यती एअरलाइन्सले अन्तिम समयमा ‘अवतरण गर्ने दिशा फेरेको थियो’

सोमबार, माघ २, २०७९

पोखरा । आइतवार पोखरामा दुर्घटनाग्रस्त भएको यती एअरलाइन्सको विमानले धावनमार्गबाट १५ माइल (२४.५ किलोमिटर) नजिक पुगेपछि अवतरण गर्ने मोहडा परिवर्तन गरेको अधिकारीले बताएका छन् ।
प्रशिक्षक पनि रहेका क्याप्टेन कमल केसीले आइतवार बिहान पनि काठमाडौंबाट पोखराका लागि एउटा उडान गरिसकेका थिए ।
दोस्रो उडानको नेतृत्व गरेका केसीले हालैबाट सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो परीक्षण उडान (डेमो फ्लाइट) पनि गरेको यती एअरलाइन्सले जनाएको छ ।
पोखराकै तेर्सापट्टीका स्थानीय केसी नेतृत्वको उडानले अवतरणका लागि अनुमति पाइसकेको र त्यस बेलासम्म कुनै समस्या नदेखिएको अधिकारीहरूले बताए ।
अवतरणका लागि ‘क्लिअरन्स’ पाइसकेको उक्त जहाज विमानस्थलाट आँखैले देखिने ठाउँमा आइपुगिसकेको थियो । १० देखि २० सेकेन्डभित्र धावनमार्गमा अवरण गर्ने अनुमान एअर ट्राफिक कन्ट्रोलको थियो ।
‘विमान मोडिने बेलामा ल्यान्डिङ गिअर जब खुल्छ त्यतिबेला विमान ‘स्टल’ भए जस्तो देखिन्छ । विमान स्वाट्टै खस्यो’, विमानस्थलका एअर ट्राफिक कन्ट्रोलरले भने ।
उड्डयन क्षेत्रमा ‘स्टल’ भन्नाले विमानले आफ्नो उचाइ कायम राख्न नसक्ने अवस्था बुझाउँछ । ‘विमान कन्ट्रोल टावरबाट आँखाले छर्लङ्गै देखिने दूरीमा आइसकेको थियो’ उनले थपे ।
आइतवार पोखराको मौसम पनि सफा थियो । उडानहरू पनि नियमित थिए ।
‘नयाँ विमानस्थलमा उडानहरूमा कुनै समस्या आएको थिएन । नियमित नै थिए। आइतवार मौसम पनि सफा थियो’, उनले भने ।
प्रत्यक्षदर्शीहरूले विमान होचो स्थानमा आइसकेपछि मोडिने क्रममा नियन्त्रण गुमाएको जस्तो देखिएको बताए । 
पश्चिम मोहडाबाट अवतरणको क्रममा दुर्घटना
जनवरी १ अर्थात गत पुस १७ गतेबाट सञ्चालनमा आएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वी र पश्चिमी दुवैतर्फबाट विमानहरूले अवतरण गर्दै आएका थिए ।
पूर्वतर्फबाट अवतरणका लागि रनवे ३० (थ्रीजीरो) र पश्चिमबाट अवतरणका लागि रनवे १२ (वनटू) प्रयोग गर्न विमानहरूलाई भनिने गरेको छ ।
दुर्घटनामा परेको विमान ‘भिजूअल फ्लाइट रुल्स’ (भीएफआर) प्रविधिबाट अवतरण हुने क्रममा रहेको विमानस्थलका अधिकारीहरूले बताएका छन् । भीएफआर सफा मौसममा पाइलटहरूले उडान र अवतरणका लागि प्रयोग गर्ने विधि हो ।
‘पहिलो पटक जहाज सम्पर्कमा आउँदा एटीसीले रनवे थ्रीजीरोबाट ल्यान्ड गर्न अनुमति दिएको थियो । तर जहाज १५ माइलनजिकै आइसकेपछि विमानले रनवे वनटूबाट ल्यान्ड गर्ने अनुमति माग्यो’, उनले भने । 
नयाँ विमानस्थलको प्राविधिक पक्ष जिम्मेवार रहे वा नरहेकोबारे सोधिएको प्रश्नमा पोखरा विमानस्थल कार्यालयका प्रवक्ताले विमान दुर्घटनाको कारणबारे अध्ययनपछि मात्रै थाहा हुने बताए।
‘यसबारे हामीले अहिले नै केही भन्न सक्दैनौँ। अध्ययनपछि मात्रै थाहा होला’, उनले भने ।
पोखरामा भएको विमान दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन सरकारले पाँच–सदस्यीय जाँच आयोग गठन गरेको छ । आयोगलाई हवाई दुर्घटना हुन नदिन आन्तरिक उडानतर्फका सबै वायुसेवा कम्पनीलाई उडानअघि अनिवार्य प्राविधिक परीक्षण गर्न निर्देशन दिइसकेको छ।
सेती नदीनजिकै रहेको यो विमानस्थल नेपालको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा तयार भए पनि यसबाट हालसम्म अन्तर्राष्ट्रिय उडानहरू भने हुन सकेका छैनन् । यो विमानस्थलसँग प्रतिघण्टा झन्डै ६०० यात्रुहरू व्यवस्थापनको क्षमता रहेको अधिकारीहरूले बताएका छन् ।
यो विमानस्थलमा एक पटकमा तीनवटा अन्तर्राष्ट्रिय विमान र ठूलासाना चार–चारवटा गरेर आठवटा आन्तरिक सेवाका विमान रहन सक्ने छन् ।
झन्डै २,५०० मिटर लामो धावनमार्ग रहेको विमानस्थललाई ठूला विमानहरूतर्फ एअरबस ए३२०, बोइङ ७३७–७०० सिरीज वा बोइङ ७५७–२०० जस्ता न्यारोबडी विमानका उडानका लागि अनुकूल मानिएको छ ।विमानमा ६८ यात्रुमध्ये ५३ जना नेपाली र अरू विदेशी नागरिक थिए।
यती एअरलाइन्सका अनुसार विमानमा भएका ७२ जनामध्ये ३७ पुरुष र २५ महिला थिए । यात्रुमध्ये तीन बालक र तीन शिशु थिए । हालसम्म एक शिशुको मृत्यु भएको प्राधिकरणले पुष्टि गरेको छ।

प्रकाशित मिति: सोमबार, माघ २, २०७९  १४:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार