संसद्‌मा राष्ट्रपति भण्डारीको अन्तिम सम्बोधन (पूर्णपाठ)

औँल्याइन् देशमा विद्यमान विभिन्न समस्या
शुक्रबार, माघ २७, २०७९

rs1676028792.jpgकाठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्‌मा आफ्नो कार्यकालको अन्तिम सम्बोधन गर्दै शुक्रवार देशमा सुधार गर्नुपर्ने पक्षहरूबारे संसद् र सरकारको ध्यानाकर्षण गरेकी छन् । विसं २०७४ फागुन २९ गते दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित भएकी भण्डारीको पाँचवर्षे कार्यकाल आगामी फागुन २९ गतेबाट सकिन लागेको छ । यो उनको दोस्रो कार्यकाल हो । निर्वाचन आयोगले नयाँ राष्ट्रपति चयनका लागि फागुन २५ गते निर्वाचन र त्यसअघि १३ गते मनोनयन दर्ताको कार्यतालिका सार्वजनिक गरेको छ ।
पूर्वनिर्धारित आफ्नो सम्बोधनमा भण्डारीले देशको विकासको समग्र अवस्था लगायत शिक्षामा सुधार, रोजगारी वृद्धि, व्यापार घाटा सन्तुलन, शान्ति सुव्यवस्था लगायतका विषयमा चिन्ता व्यक्त गरिन् ।
“देशको आर्थिक अवस्था जटिल मोडमा रहेको विषयप्रति सबै जानकार र चिन्तित छौँ । अर्थतन्त्रमा देखिएका तत्कालीन, अल्पकालीन र दीर्घकालीन समस्याको समाधान खोज्नु जरुरी छ,” भण्डारीले भनिन्, “सूचकहरूमा पछिल्लो केही सकारात्मक सङ्केत देखा परेको भएता पनि यसको दिगोपनामा आश्वस्त भइहाल्ने अवस्था देखिएको छैन ।’
भण्डारीले कृषकले समयमा मल र बीउ नपाएको विषयदेखि युवाहरू रोजगारीका लागि बिदेसिनुपरेका समस्यासम्म आफ्नो सम्बोधनमा औँल्याएकी छन् ।

उनले महिलामाथि हुने हिंसाका घटनामा कमी नआएको र विकास आयोजनाहरू समयमै नसकिएको विषयमा समेत सरकार र संसद्को ध्यानाकर्षण गराइन् ।
“मैले आफ्नो सात वर्षको अनुभवमा आफूले देखेका केही मूल विषयहरू मात्र यहाँ राखेकी छु। यी बाहेकका थुप्रै काम गर्नुपर्नेछ,” उनले भनिन् ।
वर्तमान सरकार गठन भएपछि नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम अघि सारेको भन्दै उनले थपिन्, “यसलाई नतिजा प्राप्त हुनेगरी तत्कालै कार्यान्वयनमा लैजानेछ भन्ने मेरो विश्वास छ ।’’
सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा आफूले औँल्याएका विषय सम्बोधनका लागि “आवश्यक स्रोत व्यवस्थापन गर्ने विश्वास” राष्ट्रपति भण्डारीले व्यक्त गरेकी छन् ।

मदन भण्डारीको निधनपछि सक्रिय राजनीतिमा
राष्ट्रपति निर्वाचित हुनुअघि लामो समय नेकपा एमालेको सक्रिय राजनीति र महिला अधिकारकर्मीको भूमिकामा रहेकी भण्डारीले राष्ट्रप्रमुखको कार्यकाल सकिएपछि सक्रिय राजनीतिमा रहने वा नरहनेबारे धेरैले चासो राख्ने गरेका छन् ।
नेपालको आधुनिक इतिहासमा पहिलो महिला राष्ट्रप्रमुख बनेकी भण्डारी २०७२ साल कार्तिक ११ गते दोस्रो राष्ट्रपतिका रूपमा पहिलो पटक यो पदमा पुगेकी थिइन्। नेपालमा दुई कार्यकालभन्दा बढी राष्ट्रपति हुन नपाउने व्यवस्था छ । भोजपुरको मानेभन्ज्याङमा विसं २०१८ असार ५ गते जन्मिएकी भण्डारीले नेकपा एमालेका पूर्वमहासचिव मदन भण्डारीसँग विवाह गरेकी थिइन् ।
विसं २०५० साल जेठ ३ गते त्रिशूली नदीमा भएको सडक दुर्घटनामा निधन भएपछि गरिएको उपनिर्वाचनमा नेपाली कांग्रेसका नेता एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई हराउँदै भण्डारी पहिलो पटक सांसद बनेकी थिइन् ।
एमालेले दासढुङ्गामा भएको उक्त घटनालाई ‘रहस्यमय हत्याकाण्ड’ भन्दै आएको छ ।

विद्या भण्डारीले गरेका दुई उल्लेख्य काम
संवैधानिक राष्ट्रपतिसँग सीमित अधिकार भए पनि भण्डारीले महिला र बालबालिकाका पक्षमा उल्लेख्य काम गरेको महिला राजनीतिज्ञहरू बताउँछन् ।
“प्रजनन अधिकारसँग सम्बन्धित केही कामहरू उहाँले गर्नुभयो । विशेषगरी दुर्गम क्षेत्रका महिला सुत्केरी हुन नसक्दा उद्धारका कुराहरू नयाँ हिसाबबाट गर्नुभयो,” पूर्वसांसद तथा एमाले नेत्री बिन्दा पाण्डे भन्छिन् ।
भण्डारीले दुर्गम क्षेत्रमा प्रसूतीसँग सम्बन्धित समस्या भएका महिलाको हवाई उद्धारका लागि ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ सुरु गरेकी थिइन् ।


“विद्यालयलाई सुधार गर्न पनि उहाँले पहल गर्नुभयो र सरकारले त्यसलाई राखिदियो,” उनले भनिन् ।
भण्डारीको अग्रसरतामा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत सामुदायिक विद्यालयहरूमा पूर्वाधार र गुणस्तर सुधारको कार्यक्रमका लागि ३,००० भन्दा विद्यालय छानिएका छन् ।
“तर उहाँले महिला त्यसमाथि एकल महिला भएको हिसाबले सुरुदेखि अन्तिमसम्म नै विभेदको सामना गरिरहनुपर्‍यो। मन्दिरमा पस्दा सुनपानी छर्किनेदेखि अन्तिमसम्म ुसेतो सारीु भन्ने आक्रमण सहनुपर्‍यो,” पूर्वसांसद पाण्डे भन्छिन् ।
मदन भण्डारीको निधन भएपछि भएको निर्वाचनमा सेतो सारी लगएर मत माग्न गएको भन्दै विद्या भण्डारीको विपक्षीहरूले आलोचना गर्दै आएका थिए ।
पूर्वसांसद तथा नेपाली कांग्रेसकी नेत्री पुष्पा भुसाल पनि भण्डारीले सामाजिक मुद्दामा सकारात्मक काम गरेको बताउँछिन् ।
“महिलाले राष्ट्रपति पद प्राप्त गरेको नेपालको सन्दर्भमा आफैँ ऐतिहासिक हो। उहाँले महिला र बालबालिका सहित सामाजिक न्यायसँग जोडिएका विषयवस्तुमा चासो लिने सरोकारवालाहरूलाई पनि बोलाएर अन्तर्क्रिया गर्ने कामहरू गर्नुभयो, त्यो सकारात्मक हो,” उनले भनिन् ।

यी घटनाका कारण विद्या भण्डारी विवादमा पनि परिन्
राष्ट्रपतिमा रूपमा विद्यादेवी भण्डारीको भूमिका विवादरहित भने रहेन । उनले संवैधानिक राष्ट्रपतिको “सीमाभन्दा बाहिर” आएर कतिपय अवस्थामा ‘सक्रिय भूमिकामा’ पनि देखाएको आरोप आलोचकहरूले लगाउने गरेका छन् । राष्ट्रपति भण्डारीले तात्कालिक प्रधानमन्त्री केपी ओलीले दुई पटक संसद् विघटनका लागि गरेका विवादास्पद सिफारिस तत्कालै अनुमोदन गरेकी थिइन् । सङ्घीय संसद्ले दोहोर्‍याएर पारित गरेको नागरिकता विधेयक प्रमाणीकरण नगरी रोकिदिएपछि राष्ट्रपति भण्डारीको आलोचना भएको थियो । कांग्रेस नेत्री भुसाल राष्ट्रपतिको यस्तो भूमिकालाई संविधानले नचिनेको बताउँछिन् ।
“संविधानले व्यवस्था गरेको तटस्थ भूमिका निर्वाह गर्नुपर्नेमा विभिन्न घटनाक्रमले उहाँलाई विवादमा पुर्‍यायो र सक्रिय राष्ट्रपतिको अनुभूति पनि गरायो,” भुसालले भनिन्, “उहाँ ती विवादबाट मुक्त हुनुपर्थ्यो तर सक्नुभएन। यो भोलिका लागि पनि शिक्षा हो।”
एमाले नेत्री पाण्डे पहिलो राष्ट्रपतिको भूमिका पनि विवादरहित नरहेको बताउँछिन् । तर भण्डारीले सुधार गर्न सक्ने केही ठाउँहरू भए पनि त्यसमा चासो नदिएको उनी स्वीकार गर्छिन् ।
“हिजो रामवरणजी राष्ट्रपति हुँदा पनि कतिपय कुराहरू विवादास्पद थिए, अहिले पनि रहे । तर कामको हिसाबले उहाँले अलिकति थप गर्नुभयो,” पाण्डेले भनिन् ।

‘सुधार गर्न सकिन्थ्यो’
राष्ट्रपति भण्डारी शुक्रवार संसद् भवन जाँदा पनि सडकमा सर्वसाधारणको हिँडडुल बन्द गरियो । लामो समयदेखि सर्वसाधारणले जनताबाट निर्वाचित राष्ट्रपतिको सवारीमा सडकमा हुने आवागमन बन्द गरिएको विषयमा आलोचना र विरोध गर्दै आएका छन् । कांग्रेस नेत्री भुसाल राष्ट्रपतिमा दुई कार्यकाल बिताएकी भण्डारीले यस्ता विषयको सम्बोधन गरेको भए राम्रो हुने बताउँछिन् । “जनताको चाहाना र अपेक्षाअनुसार नै राज्यका अङ्गहरू चलिदिँदाखेरि सकारात्मक सन्देश प्रवाह हुन्छ,” उनले भनिन् । “यसलाई अलिकति घटाउँदै लैजानुपर्ने हुन्छ। आलोचितभन्दा पनि जनताको आस्थाको बिन्दु पनि बनाउनुपर्छ’ उनले भनिन् ।–बीबीसी 

प्रकाशित मिति: शुक्रबार, माघ २७, २०७९  १७:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार