दोलखाका १० मतदात केन्द्रमा भोलि मतदान

मतदानको दश दिनपछि आज स्याङ्जा २ को मतगणना हुँदै
बुधबार, मंसिर १४, २०७९

काठमाडौँ । निर्वाचन आयोगले दोलखाका १० वटा मतदान केन्द्रमा भोलि मङ्सिर १५ गते बिहीबार मतदान गराउने भएको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार भोलि हुने निर्वाचनका लागि तयारी पूरा भएको छ । चारवटा बुथमा करिब आठ हजार मतदाता रहेका छन् । 
आयोगको यही मङ्सिर ११ गते बसेको बैठकले दोलखाको वैत्यश्वर गाउँपालिका–६ का वैत्यश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख, ग, वडा नं २ को जनज्योति माध्यमिक विद्यालय पुतली काठका मतदान केन्द्र क र ख, तामाकोसी गाउँपालिका–३ हेल्थपोष्ट भवन जफे मतदान केन्द्रका क र ख गरी सात वटा मतदान केन्द्रमा यही मङ्सिर ४ गते सम्पन्न भएकोे निर्वाचनलाई रद्द गरी सोही ठाउँमा पुनः मतदान गर्ने निर्णय गरेको थियो ।
आयोगले वैत्यश्वर वडा नम्बर ३ को कालीढुङ्गा मावि मतदान केन्द्रमा क, ख, ग मतदान केन्द्र भएको मतदानलाई पनि रद्द गरी पुनः मतदान गर्ने निर्णय गरी उक्त दिन पुनः मतदान सम्पन्न गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखालाई निर्देशनसमेत दिएको थियो ।      

मतदानको दश दिनपछि आज स्याङ्जा २ को मतगणना हुँदै

मतदान सकिएको दश दिनपछि स्याङ्जा निर्वाचन क्षेत्र नं २ को मतगणना हुने भएको छ । स्याङ्जा क्षेत्र नं २ मा मतगणनाको विषयलाई लिएर विवाद भएसँगै रोकिएको मतगणना निर्वाचन आयोगको निर्णयसँगै आज राति ९ बजेदेखि गणना हुने भएको हो । मतगणनाको विषयलाई लिएर अहिले वालिङस्थित निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक बसिरहेको निर्वाचन अधिकृत रामचन्द्र शर्माले बर्ताए । 
सर्वदलीय बैठकले मतगणनाका विषयमा छलफल जारी राखे पनि राति ९ बजेदेखि सुरु गर्ने सहमति भइसकेको उनले बताए । 
निर्वाचन आयोगले स्याङ्जा २ को मतगणना सुरु गर्न निर्देशन दिएसँगै मतगणनाका लागि प्रक्रिया थालिएको हो । दिउँसो ४ बजेदेखि सर्वदलीय बैठक जारी रहेको छ । यही मङ्सिर ४ गते निर्वाचन सम्पन्न भए पनि गणना हुन सकेको थिएन । चापाकोट नगरपालिकाका ३, ४ र ५ का चार वटा बुथमा नेपाली कांग्रेसले बुथ कब्जा गरी एकलौटी मतदान गरेको आरोप लगाउँदै नेकपा एमालेले पुनः मतदानको माग गर्दै आइरहेको थियो । कांग्रेसले भने जनताको अभिमतको सम्मान गर्दै छिटोभन्दा छिटो मतगणना गर्नुपर्ने अडान राख्दै आएको थियो । दुवै दलले आआफ्ना माग पूरा गर्न माग गर्दै वालिङमा विगत दश दिनदेखि निरन्तर धर्ना तथा दबाबमूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेका थिए । 
यसबीचमा निर्वाचन आयोगले सम्बन्धित क्षेत्रमा तीन सदस्यीय टोली स्थलगत अध्ययन अवलोकनका लागि पठाएको थियो । क्षेत्र नं २ मा कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ र एमाले केन्द्रीय सचिव पद्माकुमारी अर्याल मुख्य प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९  १९:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार