प्रतिनिधिसभा निर्वाचनमा १० उम्मेदवार दुई सयभन्दा कम मतले पराजित

शुक्रबार, मंसिर १६, २०७९

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनमा एक सय ६२ जना निर्वाचित हुँदा १० उम्मेदवार जम्मा दुई सय मतभन्दा कम मतान्तरले पराजित भएका छन् ।
प्रदेशगत हिसाबले हेर्दा प्रदेश नं १ बाट  पाचँथर–१ मा नेकपा (एमाले)का वसन्तकुमार नेम्वाङले ४६ मतले नेपाली कांगे्रसका भीष्मराज आङदेम्वेलाई, इलाम–२ मा एमालेका सुवासचन्द्र नेम्वाङले एक सय १४ मतले कांग्रेसका डम्बरबहादुर खड्कालाई, सुनसरी–४ मा कांग्रेसका  ज्ञानेन्द्रबहादुर कार्कीले एक सय १२ मतले एमालेका जगदीशप्रसाद कुसियैतलाई पराजित गरेका छन् । 
मधेस प्रदेशबाट धनुषा–२ मा कांगे्रसका रामकृष्ण यादवले एक सय ५७ मतले एमालेका उमाशङ्कर अरगरियालाई, धनुषा–४ मा एमालेका रघुवीर महासेठले एक सय २४ मतले कांग्रेसका महेन्द्र यादवलाई, पर्सा–३ मा एमालेका राजकुमार गुप्ताले एक सय ६७ मतले कांगे्रसका सुरेन्द्रप्रसाद चौधरीलाई पराजित गरेका छन् । 
बागमती प्रदेशबाट काठमाडौँ–१ मा कांग्रेसका प्रकाशमान सिंहबाट एक सय २५ मतले राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्र पराजित हुनुभएको छ । लुम्बिनी प्रदेशबाट दाङ–२ मा नेकपा (माओवादी केन्द्र)का रेखा शर्माले एक सय ९३ मतले एमालेका शङ्कर पोख्रेललाई, बर्दिया–२ मा  स्वतन्त्रबाट लालवीर चौधरीले एक सय ३६ मतले नेकपा (माओवादी केन्द्र) का सुरेश पन्थलाई पराजित गरेका छन् । 
कर्णाली प्रदेशबाट दैलेख–२ कांग्रेसका दिक्पालकुमार शाहीले एक सय ६७ मतले एमालेका लक्ष्मीप्रसाद पोखरेललाई पराजित गरे । समग्रमा पार्टीगत हिसाबले हेर्दा एमालेबाट चार, कांगे्रसबाट चार, माओवादी केन्द्रबाट एक, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक जना दुई सयभन्दा कम मतान्तरले पराजित भएका छन् । 

स्याङ्जा–२ मा गुरुङको अग्रता कायमै

स्याङ्जा–२ मा प्रतिनिधिसभातर्फको जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङको अग्रता कायम रहेको छ । साँझसम्मको पछिल्लो मतगणनाबाट कांग्रेसका उपसभापति एवं उम्मेदवार गुरुङले सात हजार नौ सय सात मतसहित अग्रता कायम राखेका छन् । 
उनका प्रतिस्पर्धी नेकपा एमाले उम्मेदवार पद्माकुमारी अर्यालले पाँच हजार आठ सय ६३ मत प्राप्त गरेको निर्वाचन अधिकृत रामचन्द्र शर्माले जानकारी दिए । उनीहरुबीच दुई हजार ४४ को मतान्तर रहेको छ । तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले दुई हजार दुई सस २८ मत प्राप्त गरेका छन् । 
स्याङ्जाको गल्याङ नगरपालिका वडा नं ६ र ७, भीरकोट नगरपालिकाका वडा नं ५, ६, ७, ८ र ९ तथा वालिङ नगरपालिकाको १, २, ५, ६ र ७ को मतगणना सकिएको छ । हालसम्म १७ हजार एक सय १५ मतगणना भएको छ । मतगणनामध्ये १६ हजार पाँच सय छ मत सदर भएको र छ सय नौ मत बदर भएको निर्वाचन अधिकृत शर्माले बताए ।
स्याङ्जा–२ (१) प्रदेशसभामा आठ हजार सात सय १३ मतसहित कांग्रेसका उम्मेदवार भोजराज अर्यालले अग्रता लिइरहेका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका मोहन रेग्मीले छ हजार छ सय ३६ मतसहित उनलाई पछ्याइरहेका छन् । प्रदेशको प्रत्यक्षतर्फ हालसम्म कूल १७ हजार एक सय ४८ मत गणना हुँदा १६ हजार छ सय ७५ मत सदर भएको छ भने चार सय ७३ मत बदर भएको छ ।
प्रतिनिधिसभाको समानुपातिकतर्फ पनि नेपाली कांग्रेसलाई सात हजार तीन सय ७२ मत प्राप्त भएको छ भने नेकपा (एमाले) लाई पाँच हजार छ सय ४३ मत प्राप्त भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले दुई हजार सात सय २० मत प्राप्त गरेको छ । समानुपातिकतर्फ कूल १७ हजार तीन सय छ मत गणना हुँदा १६ हजार सात सय ९० मत सदर भएको छ । पाँच सय १६ मत बदर भएको छ । 
प्रदेश समानुपातिकतर्फ नेपाली कांग्रेसले आठ हजार तीन सय ६८ मत पाउँदा नेकपा (एमाले) ले छ हजार तीन सय ५९ मत प्राप्त गरेको छ । प्रदेश समानुपातिकतर्फ १७ हजार एक सय तीन मत गणना हुँदा १६ हजार तीन सय ७८ मत सदर भई ७२५ मत बदर भएको निर्वाचन अधिकृत शर्माले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, मंसिर १६, २०७९  ०४:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार