकार प्रतिपक्षप्रति एउटा पूर्वाग्रही दृष्टिकोण बोकेर व्यवहार गरिरहेको छ । संसद्मा हाम्रा आवाजलाई उपेक्षा गर्ने र किनारा लगाउने सोचका साथ चलिरहेको छ’, उनले भने ।  संसद्मा अझ सशक्त रुपमा आफूहरू प्रस्तुत हुनुपर्ने उल्लेख गर्दै उनले सदनबाट सरकारले प्रतिपक्षलाई नटेरे गठबन्धन सरकारले लाद्न खोजेका विषयलाई लिएर सडकबाट दबाब दिन पछि नपर्ने उनको चेतावनी थियो ।  उनले भने, ‘सायद हाम्रो सदनको आवाज र दबाबले मात्रै सत्ताका ज्यादतीहरूलाई ठेगान लगाउन सकिँदैन कि भन्ने अनुभूति हामीलाई हुँदै छ । हामी सडकबाट पनि विभिन्न वर्ग, पेसाका समुदायलाई साथमा लिएर राष्ट्रका सामु गठबन्धनले लादेका चुनौतीहरूलाई सशक्त दबाब सिर्जना गर्नुपर्ने स्थिति देखा पर्दैछ । त्यो निर्णयमा हामी पुग्यौ भने प्रतिपक्ष सशक्त दबाबका लागि सदन र सडकबाट जनतामाझ हुन्छ ।’ सरकारले अर्थतन्त्रको समस्या मात्रै होइन देशको आर्थिक मामिला नै बुझ्न नसकेको उनले जिकिर गरे । 
‘सरकारले अहिलेको अर्थतन्त्रको समस्या के हो र समाधान कसरी गर्ने भन्ने विषयमा सरकार स्वयं अलमलमा छ । अर्थतन्त्रको बागडोर सम्हाल्ने अर्थमन्त्री र सरकारको नेतृत्व गर्ने प्रधानमन्त्रीका बीचमा नै मुलुकको आर्थिक मामिलामा बुझ्ने सन्दर्भमा दुविधा र अन्योल छ ।’ सरकारले राजस्वको लक्ष्य उठाउने विषय परको कुरा साधारण खर्च धान्न नसकेको, उत्पादन घटेको, निर्यात घटेको तथा सबैतिरको अवस्था नकारात्मक भएको दृष्टान्त सुनाएका उनले सरकारको अर्थतन्त्रको समस्या बुझ्ने समेत सामथ्र्य नभएको टिप्पणी गरे ।  ‘मूलुकले अर्थतन्त्रमा जुन प्रकारका समस्याहरू बेहोर्दै छ, समस्या समाधान गर्ने परको कुरा त्यो समस्यालाई बुझ्ने सम्म सामथ्र्य राख्दैन’, उनले भने ।  

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १७:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार