सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले राष्ट्रिय सभाको निर्वाचनमा कोशी प्रदेशमा काँग्रेसबाट पाएको धोकापछि सार्वजनिक रुपमै एक अभिव्यक्ति दिए । कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचनमा सत्ता साझेदर दल नेपाली कांग्रेसबाट धोका भएको बताउँदै उनले गठबन्धनबारे गम्भीर समीक्षा गर्नुपर्ने अवस्था आएको भनाई राखे । गृहजिल्ला रोल्पा पुगेका पुनले कांग्रेसले आफूहरूको विश्वास गुमाएको टिप्पणी गरे । बिहीबार सम्पन्न राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनले कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र माओवादीकी चम्पादेवी कार्कीलाई उम्मेदवार बनाएको थियो । सिटौला विजयी हुँदा कार्की भने एमालेकी रुक्मिणी कोइरालासँग पराजित भइन् । उक्त घट्नालाई लिएर पुन मात्र होइन सिंगो माओवादी केन्द्रभित्र हलचल ल्याएको छ । पुनले दुई वर्षअघि पनि कोशीबाट राष्ट्रिय सभामा जसपा उम्मेदवारलाई कांग्रेसले भोट नदिएर बेइमानी गरेको स्मरण गरे । यस्तै शीर्ष नेतृत्व तहमा भएको समझदारीविपरीत एमालेसँगको गठजोडमा केदार कार्कीलाई मुख्यमन्त्री बनाएर पनि कांग्रेसले धोका दिएको पुनको भनाइ थियो । पुनको यस्तो अभिव्यक्ति सार्वजनिक हुनु अगावै सत्तारुढ गठबन्धनले संयुक्त रूपमा विज्ञप्ति सार्वजनिक गर्दै मत क्रस गर्नेलाई कारवाहीको चेतावनी नै दिइसकेका छन् । आधिकारिक उमेदवारलाई मत नहाल्ने जनप्रतिनिधिको विषयमा छानबिन गरी अनुशासनको कारबाही गर्ने गठबन्धनले चेतावनी दिएको छ । ‘गठबन्धनको निर्णयविपरीत मतदान गर्ने गठबन्धन दलका गैरजिम्मेवार तथा निकृष्ट जनप्रतिनिधिहरूको सम्बन्धमा यथाशीघ्र छानबिन गरी अनुशासनको दायरामा ल्याउन हामी प्रतिवद्ध छौं’ संयुक्त विज्ञप्तिमा भनिएको छ । गठबन्धन दल नेपाली कांग्रेस संसदीय दल कोशीका नेता उद्धव थापा, नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्र आङ्वो, नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र राई र जसपा कोसी प्रदेश संसदीय दलका नेता निर्मला लिम्बूले विज्ञप्ति प्रकाशित गरेका हुन् । कोशीमा मत क्रसको विषयले संघीय सरकारको समीकरणमै पनि असर पु¥याएको छ । विशेषगरी माओवादी केन्द्रका नेताहरू बढी रुष्ट छन् । कोशीको प्रकरणलाई सामान्य रुपमा नलिन प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन् । नेताहरूले कोशीका विषयमा कांग्रेसको संस्थागत धारणा मागेका छन् । माओवादी नेताहरूले कांग्रेसको एक समूहले भोट नदिएको आरोप लगाएका छन् । जसका कारण नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई तुरुन्त भेटवार्ता गरेर आगामी दिनका विषयमा छलफल गर्न नेताहरूले प्रचण्डलाई दबाब बढाएका छन् । कांग्रेससँगको सत्ता यात्राको पनि समीक्षा गर्नुपर्ने अवस्थामा नेताहरू पुगेका छन् । कोशी प्रदेश माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोले कांग्रेससँगको सत्ता सहयात्रा पुनर्विचार गर्नुपर्ने ठाउँमा पुगेको प्रतिक्रिया दिइसकेका छन् । उनले कांग्रेसको डा.शेखर कोइराला समूहले धोका दिएको बताएका छन् । राष्ट्रियसभा अध्यक्षका रूपमा हेरिएका कृष्णप्रसाद सिटौलालाई कोशी प्रकरणले असर गर्नसक्ने अनुमान सुरु पनि भइसकेको छ । कोशी प्रकरणपछि माओवादी केन्द्रका नेताहरूले अध्यक्ष पद आफैंसँग राख्न दबाब बढाएका छन् । यदी सत्ता हस्तान्तरण गरेको खण्डमा संवैधानिक पदमा माओवादी एकजना पनि नहुने भएपछि राष्ट्रियसभा अध्यक्ष आफैंसँग राख्न अध्यक्ष दाहाललाई दबाब परेको छ । कांग्रेसको कारण कोशीमा यसअघि माओवादी केन्द्रले सभामुख र मुख्यमन्त्री पद गुमाउनुपरेको हिसाबकिताब गरेको छ । किनकी ५९ सीट रहेको राष्ट्रियसभामा अध्यक्षका लागि ३० मत चाहिन्छ । राष्ट्रियसभामा पहिलो बनेको माओवादीको उपाध्यक्षसहित १७, कांग्रेसको १६, एमालेको १०, नेकपा एसको ८, जसपाको ३, लोसपा र जनमोर्चा तथा स्वतन्त्रको एकएक जना छन् । जसमा माओवादी, नेकपा एस, जसपा र जनमोर्चा मिले ३० सांसद संख्या पुग्ने भएकाले माओवादीलाई अध्यक्ष बन्न सहज हुने हिसाब माओवादी नेताहरूको छ । तर माओवादी नेताहरूले गरेको हिसाबकिताब जस्तो समीकरण नै फेरबदल हुनसक्ने अवस्था छैन । कांग्रेस पहिलो र बलियो शक्ति भएकाले गठबन्धनमा रहेका दलहरूले माओवादीलाई मात्र साथ दिएर अघि बढ्छन् भन्ने अनुमान गलत हुनेछ । कोशीमा गठबन्धनका तीन सांसदले एमाले उमेदवारलाई मतदान गरेको खुलेको छ । कोशी प्रदेशमा १३७ स्थानीय तहका प्रमुख र उपप्रमुख र ९३ प्रदेशसभा सदस्य मतदाता थिए । आउँदो फागुन २० गतेदेखि २० राष्ट्रियसभा सदस्यको पदावधी सकिँदैछ । राष्ट्रपतिबाट एकजना मनोनित हुनेछन् १९ जना निर्वाचित भइसकेका छन् ।