नेपाल कहिल्यै कुनै पनि सैन्य गठबन्धनमा सामेल हुँदैन : परराष्ट्रमन्त्री साउद 

बिहीबार, माघ ४, २०८०

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले नेपाल कहिल्यै कुनै पनि सैन्य गठबन्धनमा सामेल नहुने बताएका छन् । युगान्डाको कम्पालामा भइरहेको असंलग्न आन्दोलन अभियान (नाम) को १९ औं शिखर सम्मेलनको मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दै मन्त्री साउदले भने, ‘नेपाल कहिल्यै कुनै पनि सैन्य गठबन्धनमा सामेल हुँदैन । नेपालले जहिले पनि स्वतन्त्र, वस्तुनिष्ठ, सन्तुलित र असंलग्न विदेशी नीतिलाई सञ्चालन गर्छ ।’
मन्त्री साउदले नेपालको नामको उद्देश्य र सिद्धान्तप्रति प्रतिबद्धता शिखर बैठकहरुमा मात्र सीमित नभएको प्रस्ट पारे । ‘नेपालको संविधानले नै नामको सिद्धान्तलाई आफ्नो विदेश नीतिको आधार मानेको छ,’ उनले सम्बोधनको क्रममा भनेका छन्, ‘हामी कम विकसित मुलुक (एलडीसी) स्थितिबाट उत्तीर्ण भई विकास र समृद्धिको आकांक्षा हासिल गर्न प्रयासरत छौं । एलडीसीको अध्यक्षको रूपमा हामी नर्थ साउथ, साउथ–साउथ र ट्रयांकुलर सहकार्यको भावनामा लगानी, स्रोत, क्षमता निर्माण र प्रविधिहरूको लागि सबै विकास साझेदार र नामको सदस्यहरूसँग एक बलियो सहयोग ढाँचा र नवीकरणको लागि साझेदारीको आशा गर्छौं ।’

saud-1705538653.jpg
उनले नेपाल आगामी पुस्ताका लागि विश्वलाई शान्त, समृद्ध र थप दिगो बनाउन आफ्नो भूमिका निर्वाह गर्न प्रतिबद्ध रहेको उल्लेख गरे । मन्त्री साउदले १९ औं शिखर सम्मेलनमा नेपालको ऐक्यबद्धता, सहयोग र सहकार्यलाई अझ गहिरो बनाउन ऐतिहासिक हुने बताए । ‘आज जब हामी हाम्रो झन्डै सात दशकको यात्रालाई चिन्तन गर्छौं । हामीलाई एकसाथ बाँध्ने साझा मूल्य–राष्ट्रिय सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता, राजनीतिक स्वाधीनता, आत्मनिर्णय, आपसी सम्मान र हित, गैरहस्तक्षेप र त्यसको पछि लाग्ने कुरालाई सम्झन्छौं । हाम्रो अन्तर्राष्ट्रिय सम्बन्धमा शान्ति, सद्भाव, समानता, मर्यादा र न्याय छ,’ उनले भने, ‘यो असंलग्न आन्दोलन ध्रुवीय पूर्वाग्रहबाट मुक्त एक शक्तिशाली राजनीतिक आवाज बन्यो ।’ उनले हामीले धेरै संकट र चुनौतीको सामना गरिरहेका बताए । उनले कोभिड–१९ महामारीको निरन्तर प्रभाव, जलवायु परिवर्तन, द्वन्द्व, खाद्यान्न तथा उर्जाको बढ्दो मूल्य, मुद्रास्फीति, ऋणको बोझ लगायतका समस्या देखापरेको जनाए । मन्त्री साउदले गाजामा सबैभन्दा खराब घटनाको साक्षी भएको कुरा पनि गरे । ‘हामी सबैले युक्रेन युद्धको पीडा भोगिरहेका छौं । भूराजनीतिक प्रतिस्पर्धा र ध्रुवीकरण हाम्रो विश्वव्यापी राजनीतिक व्यवस्थाको परिभाषित विशेषताहरूको रूपमा पुनः देखा परेको छ,’ उनले थपे । 

Nam-1-1705538658.jpg

प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  ०६:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार