पत्रकारिता पृष्ठभूमिका नौ जना प्रतिनिधिसभामा 

बुधबार, मंसिर १४, २०७९

काठमाडौँ  ।  पत्रकारिता पृष्ठभूमिका आठजना राजनीतिक दलका नेताहरू सङ्घीय संसद्, प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका  छन्  । पत्रकारिता पृष्ठभूमिबाट नेपाली कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा, केन्द्रीय सदस्य रमेश लेखक, स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंह, नेकपा एमाले बाट नेताहरु गोकुल बाँस्कोटा र सूर्य थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रवि लामिछाने, सोही पार्टीका नेत्री सोविता गौतम निर्वाचित भएका  छन्  । वरिष्ठ नेता पौडेलले तनहुँ निर्वाचन क्षेत्र नं २ बाट २५ हजार तीन सय ६१ मत प्राप्त गरी विजयी भएका  छन्  । उनका प्रतिस्पर्धी एमालेका एकबहादुर राना मगरले १९ हजार नौ सय ८१ मत पाएका  छन्  । वरिष्ठ नेता पौडेलले पञ्चायतकालमा ‘तरुण’ पत्रिकाको सम्पादक मण्डलमा बसेर काम गरेका  थिए  ।  

त्यसैगरी महामन्त्री विश्वप्रकाश शर्माले झापा–१ बाट ३९ हजार ६ सय २४ मतसहित विजयी भएका  छन्  । एमालेका अग्निप्रसाद खरेलले २५ हजार तीन सय ४९ मत पाएका छन्  । महामन्त्री शर्मा ‘ऐना’ कार्यक्रमको प्रस्तोता थिए  । अर्का महामन्त्री थापाले काठमाडौँ निर्वाचन क्षेत्र नं ४ बाट २१ हजार तीन सय दुई मत प्राप्त गरी विजयी  भएका  छन्  । एमालेका राजन भट्टराईले भने १३ हजार आठ सय ५५ मत पाएका  छन्  । थापा इमेज एफएममा कार्यक्रम प्रस्तोता तथा समाचार वाचक हुन्  । कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले ३० हजार पाँच सय ७५ मत लिएर विजयी भएका  छन्  । २०४८ सालमा ‘महाकाली’ साप्ताहिकका कार्यकारी सम्पादक भएर काम गरेरका  लेखकले एमालेकी नेत्री निरुदेवी पाललाई १० हजार मतान्तरले हराएका  हुन्  ।  

स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंह सर्लाही–४ बाट २० हजार १७ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्यका लागि निर्वाचित भएका   छन्  । गोरखापत्र दैनिकका पूर्वसञ्चालक समिति सदस्य सिंहका प्रतिस्पर्धी नेपाली कांग्रेसका नगेन्द्र कुमारले १८ हजार दुई सय ५३ मत प्राप्त गरेका  हुन्  । त्यसैगरी एमालेका नेता काभ्रेपलान्चोक–२ बाट गोकुल बाँस्कोटाले ४५ हजार तीन सय ४५ मत ल्याएर विजयी भएका  छन्  । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले आफ्ना प्रतिस्पर्धी कांग्रेसका शिवप्रसाद हुमागाइँले ३९ हजार चार सय ८२ मत ल्याएका  छन्  । नेता बाँस्कोटा ‘सम्बोधन’ साप्ताहिकको सम्पादक थिए  । त्यसैगरी एमालेका सूर्य थापाले प्यूठानबाट ४१ हजार एक सय १८ मतसहित विजयी भएका  छन्  । सोही क्षेत्रमा राष्ट्रिय जनमोर्चाका नेत्री दुर्गा पौडेलले ३५ हजार आठ सय १४ मत प्राप्त गरेकी  छन्  । थापा ‘बुधबार’ साप्ताहिकको सम्पादक  थिए  । 

राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रवि लामिछानेले चितवन–२ बाट ४९ हजार तीन सय मत ल्याएर विजयी भएका  छन्  । कांग्रेसका नेता उमेश श्रेष्ठले भने १४ हजार नौ सय ८८ मत ल्याएका छन्  । लामिछानेले न्यूज–२४ टेलिभिजनबाट प्रसारित ‘सिधा कुरा जनतासँग’ कार्यक्रम सञ्चालन गर्थे  । त्यसैगरी पत्रकारिता पृष्ठभूमिका रास्वपाका नेत्री सोविता गौतम १५ हजार दुई सय ३८ मतसहित काठमाडौँ निर्वाचन क्षेत्र नं २ बाट विजयी भएकी  छन्  । टेलिभिजन कार्यक्रम प्रस्तोता गौतमले सो क्षेत्रमा ११ हजार पाँच सय ६६ मत ल्याएर एमालेका मणिराम फुयाँललाई पराजित गरेकी  हुन्  । 
 

प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९  १७:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार