बेलायती आरोही केन्टन कुलको नयाँ कीर्तिमान

आइतबार, जेठ १०, २०८३

काठमाडौं । केन्टन कुलले विश्वको सर्वोच्च शिखर सगरमाथा २०औँ पटक सफलतापूर्वक आरोहण गर्दै गैर-शेर्पा आरोहीतर्फ नयाँ इतिहास रचेका छन् । ५२ वर्षीय बेलायती पर्वतारोही कुल सगरमाथाको शिखरमा २० पटक पुग्ने पहिलो गैर–शेर्पा आरोही बनेका हुन्। यससँगै उनले गैर-शेर्पा आरोहीमध्ये सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने आफ्नै कीर्तिमानलाई थप मजबुत बनाएका छन् । उनले शुक्रबार, मे २२, २०२६ मा आफ्ना लामो समयदेखिका नेपाली गाइड दोर्जी ग्याल्जेन शेर्पासँगै बिहान करिब ४ बजे, सूर्योदयअघि सगरमाथाको चुचुरोमा पाइला टेकेका थिए । कुलले पहिलो पटक सन् २००४ मा सगरमाथा आरोहण गरेका थिए। त्यसयता उनी लगभग हरेक वर्ष हिमाल फर्किँदै आएका छन् र विश्व पर्वतारोहण क्षेत्रमा निरन्तर सफल आरोहीका रूपमा परिचित छन्। यसअघि उनले सन् २०२५ मा १९औँ पटक आरोहण गरेर विदेशी आरोहीतर्फको कीर्तिमान बनाएका थिए । यद्यपि गैर–शेर्पा आरोहीतर्फ कुलले नयाँ इतिहास रचे पनि सगरमाथा आरोहणको समग्र विश्व कीर्तिमान भने कामी रिता शेर्पाकै नाममा रहेको छ । उनले यसै सिजनमा ३२औँ पटक सगरमाथा आरोहण गर्दै आफ्नै विश्व कीर्तिमानलाई अझ उचाइमा पुर्‍याएका छन् । आरोहणपछि प्रतिक्रिया दिँदै कुलले आफ्नो २०औँ सगरमाथा यात्रा “अत्यन्त विशेष उपलब्धि” भएको बताएका छन्। लामो अनुभव भए पनि सगरमाथा आरोहण कहिल्यै सामान्य अनुभव नहुने उनको भनाइ छ।

प्रकाशित मिति: आइतबार, जेठ १०, २०८३  १९:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार