बैतडीमा म्यादी प्रहरीको हत्यामा संलग्न आरोपमा सशस्त्रका जवान पक्राउ

आइतबार, मंसिर १८, २०७९

काठमाडौं । बैतडीमा म्यादी प्रहरी युवतीको हत्यामा संलग्न रहेको आरोपमा सशस्त्र प्रहरी बलका एक जवान पक्राउ परेका छन् । पक्राउ पर्नेमा भरतराम कोली छन् । आरोपित कोलीलाई कञ्चनपुरबाट पक्राउ गरेको प्रहरी उच्च स्रोतले पुष्टि गरेको छ ।
बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारको यही मंसिर १४ गते धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो । उनको घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
उनीसँगै रहेकी १५ वर्षीया बालिका नेहा लुहार घाइते छिन् । उनको अहिले डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा सशस्त्र प्रहरीका जवान हत्यामा संलग्न रहेको तथ्य खुलेको थियो । उनलाई पक्राउ गर्न सादा पोसाकमा समेत प्रहरी खटाइएको थियो ।
प्रहरीले घटनाको अनुसन्धान गर्ने क्रममा घाइते नेहाको बयान लिएको थियो । उनकै बयानका आधारमा सशस्त्र प्रहरी जवानमाथि आशंका बढेको हो ।
माया र नेहा गएको मंगलबार बिहान करिब १० बजे घरबाट पञ्चेश्वर गाउँपालिका–३, कुलाउमा लुगा सिलाउन भनी गएका थिए । तर, सशस्त्र प्रहरी जवानसँग भेटघाट गर्न उनीहरू शिवनाथ पुगेको खुल्न आएको प्रहरी अधिकारी बताउँछन् ।
लुगा सिलाउन भनेर हिँडेकी उनी घर नफर्किएपछि आफन्तले प्रहरीमा खबर गरेका थिए । खोजी गर्दै जाँदा बुधबार बेलुका माया मृत अवस्थामा फेला परेकी थिइन् । नेहा घाइते अवस्थामा भेटिएकी थिइन् । 
माया यही मंसिर ४ गते भएको निर्वाचनको सुरक्षाका लागि म्यादी प्रहरीमा भर्ना भएकी थिइन् । माया र आरोपित सशस्त्र जवानबीच प्रेम सम्बन्ध रहेको हुन सक्ने अनुसन्धानमा संलग्न प्रहरी अधिकारीको आशंका छ ।

प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९  ११:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार