सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । ललितपुर महानगरपालिका र ललितपुर उद्योग बाणिज्य संघको संयुक्त आयोजना बुधबार स्थानीय सरकारको राजश्व सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । ललितपुर महानगरपालिकाको आगामी आर्थिक वर्षको राजश्व नीतिका लागि उद्यमी–व्यवसायीहरूबाट सुझाव संकलनका लागि महानगरपालिका र उद्योग बाणिज्य संघले संयुक्त रुपमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेका हुन् । महानगरपालिकाले मंगलबार ललितपुर चेम्बर अफ कमर्ससँग पनि यस्तै अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । उद्योग बाणिज्य संघका अध्यक्ष विश्वराज बज्राचार्यको अध्यक्षतामा आयोजित अन्तरक्रिया कार्यक्रम ललितपुर महानगर उपप्रमुख एवम् स्थानीय राजश्व परामर्श समितिका संयोजक मञ्जली शाक्य बज्राचार्यको प्रमुम आतिथ्यमा सम्पन्न भएको हो । अन्तरक्रियामा ललितपुर जिल्लामा विभिन्न व्यवसायमा संलग्न उद्यमी–व्यवसायीहरूको सहभागिता रहेको थियो । ललितपुर महानगरपालिका र ललितपुर उद्योग बाणिज्य संघको संयुक्त आयोजनामा भएको स्थानीय सरकारको राजश्व सम्बन्धी अन्तरक्रियामा महानगरको राजश्व नीतिका लागि सुझाव दिने वक्ताहरूले आत्मनिर्भर अर्थतन्त्र तयार गर्न उद्योगी व्यवसायीहरुबीच सहकार्य हुनुपर्छ भन्नेमा जोड दिएका छन् । अन्तरक्रियामा महानगरको राजश्व महाशाखाका निर्देशक सहजित राईले महानगरको कर प्रसाशनका विषयमा प्रस्तुति दिएका थिए भने उद्यमी–व्यवसायीले दिएका सुझावलाई समेटेर उद्योग बाणिज्य संघका तर्फबाट महानगरलाई ठोस प्रस्ताव तयार गर्न अर्थविद् चन्द्रमणि अधिकारीको विज्ञता संघले उपयोग गरेको छ ।
अन्तरक्रियामा सहभागीहरूले राखेका जिज्ञासा र चासोहरुलाई सम्बोधन गर्दै महानगर उपप्रमुख एवम् स्थानीय राजश्व परामर्श समितिका संयोजक मञ्जली शाक्य बज्राचार्यले व्यवसायीसंग करको मात्रै आश गर्ने भन्दा पनि रोजगारीको अवसर सृजना गरेर आत्मनिर्भर अर्थतन्त्र तयार गर्न समन्वय र सहकार्य गर्नुपर्नेमा जोड दिइन् । “उद्यमी व्यवसायी प्रति हामीले सम्मान गर्नुपर्छ, व्यवसाय र व्यवसायीहरुको संरक्षण र सम्मान योग्य वातावरण तयार गर्न महानगरले ध्यान दिन्छ, दुई तीन वर्षदेखि उद्यमी व्यवसायीका समस्या सुन्दै आएको छु, राष्ट्रिय पूँजी पलायन हुने वातावरणलाई अन्त्य गर्न हामीले प्रभावकारी अर्थनीति आवश्यक छ।” उनले भनिन् । उनले सरकारी कर्मचारीले सबै कुराको समाधान दिन्छ भनेर सोच्नु भन्दा पनि करको दायरालाई व्यवस्थापन गर्नेगरी नीतिगत व्यवस्था गराउन व्यवसायीहरुले नै जोड दिन आग्रह गरिन् । “सबै क्षेत्रका समस्या समाधान गर्नका लागि हामी ध्यान दिएर लाग्छौं, अहिले उद्योग व्यवसायको अवस्था ठीक छैन, व्यवसायीहरु मारमा परेका छन्, जोगाउने दायित्वलाई ध्यान दिएर लाग्छौ, पूँजी, भूमि, श्रम र समयको लगानी गरेर गरेको व्यवसायलाई सफल बनाउन हामीले जोड दिनुपर्छ, संघीय सरकारका कारण समाधान नभएको कुरामा स्थानीय सरकारले गर्न सक्दैन, स्थानीय सरकारको अधिकार क्षेत्रभित्र भएका व्यवस्थालाई सहज बनाएर दिन मिल्नेसम्म छुट दिएर सहजीकरण गर्छौं।” उनले भनिन् ।
उपप्रमुख बज्राचार्यले प्रगतिशील करलाई जोड दिएर नवउद्वारबाद अर्थतन्त्रको विकास गर्न लाग्नुपर्छ भन्दै न्युनवर्गको पीडालाई सम्बोधन गर्न ध्यान दिएर लाग्ने बताइन् । उनले पार्किङलाई व्यवस्थापन गर्ने र पार्किङ व्यवसायलाई पनि व्यवस्थापन गर्नेतर्फ महानगरले जोड दिएको र खाली ठाउँलाई पार्किङ बनाउन पनि प्रयास गरिरहेको बताइन् । उनले यो वर्षको नीति तथा कार्यक्रममा फूटपाथ व्यवसायलाई व्यवस्थापन गर्न जोड दिने प्रतिवद्धता पनि व्यक्त गरिन् । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले स्थानीय सरकारको कर संकलनलाई एकद्वार प्रणालीमा व्यवस्थापन गरिनुपर्नेमा जोड दिएका छन् । उनले फिनल्यान्डमा प्रत्येक नागरिकले ९० प्रतिशतसम्म सहजै कर तिर्ने उदाहरण पेश गर्दै नेपालमा नागरिकले सामान्य प्रतिशत कर पनि सहजै तिर्न नसक्ने वातावरण किन हुँदैछ भनेर सोच्नुपर्ने बताए । उनले नागरिकले सहज रुपमा कर तिर्न आउने र तिर्न सक्ने वातावरण बनाउनु पर्नेतर्फ ध्यान दिन आग्रह गरे । अर्थविद प्राध्यापक डाक्टर चन्द्रमणि अधिकारीले राजश्व संकलनमा स्थानीय तहले करदातालाई सहुलियत र सुविधा दिने नीति लिनुपर्ने धारणा राखे । उनले करको दरलाई समायोजन, संख्यालाई न्यूनिकरण गरेर दायरालाई फराकिलो बनाउँदै सहज रुपमा कर तिर्नु सक्ने वातावरण तयार गर्नुपर्नेमा जोड दिए ।
उनले व्यवसाय राम्रोसँग फस्टाउँदा मात्रै कर तिर्नेहरुको संख्या बृद्धि हुने भन्दै यसका लागि अध्ययन गरेर नीतिगत व्यवस्था गरिनुपर्ने बताए । ललितपुर महानगरपालिका राजश्व महाशाखाका निर्देशक सहजित राईले महानगरमा १ लाख २२ हजार २६७ करदाता रहेकोमा गतवर्ष ५१ हजार ७३३ करदाताहरुले कर तिरेको र १२ हजार ९४२ करदाताले नियमित कर तिर्नेगरेको जानकारी दिए । उनले स्थानीय राजश्व प्रवर्द्धनमा ललितपुर उद्योग बाणिज्य संघको महत्त्वपूर्ण योगदान रहँदै आएको बताए । महानगरको राजश्व प्रवद्र्धन तथा अनुगमन शाखा प्रमुख तिलक बहादुर थापाले चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म उठेको राजश्व गत आर्थिक वर्षको बैशाख मसान्तसम्मको भन्दा २८ प्रतिशतले बढि रहेको भन्दै राजश्व प्रवर्द्धनका लागि उद्योगी, व्यवसायी र स्थानीय करदाताहरु समेतको सहयोग आवश्यक हुने बताए । उद्योग बाणिज्य संघका अध्यक्ष विश्वराज बज्राचार्यले व्यापारका साथै निजी क्षेत्रले सेवाको काम पनि गरिरहेकोले निजी क्षेत्रलाई राज्यले सम्मानपूर्ण व्यवहार गर्नुपर्नेमा जोड दिए । उनले ८० प्रतिशत राजश्व व्यापार व्यवसायबाट संकलन हुने धारणा राखे । उद्योग बाणिज्य संघका राजश्व समितिका संयोजक पूर्णबहादुर महर्जनले महानगरले उद्योगी व्यवसायीहरुलाई विकासका साझेदारका रुपमा हेर्दै समन्वय र सहकार्य गर्नुपर्नेमा जोड दिए ।