गाइड नलिइकन विदेशी पर्यटक पदयात्रामा जान नपाउने

शनिबार, फागुन २०, २०७९

काठमाडौँ । अब विदेशी पर्यटकले बिना पथप्रदर्शक (गाइड) नलिइकन पदयात्रामा निस्कन पाउने छैनन् । नेपाल पर्यटन बोर्डले आगामी चैत १८ (अप्रिल १) देखि लागू हुने गरी यस्तो व्यवस्था गरेको हो ।
नेपाल पर्यटन ऐन, २०५३ को दफा ७ र पदयात्री सूचना व्यवस्थापन प्रणाली सञ्चालन (पहिलो संशोधन) निर्देशिका, २०६६ को दफा १० ‘क’ बमोजिम यो निर्णय गरेको हो । 
साहसिक पर्यटनमा पर्ने लामो पदयात्रामा पर्यटकको सुरक्षाका लागि यस्तो निर्णय गरिएको बोर्डले जनाएको छ । यो व्यवस्थाअन्तर्गत लामो पदयात्रामा जाने पर्यटक तथा गाइड दुवैको बीमा गरिनेछ।
एक्लै पदयात्रामा जाँदा पर्यटकहरू हराउने र असुरक्षित हुने समस्या आएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले यसमा चासो देखाएका थिए ।
बोर्ड सञ्चालक समिति, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) र पर्यटन श्रमिक ट्रेड युनियनका प्रतिनिधिबीच भएको छलफलमा पर्यटकको सुरक्षा, उद्धार र व्यवस्थापनलाई ध्यानमा राख्दै बिनागाइड एक्लै पदयात्रामा जान रोक लगाउने निर्णय गरिएको हो । 
अहिले विभागीय मन्त्रीको निर्देशन तथा सरोकारवालाहरूको सहमतिमा पदयात्रालाई सुरक्षित बनाउन र उद्धार कार्य चुस्त राख्न यस्तो निर्णय गरिएको हो। 
यो निर्णयसँगै नेपालमा ट्रेकिङ गाइडहरूको रोजगारी र आय बढ्ने छ । 
पर्यटन बोर्डको तथ्यांकअनुसार नेपालमा पहाडी तथा हिमाली क्षेत्रमा लामो पदयात्रा (ट्रेकिङ) गर्न आउने कुल पर्यटकमध्ये ३० प्रतिशत बिनागाइड एक्लै जाने गर्छन् । कोभिड महामारीभन्दा अगाडि वार्षिक ४६ हजार हाराहारी पर्यटक यसरी नै पदयात्रामा जाने गरेको थिए । 
बोर्डले एक्लै पदयात्रामा जान बन्द गरेसँगै अब सबै पर्यटकलाई पदयात्रा निम्ति एकै प्रकारको अनुमति कार्ड दिइने भएको छ।
यसअघि समूहमा जानेले प्रतिव्यक्ति हजार रूपैयाँ र एकल भ्रमणमा जानेले प्रतिव्यक्ति दुई हजार तिरेर पर्यटक सूचना व्यवस्थापन प्रणाली ९टिम्स० कार्ड पाउँथे । अब भने सबैखाले पर्यटकका लागि एउटै कार्ड दिइनेछ र शुल्क प्रतिव्यक्ति दुई हजार रूपैयाँ लाग्ने छ।
सार्क सदस्यराष्ट्रका नागरिकको हकमा प्रतिव्यक्ति दुई सय रूपैयाँ लाग्ने गरेकोमा अब एक हजार लिइने छ । 
नेपाल ट्रेकिङ, ट्राभल्स राफ्टिङ, एयरलाइन्स श्रमिक युनियन (युनिट्राभ) लगायत संस्थाले एकल पदयात्रामा रोक लगाउन लामो समयदेखि आवाज उठाउँदै आएका थिए ।
बोर्डको निर्णयबाट पर्यटकको सुरक्षा हुने र उद्धार गर्नुपर्ने अवस्थामा पनि सहज हुने अपेक्षा गरिएको छ । 
पर्यटन व्यवसायी तथा पर्यटन क्षेत्रमा आवद्ध मजदुरको संयुक्त सङ्गठनको मागअनुरुप बोर्डले पदयात्रामा जाने पर्यटकले अनिवार्यरुपमा गाइड लाने व्यवस्था गरेको हो । 
नेपालमा कोभिड–१९ भन्दा अगाडि सन् २०१९ मा ४६ हजार एक सय ४२ पर्यटक ‘फ्रि इन्डिभ्युजुअल ट्रेकर (एफआईटी)’का रुपमा आएका थिए । यस्तो सङ्ख्या सन् २०२२ मा १९ हजार चार सय २५ थियो । यसरी आउने पर्यटकले नेपाल पर्यटन बोर्ड तथा पर्यटक सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड विक्रीको अनुमति पाएका निकायबाट टिम्स कार्ड लिएर एक्लै भ्रमणमा जाने गरेका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले पायो महाप्रबन्धक 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा प्रतावबाबु तिवारी तोकिएका छन् ।  नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले तिवारीलाई महाप्रबन्धकको जिम्मेवारी तोकेको हो । तिवारी यसअघि पनि विमानस्थलको महाप्रबन्धक भएका थिए । क्यानमा उपमहानिर्देशकको जिम्मेवारीमा रहेका तिवारी क्यानको नागरिक उड्डयन प्रशिक्षणको प्रमुख थिए । प्रशिक्षण प्रमुखमा देवचन्द्रलाल कर्णलाई जिम्मेवारी दिइएको छ । 
यस्तै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकको जिम्मेवारी हंशराज पाण्डेलाई दिइएको छ । उनी यसअघि एभिएशन सर्भिसेज निर्देशनालयमा उपमहानिर्देशक थिए । 
 

प्रकाशित मिति: शनिबार, फागुन २०, २०७९  ०७:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार