सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । शुक्रबार बिहान ९ बजे काठमाडौंस्थित राष्ट्रपति भवन शितल निवासमा हुने भनिएको उच्चस्तरीय राजनीतिक बैठक दिउँसो २ बजे बस्दैछ । विगत केही दिनदेखि संघर्षरत जेनजी समूहसहितको सहभागितामा बन्न लागेको सरकारका बारे छलफल गर्न बैठकमा नेपाली सेनाका प्रमुख अशोकराज सिग्देल, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र कानुनविद्समेत सहभागी हुने जनाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेल पनि बैठकमा सहभागी हुने छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि देशमा देखिएको राजनीतिक अनिश्चितता र जेनजी नेतृत्वमा जारी विरोध प्रदर्शनपछि नयाँ सरकार गठन गर्ने विषयमा छलफल गर्न शीतल निवासमा यो भेला हुन लागेको हो । बैठकको प्रमुख एजेन्डाहरूमा अन्तरिम सरकार गठन र अन्तरिम प्रधानमन्त्रीको रूपमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको सम्भावित नियुक्तिको बारेमा छलफल हुने अपेक्षा गरिएको छ ।
शीतल निवास छिरे प्रधान सेनापति भर्खरै प्रधान सेनापति अशोकराज सिग्देल राष्ट्रपति कार्यालय शीतल निवास छिरेका छन् । शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधान सेनापति अशोकराज सिग्देल र जेनजीबाट प्रधानमन्त्रीमा प्रस्तावित सुशीला कार्कीसहितको बैठक बस्न लागेको छ । ससंद विघटनको मागबाट जेनजीका विभिन्न समूह पछि नहटेपछि कानूनी विकल्प खोज्न बैठक बस्ने भएको हो । स्रोतका अनुसार अरु विषय टुंगिए पनि संसद विघटनको विषयमा सहमति जुटेको छैन । काठमाडौंका मेयर बालेन्द्र साह र जेनजीले संसद विघटनलाई बटमलाइन बनाएका छन् । तर, राष्ट्रपति सहमत नभएपछि यसमै हलो अड्किएको स्रोतहरूको भनाइ छ । बिहीबार मध्यरातसम्म राष्ट्रपति रामचन्द्र पौडेलसहित भएको छलफलमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बन्नेमा सहमति जुटेको थियो । तर, संविधानको कुन धारामा टेकेर प्रधानमन्त्री घोषणा गर्ने भन्ने अन्योल छ । संसद विघटन नगरी प्रधानमन्त्री बनाउँदा संवैधानिक नहुने र संसद विघटनका लागि पनि कानूनी आधार नदेखिएकाले अन्योल बढेको बताएका छन् । धोका नहुने र जेनजीहरूको माग पूरा गर्ने राष्ट्रपति र प्रधानसेनापतिले आश्वस्त पारेपछि सबै समूह सहमति नजिक पुगेको स्रोतले बतायो । जेनजीको समूहबाट कानूनविद्को रूपमा अधिवक्ता ओमप्रकाश अर्याललाई अघि सारिएको छ । संसद विघटनको कुरा टुंगिएपछि मात्रै भौतिक उपस्थितिबीच सबैसँग सहमति हुने बताइएको छ ।