अमेरिकी राष्ट्रपति पद कसरी हस्तान्तरण हुन्छ ?

शनिबार, मंसिर २७, २०७७

वासिङ्टन । अमेरिकामा पदासीन राष्ट्रपति डोनल्ड ट्रम्पले भर्खर सम्पन्न निर्वाचनमा जो बाइडनसँग आफू पराजित भएको स्वीकारेका छैनन् । उनको पक्षले निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै मतपरिणामालाई कानुनी चुनौती दिए पनि अमेरिकी सर्वाेच्च अदालतले चारवटा राज्यको मत परिणामलाई सदर गरिदिएको छ । यसबीचमा ट्रम्पले सत्ता हस्तान्तरणको औपचारिक प्रक्रिया सुरु गर्नुपर्ने कुरा स्वीकार पन गरिसकेका छन् । 
पद हस्तान्तरणमा कसरी हुन्छ ? यो किन महत्वपूर्ण छ ?

हस्तान्तरण प्रक्रिया के हो
यो एउटा प्रशासनबाट अर्कोलाई महत्वपूर्ण सूचना र कर्तव्यहरूको हस्तान्तरण हो । जसले गर्दा राष्ट्रपति निर्वाचित र उनको समूह ह्वाइट हाउसमा पुगेपछि त्यसलाई गति दिन सक्छन् । सरकारी निकाय जेनरल सर्भिसेस एड्मिनिस्ट्रेशन (जीएसए) ले आउँदो प्रशासनलाई सहयोग गर्छ । उसले कोष उपलब्ध गराउँछ र कार्यालय, प्रविधि र उपकरण जस्ता कुराहरू सहयोग गर्छ । हस्तान्तरण झन्डै ११ हप्तामा पूरा हुन्छ । त्यो सामान्यतया कसले जित्यो भन्ने कुरा स्पष्ट भएपछि सुरु भएर जनवरीमा नयाँ राष्ट्रपतिले औपचारिक रूपमा सत्तारोह गर्दासम्म सकिन्छ । सेन्टर फर प्रेजिडेन्शल ट्रान्जिशनका अनुसार त्यो केवल एउटा पदको हस्तान्तरण मात्र होइन । नयाँ राष्ट्रपतिले ४,००० राजनीतिक पदहरू पूर्ति गर्नुपर्छ ।

हस्तान्तरण अवधिमा के हुन्छ ?
तीनवटा मुख्य काम हुन्छन् कर्मचारी निर्धारण, विषयगत जानकारी प्रदान र राष्ट्रपति निर्वाचितको व्यस्त तालिकाको निर्धारण । 
औपचारिक रूपमा हस्तान्तरण सुरु भएपछि त्यो राष्ट्रपति निर्वाचितको समूहद्वारा त्यो प्रक्रिया अघि बढ्छ जसको पूरै चुनावी अभियानभरि तयारी गरिरहेको हुन्छ । एउटा महत्वपूर्ण विषय दैनिक सुरक्षा जानकारी हो ।
चुनावअघि सबै प्रमुख राष्ट्रपतीय उम्मेदवारले राष्ट्रिय सुरक्षाका केही सूचनाहरू पाउँछन् । तर राष्ट्रपति पदममा निर्वाचित उम्मेदवारलाई दिन थालिएपछि जस्तो त्यो नियमित र विस्तृत हुँदैन ।
बाइडनले दैनिक जानकारी पाइरहेका छन् । त्यसमा भविष्यमा आउन सक्ने जुनसुकै विषयमा नयाँ प्रशासनलाई तयार राख्ने सुनिश्चितताको निम्ति निश्चित गुप्तचर सूचनाहरू पनि पर्छन् ।
फ्लोरिडाको मतदानमा भएको विवादका कारण बिल क्लिन्टनबाट जर्ज डब्ल्यु बुशलाई हस्तान्तरण ढिलो भएको थियो । सन् २००१ को सेप्टेम्बर ११ मा भएका आक्रमणबारे छानबिन गर्न गठित सम्बन्धी आयोगले सन् २००० को चुनावपछि सत्ता हस्तान्तरण ढिलो हुँदा त्यसले उक्त घटना रोक्न नसकिएको सम्भावना औँल्याएको थियो । कर्मचारीको निर्धारण र नीति परिवर्तनमा सहयोगको निम्ति सामान्यतया बैठकहरू सरकारी निकायका बहालवाला सदस्यहरूसँगै आयोजना गरिन्छ । प्रमुख सदस्यहरूले आफ्नो नयाँ भूमिकाको तयारीका निम्ति बहिर्गमन हुन लागेका कर्मचारीका कामहरूलाई पछ्याउने गर्छन् ।
बाइडनले प्रमुख सदस्यहरू नियुक्त गर्न थालिसकेका छन् । हस्तान्तरण प्रक्रियाले प्रत्येक सरकारी निकायका प्रमुखलाई उनीहरूले गर्नुपर्ने आवश्यक भूमिका पहिल्याउन सहयोग गर्छ ।
राजनीतिक नियुक्ति हुने ४,००० पदमध्ये १,२०० मा सिनेटको अनुमोदन आवश्यक हुन्छ । हस्तान्तरण प्रक्रियाका क्रममा उनीहरूको पृष्ठभूमि जाँचमा सरकारले सघाउँछ । यो वर्ष कोरोनाभाइरस महामारी पनि छ र बाइडनले स्वास्थ्य निकायका उच्च अधिकारीसँग सम्पर्क गर्न र जनस्वास्थ्य सूचनामा पूर्ण पहुँच चाहेको बताएका छन् । सरकारी अधिकारीहरूसँगको छलफलका साथै हस्तान्तरण समूहले सामान्यतया राष्ट्रपति–निर्वाचित र विदेशी नेताहरूबीच संवादको आयोजना गर्न विदेश मन्त्रालयसँग समन्वय गर्छ । अहिलेसम्म बाइडनको समूहले अनौपचारिक संयन्त्रमार्फत् सम्पर्क गरेको छ । यसले सरकारी इमेल र सुरक्षति संयन्त्रमा पहुँच गराएको छ । राष्ट्रपति–निर्वाचित उम्मेमदवारको दम्पतीलाई ह्वाइट हाउसको भ्रमण गराएर त्यहाँको आन्तरिक साजसज्जाबारे उनीहरूको रुचिबारे सोध्ने गरिन्छ । तर त्यो कानुनी प्रावधानभन्दा पनि परम्परा हो ।
यो सामान्यतया जीएसएले नयाँ राष्ट्रपति को हो भन्ने कुरा उल्लेख गर्दै पत्र लेखेपछि सुरु हुन्छ । तर यो वर्ष उसले बाइडनले चुनाव जितेको पत्र जारी गर्न करिब चुनाव भएको तीन हप्तापछि नोभेम्बर २३ सम्म अस्वीकार गरेको थियो । जीएसएले बाइडनको समूहको निम्ति कोष र अन्य स्रोतहरू उपलब्ध गराएको छ । हस्तान्तरण कहिले सुरु हुनुपर्छ भन्ने कानुनी प्रावधान अस्पष्ट छ । त्यसले गर्दा पनि चुनावी परिणाममा विवाद झिकेको ट्रम्प प्रशासनलाई ढिलो गर्न छुट मिलेको हो । अमेरिकी कानुनअनुसार जीएसएले ‘स्पष्ट विजेता’ भएपछि हस्तान्तरण थाल्नुपर्छ तर त्यसको मिति निश्चित छैन । सन् २००० मा पनि हस्तान्तरण सामान्य अवधिभन्दा ढिलो भएको थियो । मतपरिणामविरुद्ध अदालतमा मुद्दा परेकाले त्यसो भएको थियो । तर त्यस बेला यस पटकभन्दा निकै झिनो मतान्तर थियो । जीएसएले औपचारिक रूपमा परिणाम घोषणा हुनु निकै पहिल्यै सन् २०१६ को चुनावको भोलिपल्टै ट्रम्पलाई विजेताको मान्यता दिएको थियो । त्यसको भोलिपल्ट ट्रम्पले ह्वाइट हाउसमा राष्ट्रपति ओबामासँग भेट गरेका थिए ।

खर्च कसले बेहोर्छ ?
सत्ता हस्तान्तरणका क्रममा हुने खर्च सरकारी रकम र निजी कोषबाट बेहोर्ने गरिन्छ । जीएसएले राष्ट्रपति–निर्वाचितलाई मान्यता दिएपछि संघीय कोषबाट करिब ७० लाख डलर निकास हुन्छ । यो समान्यतया राष्ट्रपति–निर्वाचितले संकलन गरेको कोषबाट परिपूर्ति गरिन्छ । बाइडनले आफ्नो हस्तान्तरण प्रक्रियाको निम्ति नोभेम्बरको सुरुमा ७० लाख डलर संकलन र आफ्ना समर्थकहरूबाट थप कोष जुटाउन अपील गरेको द न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ ।–बीबीसी 

 

प्रकाशित मिति: शनिबार, मंसिर २७, २०७७  १८:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार