सोसल मिडिया
Contact Us
युनिकोड
महोत्तरी । महोत्तरीको मटिहानीमा आज सप्तमी तिथि लागेसँगै विधिवत् रूपमा माँ दुर्गा भवानीको पूजा आरम्भ भएको छ । प्रत्येक वर्षसरह यस वर्ष पनि दुर्गा मन्दिर परिसरमा भव्य रूपमा आयोजना गरिएको दुर्गा पूजामा यस पटक पनि दुर्गा भवानीसहित विभिन्न देवी–देवताहरूको माटोको प्रतिमा बनाइएको छ । प्रत्येक वर्ष झैं यस वर्ष पनि विशेष आकर्षणको रूपमा करिब २१ फिट लम्बाइमा माटोले निर्मित दुर्गा माताको प्रतिमा रहेको छ, जसलाई हेर्न तथा दर्शन गर्न स्थानीय भक्तजनदेखि बाहिरी जिल्लाबाट आएका श्रद्धालुहरूको ठूलो भीड लागेको छ । मन्दिर परिसरमा बिहानदेखि नै भक्तजनहरूको घुइँचो देखिन्छ । करिब एक महिना लगाएर दुर्गा मन्दिरमा नव–निर्मित माटोको दुर्गा भवानीलगायत देवी देवताहरूको पूजा विशेष कार्यक्रम गरी मनाइँदैछ । यस अवधिभर नित्य पूजा, देवी भागवत, दुर्गा स्तुति, सांस्कृतिक कार्यक्रम तथा सामूहिक भजन कीर्तनहरू निरन्तर चल्नेछन् । आज बिहान दुर्गा माताको पूजा गर्दै नगर प्रमुख हरिप्रसाद मण्डलले मटिहानीमा विगत ५४ वर्षदेखि लगातार दुर्गा पूजा हुँदै आएको हो । यस परम्पराले स्थानीयको धार्मिक आस्था, संस्कार र सांस्कृतिक पहिचानलाई अझ सुदृढ बनाएको छ । विगतमा सानो स्तरमा शुरु गरिएको दुर्गा पूजाले अहिले भव्य रूप लिएको छ र यसलाई प्रदेशकै चर्चित दुर्गा पूजामध्ये एक मानिन थालिएको बताए । यस वर्ष पनि दशैंको बेला मन्दिर परिसरमा मेलाको माहोल देखिने छ भने स्थानीय व्यापारी, युवायुवती र बालबालिका सबै उमंगसहित यस पर्वमा सहभागी हुने अपेक्षा गरिएको छ ।