पहाडी भूभागमा हल्का हिमपातको सम्भावना

मंगलबार, पुस १९, २०७९

काठमाडौँ । देशैभर चिसो बढेको छ । चिसोका कारण जनजीवन कष्टपूर्ण बन्दै गएको छ । तराईका भूभागमा शीतलहरले जनजीवन थप कष्टकर बनिरहेको त्यहाँका स्थानीयले बताएका छन् । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशको पहाडी भू–भागमा आंशिक बदली केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको प्रभावले देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रही प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
अहिले बिहान देशको प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराई भू–भागमा हुस्सु लागेको अवस्था छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ ।
महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम पाँच दशमलव पाँच डिग्री र अधिकमत तापक्रम १७ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइन छ दशमलव एक डिग्री सेल्सियस र सबैभन्दा बढी विराटनगरको अधिकतम तापक्रम २३ दशमलव आठ डिग्री सेल्सियस रहेको छ ।

चिसोले तराईका भूभागको जनजीवन प्रभावित
तराईका भूभागमा चिसो बढेसँगै शीतलहरले जनजीवन कष्टपूर्ण बन्दै गएको छ । चिसो तथा शीतलहरबाट बच्च मानिसहरुले घर बाहिर आगो बालेर बसेका छन् विगत केही दिनदेखि चिसो ह्वात्तै बढेको छ । बिहान बाक्लो हुस्सुसँगै दिनभरि कुहिरो लाग्न थालेको छ । दिनभरि घाम नलागेपछि बढ्दो चिसोका कारण जनजीवन प्रभावित बनेको छ ।
कुहिरोसँगै चल्ने चिसो हावाले बिहान स्थानीयवासी घर बाहिर निस्कन समस्यामा परेका छन्  । बजारमा चलहपहल कम भएको छ । वृद्धवृद्धा तथा बालबालिका सडकमा देखिँदैनन् । सधैँजसो भीडभाड हुने सरकारी कार्यालयमा पनि चिसोका कारण सेवाग्राही पातलिएका छन् । बिहानै खुल्ने पसल र बजार पनि ढिलो गरी खुलिरहेका छन् । 
साँझपख पनि चिसो झनै बढ्न थालेपछि बजार संसाँझै सुनसान हुन थालेका छन् । यद्यपि न्याना कपडाका पसलमा भने ग्राहकको भीड बढेको छ ।  सडकपेटीमा कपडाको व्यापार बढेको देखिन्छ । स्थानीयवासीले न्याना लुगा जोहो गर्न थालेका छन् ।
बाक्लो हुस्सु र शीतका कारण पूर्व–पश्चिम राजमार्गमा यातायात सञ्चालन पनि प्रभावित भएको छ । कठ्याङ्ग्रिँदो चिसोसँगै बाक्लो हुस्सु लाग्दा सवारीसाधनको आवागमनमा असर परेको हो । बाक्लो हुस्सुले गर्दा बिहान १० मिटरभन्दा पर देख्न नसकिँने हुँदा सडकमा दुर्घटनाको जोखिम बढेको छ । 
चिसोकै कारण जिल्लामा बिरामीसमेत बढेका छन् । चिसोसँगै दम, निमोनिया, रुघाखोकी, ज्वरोलगायत रोगका बिरामी बढेका हुन् ।  बालबालिका, वृद्धवृद्धा, मुटु, मिर्गौला, मधुमेह तथा अन्य दीर्घरोगी चिसोले थप जोखिममा भएकाले यो मौसममा उनीहरूले विशेष ख्याल पुर्‍याउनुपर्ने सुझाव चिकित्सकले दिएका छन् । 
बढ्दो चिसोका कारण खेतीबालीमा समेत असर पर्न थालेपछि कृषकहरू चिन्तित भएका छन् । खेतबारीमा लगाएका मुसुरो, खेसारी, आलस, रहरलगायत दलहन र तेलहन बाली र काउली, गोलभेँडा, मटरलगायत तरकारी बाली प्रत्यक्षरूपमा चिसोबाट प्रभावित भएका छन् । आलु, गोलभेँडाको खेती पछिल्ला दशकमा व्यवसायिकरूपमा भइरहे पनि बर्सेनि चिसोको  प्रकोपबाट यी बाली जोगाउन किसानलाई मुस्किल हुने गरेको छ । यो रोगबाट जोगाउन कतिपय किसानले ‘टनेल’ (पारदर्शी प्लास्टिको छानासहितको टहरो) बनाएर त्यसमुनि गोलभेँडालगायत तरकारी बालीको खेती गर्ने गरेका पनि छन् । टनेलको व्यवस्थापन गर्न नसक्ने कतिपयले विषादी पनि छर्किने गरेका छन् । यस्तो अवस्थामा विषादी प्रत्येक सात–आठ दिनको फरकमा छर्किन सकेमा मात्र बोली जोगाउन सकिने सल्लाह कृषि प्राविधिकले दिने गरेका छन् । पटक–पटक विषादी किनेर छर्किनका लागि कमजोर आर्थिक अवस्था भएका किसानलाई क्षमता नहुँदा उनीहरूलाई बाली जोगाउनै मुस्किल छ ।
रातिको तापक्रम पाँच डिग्री सेल्सियसभन्दा तल जाने र आद्रता बढ्न गई शीत पर्ने तथा चिसो मौसमको अवस्थामा रहने हुँदा ढुसी सक्रिय हुन गई बोटमा चिसोकोे सङ्क्रमण देखिने गरेको कृषि प्रविधिकको भनाइ छ । लामो समयसम्म हुस्सु र कुहिरो लागेर धेरै चिसो भइरहँदा ओसिलो जग्गामा गरिएको आलु, गोलभेँडालगायतको बालीमा चिसोको सङ्क्रमणको समस्या हुने गरेको छ । 

प्रकाशित मिति: मंगलबार, पुस १९, २०७९  १०:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार