कांग्रेस संसदीय दलमा पुरानो र नयाँ पुस्ताबीच घम्साघम्सी, रुपान्तरणको नाराले सार्थकता पाउँला ? 

मंगलबार, पुस ५, २०७९

काठमाडौँ । गत मंसिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनबाट ठूलो दल बनेको नेपाली काँग्रेस संसदीय दल नेताको निर्वाचनमा होमिएको छ । निर्वाचनमा विजयी भएका प्राय: सबै दलहरुले संसदीय दलको नेता सर्वसम्मत चयन गरे पनि नेपाली कांग्रेसले भने संसदीय दलको नेता चयनका लागि निर्वाचनमा होमिएको छ । प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दिएका कारण संसदीय दल नेता चयनका लागि निर्वाचन पक्का भएको हाे । पुस्तान्तरणको वकालत गर्दै आएका महामन्त्री गगन थापाले पाकाे उमेरका पार्टी सभापति देउवालाई चुनौती दिएका छन् । 
देउवाको उम्मेदवारीको प्रस्तावकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र समर्थकमा पार्टी उपसभापति पूर्णबहादुर खड्का रहेका छन् भने महामन्त्री थापाको उम्मेदवारीको प्रस्तावकमा नेता डा. शेखर कोइराला तथा समर्थकमा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र  नेता प्रदीप पौडेल रहेका छन् । संसदीय दलकाे याे निर्वाचनमा काँग्रेसका नेता  पाकाे पुस्ता र युवा पुस्ता गरी दुई कित्तामा विभाजित भएकाे छ । 

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ सिटमा विजयी हासिल गरेर सङ्घीय संसद्को सबैभन्दा ठूलो दल बनेको छ ।

८९ सांसद रहेको कांग्रेसमा संसदीय दलको नेता बन्न ४५ मत भए पुग्छ। यसअघिको समीकरण हेर्दा देउवा पक्षमा ५२ सांसद थिए भने शेखर पक्षमा २४ सांसद थिए। बाँकी सांसद वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह र डा शशांक कोइराला पक्षमा रहेका थिए।
संसदीय दलको नेतामा मनोनयनपछि देउवा गुटमा रहेका प्रदीप र प्रकाशमानको पक्षमा रहेको भनिएका महामन्त्री शर्माको साथले गगनको पक्षमा थप माहोल बन्ने देखिन्छ । मनोनयनपछि गगनको समर्थनमा ४१ जना सांसद पुगेको दाबी पनि गरिएको छ । यद्यपि, रामचन्द्र र डा शशांक कोइरालाको पक्षमा रहेका १० सांसद कता लाग्ने हुन् यसको टुंगो लागेको छैन ।
पूर्वमहामन्त्रीसमेत रहेका डा शशांकले यसअघि आफूले देउवालाई साथ दिने बताउँदै आएका थिए। संस्थापन पक्षमा रहेका केही सांसदहरु देउवासँग असन्तुष्ट रहेको बताइन्छ। असन्तुष्ट पक्षलाई समेट्न सकेमा गगनको पक्षमा परिणाम आउन सक्छ ।

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा आज उम्मेदवारी दर्ता गरेपछि उम्मेदवार तथा  तिनका समर्थकहरूले मुलुकको अहिलेको आवश्यकता र जनताको चाहनाबमोजिम नै आफूहरुले उम्मेदवारी दिएको तर्क गरेका छन् ।  सभापति देउवाका प्रस्तावक रहेका पार्टीका वरिष्ठ नेता पौडेलले मुलुकको अहिलेको आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान सक्ने अनुभवी नेतृत्वका लागि सभापति देउवाको उम्मेदवारी रहेको बताए । 
 यसैगरी सभापति देउवाका समर्थक रहेका पार्टी उपसभापति  खड्काले संविधानको रक्षा र कार्यान्वयन, राजनीतिक स्थायित्व र मुलुकको उन्नति प्रगतिलाई द्रुत गतिमा अघि बढाउन तथा पार्टीको हितका लागिसमेत सभापति देउवाको नेतृत्व आवश्यक रहेको जिकिर गरे । गठबन्धन दललाई मिलाएर लैजान सक्ने अनुभवको उपयोगिताको आवश्यकता र सबैले स्वीकार्ने नेतृत्वअनुसार सभापति देउवाको उम्मेवारी रहेको उनको तर्क थियो । 
संसदीय दलको नेताका अर्का उम्मेदवार पार्टीका महामन्त्री थापाले परिवर्तनको चाहनालाई सँगै लिएर जानसक्ने आत्मविश्वासका साथ उम्मेदवारी दिएको उल्लेख गर्दै पार्टीलाई रुपान्तरण गर्नसक्ने र संसद्भित्र कांग्रेसको तर्फबाट नेतृत्व गरेर गौरव गर्न लायक काम गरेर सरकार चलाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले जनचाहनाअनुसार आफूले पार्टीलाई बदल्ने र देशलाई पनि बदल्ने क्षमताका साथ उम्मेदवारी दिएको तर्क गरे ।  
 महामन्त्री थापाका प्रस्तावक रहेका नेता डा कोइरालाले आफूहरुले विभिन्न चरणमा छलफल गरेर तथा स्थायित्व र निरन्तरताको एजेण्डाका साथ महामन्त्री थापालाई सर्मथन गरेको जानकारी दिए । 
निर्वाचनका लागि उम्मेदवारी दरखास्त दिन आज दिउँसो २ बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको थियो । कांग्रेस संसदीय दलको नेताको निर्वाचन भोलि  पुस ६ गते बुधबार हुँदैछ । कांग्रेसको ‘संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समिति’ले संसदीय दलको नेताको निर्वाचनसम्बन्धी कार्यतालिका सोमबार सार्वजनिक गरेको हो । कार्यतालिकाअनुसार सोमबार नै मतदाता नामावली प्रकाशन भइसकेको छ । निर्वाचनका मतदाता पार्टीका प्रतिनिधिसभाका सदस्य हुन् ।
मतदान बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय परिसर, सिंहदरबारमा हुनेछ । समितिले उम्मेदवारको दरखास्त साथ दाखिल हुनुपर्ने शुल्क ५१ हजार रुपैयाँ तोकेको छ । मतदान समाप्त भएपश्चात् मतगणना र निर्वाचन परिणामको घोषणा हुनेछ । पार्टीका नेता भीष्मराज आङ्दम्बे संयोजकत्वको निर्वाचन समितिमा नेताहरु पुष्पा भुसाल र प्रकाश रसाइली स्नेही सदस्य रहेका छन् ।

कांग्रेसमा संसदीय दलको नेता नै प्रधानमन्त्रीको उम्मेदवार हुने भएकाले संसदीय दलको नेताको निर्वाचन महत्वपूर्ण मानिन्छ । कांग्रेसको विधानको दफा ४० मा संसदीय दलसम्बन्धी व्यवस्था छ । उपदफा (२) मा संसदीय दलमा प्रतिनिधिसभाका सदस्यले आफूमध्येबाट संसदीय दलको नेताको निर्वाचन गर्ने उल्लेख छ ।

प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९  १७:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार