सरकार गठनका लागि माओवादी केन्द्रले एमालेसहितका दलसँग छलफल गर्ने 

शनिबार, मंसिर १७, २०७९

काठमाडौं । सत्तारूढ नेकपा माओवादी केन्द्रले सरकार गठनका लागि विभिन्न विकल्पहरू खुला रहेको स्पष्ट पारेको छ । 
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार अपराह्न बसेको पार्टी पदाधिकारी बैठकमा सरकार गठनका लागि एमालेसहितका दलहरूसँग छलफल गरेर अघि बढ्न सकिने भन्दै विभिन्न विकल्पमा जान सकिने प्रष्टयाएको हो । 

सरकार गठनबारे विभिन्न विकल्पहरू खुला राखिएको पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले बताए । 
बैठकमा नेताहरूले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार नआएको टिप्पणी गरेका थिए । 
बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै पार्टीका उपाध्यक्ष महराले भने, “निर्वाचनको प्रारम्भिक समीक्षा गरियो । अपेक्षा गरिएअनुसार हामीले संघमा सिट हासिल गर्न सकिएन भन्ने समीक्षा भयो । समग्रमा चुनावको सबै परिणाम आएपछि मात्रै गर्ने कुरा गरियो । दोस्रो, बनाएको गठबन्धन छोड्ने निर्णय गरिएको छैन । र, अन्य विकल्प पनि खुला राखिएको छ । विभिन्न विकल्पमा जान सकिन्छ । तर, पुरानो गठबन्धनलाई छोड्ने, तोड्ने निर्णय पनि गरिएको छैन ।”

माओवादी केन्द्रले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुलाई प्रधानमन्त्री बनाउन सत्ता गठबन्धनमा दबाब पुग्ने निष्कर्षसहित सरकार गठनका लागि एमालेसहितका अन्य विभिन्न दलहरूसँगको विकल्पलाई पनि खुला राख्ने नीति रणनीति लिएको बताइएको छ । 
सोमबार दिउँसो २ बजे पनि पदाधिकारी बैठक बोलाइएको र त्यसले निर्वाचनको समग्र विषयमा समीक्षा गरेर अघि बढ्ने निर्णय लिने पार्टीका महासचिव देवप्रसाद गुरुङले बताए । 

प्रकाशित मिति: शनिबार, मंसिर १७, २०७९  १९:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार