सोसल मिडिया
Contact Us
युनिकोड
मोरङ । मोरङको उर्लाबारी–४ का रमेश भण्डारी २९ वर्षका भए । उमेरले अझै युवावस्थामै रहेका भण्डारीले भने जीवनको आठ वर्ष सर्प उद्धारमा बिताइसकेका छन्। यस अवधिमा उनले १ हजार ३ सयभन्दा बढी सर्प सुरक्षित रूपमा उद्धार गरिसकेका छन्९कहिले खेत खलियानबाट, कहिले भान्छा घरबाट, त कहिले मानिसको ओछ्यानबाटै । भण्डारीको सर्पसँगको सम्बन्ध २० वर्षको उमेरदेखि सुरु भयो । छिमेकी तथा वन प्राविधिक प्रेम विष्टसँगको संगतले उनलाई सर्प प्रेमी बनायो। कुनै विशेष उपकरणबिनै ठुला सर्पलाई समात्ने विष्टको सीपले उनलाई आकर्षित गर्यो । त्यही सिकाइले उनलाई पनि बिस्तारै सर्प समात्न र उद्धार गर्न सक्षम बनायो । सुरुआती दिन सहज थिएनन्। अविषालु सर्प समात्ने क्रममा उनी पटक–पटक डसिए । तर विष नभएका सर्पले ज्यान लिँदैनन् भन्ने आत्मविश्वासले उनलाई रोक्न सकेन । बिस्तारै उनले विषालु सर्पको व्यवहार, जोखिम र उद्धार विधिबारे पनि गहिरो ज्ञान हासिल गरे । सर्पले उद्धारकर्तालाई चिन्छ जस्तो लाग्छ,भण्डारी भन्छन्, हामी पुगेपछि सर्प अझै सतर्क हुन्छ । त्यसैले धेरै सजग हुनुपर्छ। उनका अनुसार सर्प देख्ने बित्तिकै ढुंगा हान्ने, लाठीले हिर्काउने वा आगो लगाउने प्रवृत्ति गलत हो । त्यस्तो गर्दा सर्प आक्रामक बन्छ । सर्पले आफूलाई खतरा महसुस नगरेसम्म मानिसलाई टोक्दैन, उनले भने । भण्डारी सर्पलाई जोखिमको स्रोत होइन, वातावरणीय सन्तुलनको महत्त्वपूर्ण अंग मान्छन् । उनका अनुसार सर्पले खेतबारीमा मुसा नियन्त्रणदेखि विभिन्न कीटाणु नियन्त्रणसम्म भूमिका खेल्छ । तर समाजमा अझै पनि सर्पप्रति गहिरो भय कायम छ । यही डर हटाउन भण्डारी विद्यालय, किसान समूह र स्थानीय संघसंस्थामा पुगेर जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्छन् । वासस्थान सुरक्षित राख्न सके सर्प घरमा पस्दैनन्, उनी भन्छन्, तर मानिसकै कारण सर्प पनि जोखिममा परेका छन् । सुरुका दिनमा परिवारले यस्तो जोखिमपूर्ण काम नगर्न सुझाव दिएका थिए । तर उनले आफ्नो बाटो छाडेनन् । अहिले वर्षायाममा त प्रायः दैनिक जसो सर्प उद्धारमा उनको दिन बित्छ । सूचना आउनासाथ उनी जुनसुकै बेला घरबाट निस्किन्छन् । यो काम पूर्ण रूपमा स्वयंसेवी हो । आर्थिक आम्दानी छैन। तर उनी सन्तुष्ट छन् । पैसा कमाइ नभए पनि नाम चलेको छ, उनी मुस्कुराउँदै भन्छन्, त्यसैलाई नै आफ्नो सम्पत्ति ठानेको छु । उनले दुखेसो पोखे, स्थानीय ठाउँमा कला क्षमताको सम्मान छैन ।