समानुपातिक मतमा एमालेको अग्रता, कांग्रेस दोस्रो स्थानमा

शुक्रबार, मंसिर १६, २०७९

काठमाडौँ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड तीन लाख ८२ हजार ८५ मतगणना सम्पन्न भएको छ । 
निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार उक्त प्रणालीतर्फ गणना भएको ९४ दशमलव ६१ प्रतिशतमा  नेकपा एमालेले २७ लाख ७३ हजार नौ सय ९९ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले २६ लाख ४४ हजार दुई सय ४१ मतसहित दोस्रो स्थानमा रहेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी० ले ११ लाख ६१ हजार दुई सय ५६, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख १९ हजार नौ सय ९६, राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८५ हजार नौ सय २१, जनता समाजवादी पार्टी नेपालले चार लाख २० हजार नौ सय ३१ र जनमत पार्टीले तीन लाख ९४ हजार तीन सय ४५ मत प्राप्त गरेका छन् । 
प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एक सय ६५ क्षेत्रमध्ये एक सय ६२ क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ । स्याङ्जा क्षेत्र नं २, दोलखा र बाजुराको परिणाम आउन बाँकीे छ ।

दोलखामा प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रको अग्रता कायमै

दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्र का उम्मेदवार गङ्गा कार्कीले अग्रता लिएका छन् । 
हालसम्म पाँच हजार नौ सय ७० मतगणना हुँदा उनले तीन हजार छ सय १८ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का बालकृष्ण शिवाकोटीले एक हजार आठ सय मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए । 
जिल्लाको प्रदेशसभा (१) मा चार हजार सात सय ३३ मतगणना गर्दा नेपाली कांग्रेसका  कुन्दनराज काफ्लेले दुई हजार पाँच सय २५  मत तथा एमालेका नरबहादुर श्रेष्ठले एक हजार छ सय १६ मत प्राप्त गरेका छन् । 
प्रदेशसभा (२) मा चार हजार चार सय ९४ मतगणना हुँदा एमालेका भरत केसीले दुई हजार एक सय ८५ र कांग्रेसका बर्मा लामाले एक हजार आठ सय ५७ मत प्राप्त गरेका छन् । जिल्लाको १० मतदान केन्द्रमा बिहीबार पुनः मतदान भएको थियोे । बाँकी स्थानमा यही मङ्सिर ४ गते मतदान भएको थियो ।
जिल्ला ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र थिए । कूल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए भने १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए । 
 

प्रकाशित मिति: शुक्रबार, मंसिर १६, २०७९  १३:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार