बुङमतिस्थित रातो मच्छिन्द्रनाथ मन्दिर पुनर्निर्माणको बाँकी काम अब महानगरबाट 

नगरसभाले स्वीकृत गर्‍यो करिब एक करोड रुपैयाँ 
सोमबार, माघ ८, २०८०

ललितपुर । ललितपुर महानगरले बुङमतिमा अवस्थित रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माणको बाँकी कामको नेतृत्व लिँदै सम्पन्न गर्न बजेट विनियोजन गरेको छ ।  ललितपुर महानगरको आइतबार सम्पन्न हिउँदे नगरसभाले मन्दिर पुनर्निर्माणको बाँकी काम सम्पन्न गर्न करिब एक करोड रुपैयाँ विनियोजन गर्ने निर्णय गरेको हो ।  ललितपुर महानगरका प्रवक्ता राजु महर्जनले बाँकी कामको नेतृत्व लिँदै पुनर्निर्माण सम्पन्न गर्न महानगरको हिउँदे नगरसभाले बजेट विनियोजन गरेको बताए । महानगरको वडा नं.२२ मा अवस्थित रातो मछिन्द्रनाथको मन्दिर २०७२ वैशाल १२ गतेको भूकम्पले भत्काएको थियो ।  मन्दिर पुननिर्माण कार्य पुरातत्व विभागको अगुवाईमा भइरहेको थियो । उपभोक्ता समितिले म्याद थपका लागि पुरातत्व विभागमा पत्राचार गरेपनि लामो समय भइसक्दा पनि म्याद थप भएको छैन । सांस्कृतिक धरोहरको रुपमा रहेको पुरातात्विक महत्वको मन्दिरलाई त्यत्तिकै अलपत्र छोड्न नहुने ठहर गर्दै बाँकी काम महानगरले सम्पन्न गर्ने निक्र्यौल गरेको हो ।  ललितपुर महानगरपालिका वडा नं २२ का वडा अध्यक्ष सागर तुलाधारले पुरातत्व विभाग र उपभोक्ता समितिबीच भएको सम्झौता अनुसार सम्पन्न भएका कामको हिसाब फरफारक गरेपछि नयाँ उपभोक्ता समिति गठन गरी पुनर्निर्माणको बाँकी काम सम्पन्न गरिने बताए ।  'पुरातत्व विभागबाट प्राविधिक तथा व्यवहारिक पक्षमा समन्वय नभएको गुनासो आइरहेको अवस्थामा अब नयाँ ढंगलले जाने निर्णय महानगरपालिकाले गरेको छु, उनले भने, ‘पुनर्निर्माणको बाँकी काम छिटो सम्पन्न गर्ने गरी अघि बढ्ने छौं ।

419507668_1021288195622464_6308906671172318050_n-1705479102.jpg
केही दिन अघि मन्दिर पुनर्निर्माणका क्रममा भएको खर्च सार्वजनिक गर्न आयोजना गरिएको कार्यक्रममा पुरातत्व विभागकी अधिकृत सविता न्यौपानेले पुरातत्व विभागले पछिल्लो समय कानुन अभावमा उपभोक्ता समितिको म्याद थप सम्बन्धी निर्णय गर्न नसकेको जानकारी दिएकी थिइन् । ‘तत्कालिन अवस्थामा पुनर्निर्माण प्राधिकरणको आदेशमा पुरातत्व विभागले काम गरेको हो, अहिले त्यो प्राधिकरण खारेज भएको अवस्था छ, नयाँ परिस्थितिमा कसरी जाने भन्ने कानुनी अन्योल रहेकाले विभागले मन्त्रालयले पत्रचार गरेको छ, पत्राचारको जवाफ नआएका कारण उपभोक्ता समितिको म्याद थप सम्बन्धी अन्योल रहेको हो’ उनले भनेकी थिइन् । २०७२ माघ २ गते मन्दिर पुनर्निर्माणका लागि श्रीलंका सरकारबाट सहयोग प्राप्त भएको थियो । मन्दिर पुनर्निर्माणका लागि टेण्डर स्वीकृत भइ मन्दिर पुनर्निर्माण कार्य सुरु भएको थियो । ठेकेदार कम्पनीले गरेको काममा स्थानीयले प्राविधक तथा व्यावहारिक पक्ष नमिलेको भन्दै असहमति जनाएपछि २०७७ असार १५ गते श्री रातो मच्छिन्द्रनाथ मन्दिर पुनःनिर्माण उपभोक्ता समिति र पुरातत्व विभागबीच सम्झौता भई मन्दिर पुनर्निर्माणको काम अघि बढेको थियो । 
पुरातत्व विभागका प्राविधिकका अनुसार मन्दिर पुनर्निर्माणको काम मध्ये हालसम्म उपभोक्ता समितिले करिब ७५ प्रतिशतसम्मको कार्य सम्पन्न गरेको छ ।

प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  ०९:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार