पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्ष जेल सजाय

मंगलबार, माघ १६, २०८०

इस्लामावाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई राज्यका गोप्य कुरा चुहाएको अभियोगमा १० वर्षको जेल सजाय सुनाइएको छ । त्यहाँको एउटा अदालतले खानसँगै पूर्वविदेशमन्त्री शाह महमूद कुरैशीलाई पनि कूटनीतिक पत्राचार चुहावट गरेको अभियोगमा १० वर्ष जेल सजाय तोकेको छ । कुरैशी खानको पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का उपाध्यक्ष पनि हुन् । उक्त मुद्दा वाशिङ्टन र इस्लामाबादबीचको कूटनीतिक दस्तावेजसँग सम्बन्धित छ । ती दस्तावेजहरू आदानप्रदान हुँदा खान पाकिस्तानका प्रधानमन्त्री थिए । खानले आफूविरुद्ध लगाइएको आरोप आफ्नो सरकारलाई ध्वस्त पार्ने अमेरिकी षड्यन्त्र भएको दाबी गरेका थिए । विश्वासको मत पाउन नसकेपछि सन् २०२२ मा उनी प्रधानमन्त्रीबाट हट्नुपरेको थियो ।

खानमाथि लागेको आरोप के हो ?
खानमाथि प्रधानमन्त्री भएका बेलामा वासिङ्टनस्थित पाकिस्तानका राजदूतले इस्लामाबाद पठाएको गोप्य कूटनीतिक पत्र चुहावटको भएको आरोप लगाइएको छ । साइफर घटना भनेर चिनिने उक्त मामिलामा खानलाई कूटनीतिक पत्र आफ्नो साथमा राखेको र त्यसलाई सार्वजनिक पनि गरेको आरोप लागेको छ । अभियोजनकर्ताहरूले खानको कार्यले गोप्य कागजात चुहावट गरिनुका साथै कूटनीतिक सम्बन्धलाई क्षति पुर्‍याएको आरोप लगाएका छन् । उनलाई लगाइने पछिल्लो आरोपमा आजीवन कारावास वा मृत्युदण्डको सजाय पनि हुन सक्छ । उनको दल पीटीआईले उनलाई “झूटो मामिलामा फसाइएको” आरोप लगाएको छ । एउटा विज्ञप्ती जारी गर्दै उक्त दलका प्रवक्ताले विशेष अदालतको फैसलाको पुनरावेदन गरिने जनाएका छन् । भ्रष्टाचार मुद्दामा जेल परेका खान रहेकै जेलभित्र स्थापना गरिएको विशेष अदालतमा विगत केही महिनादेखि उक्त मुद्दाको सुनुवाइ भइरहेको थियो । अन्तिम सुनुवाइका क्रममा पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई जेलभित्र जान दिइएन ।

निर्वाचनभन्दा एक साताअघि सजाय
खान भ्रष्टाचारको आरोपमा दोषी ठहर भएर अहिले तीन वर्षको जेल सजाय भोगिरहेका छन् । इमरान खानले आफूमाथि लगाइएका सबै आरोपहरू राजनीतिक उद्देश्यबाट प्रेरित भएको बताउँदै आएका छन् । गोपनीयतासम्बन्धी ऐनअन्तर्गत उनलाई उक्त सजाय तोकिएको हो । पाकिस्तानमा निर्वाचन हुनुभन्दा एक साताअघि खानविरुद्ध उक्त सजाय सुनाइएको हो । उनलाई यो निर्वाचनमा उम्मेदवार हुन दिइएको छैन । फेब्रुअरी ८ मा पाकिस्तानमा निर्वाचन हुँदै छ । क्रिकेटबाट राजनीतिमा आएका खानलाई हालका सत्ताधारीले जसरी पनि चुनावमा भाग लिनबाट रोक्ने रणनीति अपनाएको कतिपयले बताउने गरेका छन् ।–एजेन्सी 

प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  १९:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार