उपराष्ट्रपति पाउनैपर्ने जनमत पार्टीको अडान 

प्रमिलाको उम्मेदवारी निस्क्रिया हुँदा उपराष्ट्रपति कसले मार्ला बाजी ? 

मंगलबार, फागुन ३०, २०७९

काठमाडौंं । उपराष्ट्रपतिमा उम्मेदवारी दिएकी जनता समाजवादी पार्टी (जसपा) की प्रमीलाकुमारी यादवले आफ्नै दलका उम्मेदवार राम सहाय प्रसाद यादवलाई समर्थन गरेकी छन् । उम्मेदवारी फिर्ता लिने समय सकिएपछि उनले वक्तव्य जारी गर्दै त्यस्तो घोषणा गरेकी हुन् । तर सत्ता पक्षीय गठबन्धनबाट अर्की उम्मेदवार पनि छन् जनमत पार्टीकी ममता झा । जनमत पार्टीका अध्यक्ष सीके राउतले समय अझैँ बाँकी रहेको र कुरा मिल्नेमा आफू आशावादी रहेको बताए । राष्ट्रपतिमा नेपाली कांग्रेसलाई समर्थन गर्ने निर्णय हुँदा उपराष्ट्रपति जसपालाई दिने सहमति भएको बताइन्छ । तर उनले त्यसमा आफूहरू नरहेको र केही दल बसेर गर्ने निर्णयलाई गठबन्धनको तर्फबाट स्वामित्व लिन नसकिने दाबी गरे ।

RS_KTM-RATL6864(1)1678534625.jpg

‘गठबन्धनबाट बाहिरिनुपर्छ’
सत्ता पक्षीय गठबन्धनमा जसपा तेस्रो ठूलो दल हो। त्यसैले उसको दाबी स्वाभाविक रहेको कतिपय बताउँछन् ।
तर जनमत पार्टीले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नागरिक उन्मुक्ति पार्टीले पनि समर्थन गरेको बताउँदै प्रतिनिधिसभामा जसपा भन्दा आकारमा ठूलो रहेको तर्क गरेको छ ।
जसपाका नेता प्रदीपकुमार यादवले भने राष्ट्रिय सभाका सदस्यसमेत जोड्दा सङ्घीय संसद्‌मा तीन वटा पार्टी मिल्दा पनि आफ्नो दल ठूलो रहेको बताए ।

RS_KTM-_RATL7117(1)1678534622.jpg
उनका अनुसार मङ्गलवार गठबन्धनको बैठक बस्ने छ र राम सहाय यादव साझा उम्मेदवार हुने कुरा प्रस्ट पार्ने छ ।
“उहाँ नै गठबन्धनबाट उम्मेदवार कायम रहनुहुन्छ, अरूले फिर्ता लिनुहुन्छ, नलिएमा उहाँहरू गठबन्धनबाट बाहिर जानुहुन्छ”, नेता प्रदीपकुमार यादवले भने ।
उनले उम्मेदवारी दिने जनमत पार्टी र उसलाई समर्थन गरेका लोसपा र नागरिक उन्मुक्ति पार्टीतर्फ सङ्केत गरेका हुन् । गठबन्धनमा पनि बस्ने र आफू खुसी उम्मेदवारी दिने कुरा मान्य नहुने उनको तर्क छ ।

टुट्ला गठबन्धन ?
यादवले भने, “गठबन्धनको चास्नी पनि खाने, तर पनि खाने अनि उम्मेदवारी पनि दिने हुँदैन, दोहोरो चरित्र चल्दैन ।”
सत्ता पक्षीय नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरू जसपाको उम्मेदवारको प्रस्तावक र समर्थक नै बसेका छन् । त्यस्तो अवस्थामा जनमत पार्टीकी उम्मेदवार पराजित हुने निश्चित जस्तो देखिन्छ ।
“चुनाव जित्नका निम्ति मात्रै होइन, सैद्धान्तिक कुरा पनि हो । दुई तीनवटा पार्टी बसेर हरेक निर्णय छुट्टै गर्ने र हामीले १० दलीय गठबन्धन मानिदिनु पर्ने भन्ने हुँदैन”, जनमत पार्टीका अध्यक्ष राउतले भने ।
उनले जबाफ दिए, “गठबन्धनमा हामी निर्णय सुन्नका निम्ति मात्रै त होइनौँ नि। छलफल भएर निर्णय हुनुपर्‍यो ।” जनमत पार्टी सहमति हुन नसके पनि गठबन्धन जोगाउँदै मित्रवत् प्रतिस्पर्धामा जाने पक्षमा देखिन्छ ।

ठूला दल जसपाको पक्षमा ?
जसपा नेता यादवका भनाइमा सुरुमा सहमति हुँदा पाँच दल मात्रै थिए जनमत लगायतका दल त्यसमा थिएनन्, उनीहरू पछि मिसिएका हुन् । त्यस बेलाको गठबन्धनले आफ्नो दललाई उपराष्ट्रपति दिने निर्णय गरेको तर अहिले जनमत पार्टी लगायतले ‘टन्टा’ गरिरहेको उनको भनाइ छ ।

RS_KTM-20230311135523_RATL70741678534623.jpg
नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले पनि पहिले जसपाको प्रस्तावलाई मान्ने भन्ने खालको समझदारी भएको बताए । राष्ट्रपति र उपराष्ट्रपति सत्ता पक्ष वा विपक्षको पद भएको उल्लेख गर्दै उनले भने, “यही विषयलाई लिएर त गठबन्धन यता उता नहोला । सकेसम्म सहमति नभए मैत्रीपूर्ण प्रतिस्पर्धा त भइरहन सक्ने कुरा भयो ।” गठबन्धन भत्कियो भने पनि सरकारलाई तत्काल कुनै असर पर्ने देखिन्न । तर त्यसको राजनीतिक असर र प्रभाव भने सरकारको विपक्षमा जाने कतिपयको बुझाइ छ । आगामी दिनमा गठबन्धनभित्र आउन सक्ने खटपट र सम्भावित नयाँ समीकरणलाई त्यसले प्रेरित गर्ने वा टेवा पुर्‍याउन सक्ने ठानिन्छ । नेकपा एमालेले अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाएको छ ।

202303111452-8f729932-71ce-42b5-ac59-4923c31cc37d_medium1678780280.jpg

प्रकाशित मिति: मंगलबार, फागुन ३०, २०७९  १३:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार