सेती खोँचमा खस्यो यती एअरलाइन्सको विमान, कम्तीमा ६८ जनाको मृत्यु

पोखरा विमान दुर्घटना
आइतबार, माघ १, २०७९

काठमाडौं । पोखरामा अवतरणका क्रममा आइतवार बिहान दुर्घटनामा परेको यती एअरलाइन्सको विमानमा सवार ६८ जनाको शव फेला परेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । तीमध्ये ३२ वटा शव दुर्घटनास्थलबाट निकालेर अस्पताल लगिएको छ ।
नेपाली सेनाका अनुसार विमान खसेको खोँचमा आइतवार अपराह्णसम्म कोही जीवितै फेला परेका छैनन् । चार जनाको खोजी भइरहेको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताएका छन् ।  
आन्तरिक उडानमा रहेका विमान दुर्घटनामा पर्दा यो नै सबैभन्दा ठूलो मानवीय क्षति भएको दुर्घटना भएको पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले बताएका छन् ।
सरकारले दुर्घटनाबारे छानबिन गर्न एउटा आयोग गठन गरेको छ तथा वायुसेवाहरूलाई आन्तरिक उडानमा रहेका विमानहरूको अनिवार्य प्राविधिक परीक्षण गर्न निर्देशन पनि दिएको छ ।
प्राधिकरण तथा यती एअरलाइन्सका अनुसार विमानमा चालकदलका चार सदस्यसहित ७२ जना सवार थिए । विमान बिहान १०ू ५० बजे अन्तिम पटक सम्पर्कमा आएको प्राधिकरणले जनाएको छ ।
खोजी तथा उद्धारकार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरू परिचालित भएका छन् ।
दुर्घटनामा पर्नुअघि विमानले  अवतरण गर्ने दिशा फेरेको थियो ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले भने, 'सुरुमा भेटिएकामध्ये कोही जीवित छन् कि भन्ने ठानिएको होला । तर हामीले अहिलेसम्म घाइते अवस्थामा कसैलाई पनि फेला पारेका छैनौँ ।’ 
यसअघि कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले ‘गम्भीर अवस्थामा फेला परेका दुई जनालाई जीवितै उद्धार गरेर अस्पताल पठाइएकोू बताएका थिए । उनका अनुसार विमान लगभग पूरै जलेको छ ।
‘सेती खोँचमा विमानबाट अरू मानिस पनि खसेको आशङ्कामा खोजी गर्न उद्धारकर्मीहरू डोरीमा झुन्डिएर तल गएका छन्’ ढकालले भने ।
 
यती एअरलाइन्सले आफ्नो विमान दुर्घटनामा परी ज्यान गुमाएका यात्रुहरूको शोकमा सोमवार आफ्ना सबै उडानहरू स्थगित गरेको छ । आइतवार साँझ सूचना प्रकाशित गर्दै यतीले ‘आपत्कालीन र उद्धार बाहेकका सबै उडान’ रद्द गरिएको जनाएको छ । प्राधिकरणका अनुसार अहिले उद्धारकार्यमा ध्यान केन्द्रित भएकाले ककपिट भोइस रेकर्डरको खोजी गर्न अझै बाँकी नै छ।
विमान अवतरण हुने क्रममा दुर्घटना
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका एक अधिकारीका अनुसार विमानले अवतरण गर्न ‘१० देखि २० सेकेन्ड मात्रै बाँकी’ थियो । विमान काठमाडौंबाट  १० बजेर ३२ मिनेटमा उडेको थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल हालैमात्र सञ्चालनमा आएको हो ।
‘दुर्घटनापछि नयाँ बनेको अन्तर्राष्ट्रिय र पुरानो आन्तरिक दुवै विमानस्थल हाललाई बन्द भएका छन् । कहिलेबाट सञ्चालनमा आउँछन् अहिले नै भन्न सकिने अवस्था छैन’, ती अधिकारीले भने ।
कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले सेती खोँचमा खसेको जहाजका तीनवटा मुख्य टुक्रासम्म पुगेर सुरक्षाकर्मीले उद्धार गरिरहेको बताएका छन् ।
उनले खोँचको तलसम्म पुगेर नै खोजी जारी राखिएको भए पनि जीवित फेला पर्ने सम्भावना कम रहेको बताए ।
सेती खोँचमा विमान दुर्घटना भएको ठाउँमा धुँवाको मुस्लो उडेको थियो । 

यति एअरलाइन्सको विमान दुर्घटनाको शोकमा माघ २ गते सोमवार सार्वजनिक बिदा घोषणा
नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानमा ६८ यात्रुमध्ये ५३ जना नेपाली र अरू विदेशी नागरिक थिए ।
यती एअरलाइन्सका अनुसार विमानमा भएका ७२ जनामध्ये ३७ पुरुष र २५ महिला थिए । यात्रुमध्ये तीन बालक र तीन शिशु थिए ।

  • नेपाली : ५३ यात्रु
  • भारतीयः ५ जना
  • रुसी : ४ जना
  • कोरियालीः  २ जना
  • आइरिशः  १ जना
  • अस्ट्रेलियालीः १ जना
  • आर्जेन्टिनीः  १ जना
  • फ्रान्सेलीः  १ जना

सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालका अनुसार आइतवार साँझ ६ बजेसम्म मृतकमध्ये २४ जनाको सनाखत भएको छ । उनका अनुसार अस्पताल लगिएका शवको पोस्टमर्टम परीक्षण सोमवार सुरु हुनेछ ।
तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मीहरू खोजी तथा उद्धारकार्यमा खटेका छन् । आइवार साँझसम्म ६८ जनाको मात्रै शव फेला परेकाले बाँकी चार जनाको खोजी जारी रहेको प्राधिकरणले जनाएको छ ।
‘हामीले बत्तीको बेला व्यवस्था गरेर यथासम्भव राति पनि खोजी जारी राख्ने प्रयास गरिरहेका छौँ,’ प्राधिकरणका प्रवक्ता निरौलाले भने ।
यसअघि नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले ‘पोखरा विमानस्थलबाट डेढ किलोमिटर वर सेती नदीको खोँचमा विमान दुर्घटनाग्रस्त भएको छ । त्यहाँ उद्धारका लागि रेन्जरतर्फका १२० गरी २०० जना सैनिक परिचालित भएको’ बताएका थिए ।
दुर्घटनाग्रस्त विमानमा आगो लागेको र धुवाँ आएकाले सुरक्षाकर्मीहरूले आगो निभाउने प्रयास गरेका थिए ।
सो दुर्घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले उद्धारमा लाग्न गृह मन्त्रालय, सुरक्षाकर्मी र नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएका छन् । आइतवार दिउँसो मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेको थियो ।
मन्त्रिपरिद्को निर्णयानुसार सरकारले दुर्घटनाको जाँच गर्न एउटा आयोग गठन गरेको छ भने सोमवार शोक बिदा घोषणा गरिएको छ।
नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता निरौलाका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उद्धार समन्वय केन्द्रमा पुगेर प्रधानमन्त्री पुष्पकमल दाहालले दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन टोली गठन हुने बताएका थिए । उनले कुनै कसर बाँकी नराखी उद्धार कार्यमा लाग्न पनि निर्देशन दिए । प्रवक्ता निरौलाका अनुसार जनवरी १ मा उद्घाटन गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि उक्त यति एअरलाइन्सको विमान काठमाण्डूबाट उडेको थियो ।
सो विमानस्थलबाट हालसम्म अन्तर्राष्ट्रिय उडान सुरु भइसकेको छैन । तर आन्तरिक उडानहरू भने विमानस्थल उद्घाटनयता जारी रहेको प्रवक्ता निरौलाले बताएका छन् ।
घाइते यात्रु भेटिए उद्धार तथा उपचार गर्न सेनाले प्रबन्ध मिलाएको थियो । उसका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुईवटा हेलिकप्टर र छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा स्वास्थ्य टोली पनि तयारी अवस्थामा राखिएको थियो । उद्धारकार्यमा सुरक्षाकर्मीबाहेक स्थानीय सर्वसाधारण र स्थानीय निकाय पनि खटेका थिए ।
 

प्रकाशित मिति: आइतबार, माघ १, २०७९  १९:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार