सप्तरीबाट आठ जना नयाँ सांसद

मंगलबार, मंसिर १३, २०७९


सप्तरी । सप्तरीका मतदाताले यसपटक अधिकांश नयाँ उम्मेदवारलाई निर्वाचित गराएका छन् । चार प्रतिनिसभा र आड प्रदेशसभा रहेको जिल्लामा १२ मध्ये आठ जना नयाँ उम्मेदवार निर्वाचित भएका छन् । 
सप्तरी–२ बाट जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउत पनि पहिलो पटकमै सांसद् बन्दै छन् । राउतले ३५ हजार ४२ मत ल्याउँदा गत निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित उपेन्द्र यादवले १६ हजार नौ सय ७९ मतमात्र ल्याए । 
सप्तरी निर्वाचन क्षेत्र नं ३ बाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेशकुमार यादव चौथो पटकको प्रयासमा संसद् भवनको टिकट पाएका छन् । यसअघि तीनपटक पराजय भोगिसकेका यादवले नेकपा एमालेका ताराकान्त चौधरीलाई पराजित गरे । 
सप्तरी १ (१) बाट एमाले केन्द्रीय सदस्य राजकुमार लेखी प्रदेशसभा सदस्य बनेका छन् भने सप्तरी १ (२)बाट सकिल मियाँ प्रदेशसभा सदस्य बनेका छन् । मियाँ पहिलोपटक संसदीय चुनावमा होमिएको जनमत पार्टीका उम्मेदवार थिए । उनी जिल्ला विकास समिति सप्तरीको सदस्य रहिसकेका छन् । 
निर्वाचित हुने नयाँ अनुहारमा सप्तरी–२ ९१० बाट जनमत पार्टीका सतिशकुमार सिंह पनि छन् । उनी तिलाठी कोइलाडी गाउँपालिकाका निवर्तमान अध्यक्षसमेत हुन् । गत स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्षमा उम्मेदवार यहाँ पराजित भएपछि लोसपा परित्याग गरी जनमत पार्टीबाट उम्मेदवार बनेका छन् । 
सप्तरी–२ (२) बाट जनमत पार्टीका निर्वाचित महेशप्रसाद यादव पनि नयाँ अनुहार हुन् । उनी यसअघिको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट प्रदेशसभा सदस्यमा उम्मेदवार थिए । 
सप्तरी ३ (२) बाट विजयी जनमत पार्टीकै शम्भुकुमार साह पनि राजनीतिमा नयाँ हुन् । साथै, सप्तरी–४ (२) सदस्यमा पहिलो पटक निर्वाचित स्वतन्त्र उम्मेवार अनिरुद्धकुमार सिंहले नौ हजार नौ सय ८५ मत प्राप्त गरे । 
यसरी आठ जना नयाँ अनुहार संसद्मा भित्रिँदा जसपा अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादव र बहुजन शक्ति पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री विश्वेन्द्र पासवानको संसद् भवन जाने बाटो बन्द भएको छ । 
मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, पूर्वमन्त्री हेमराज तातेड, उमेशकुमार यादव, अनिस अन्सारी, संविधानसभा सदस्य ताराकान्त चौधरी, अशोकुमार मण्डल, निवर्तमान प्रदेशसभा सदस्य विदेश्वरप्रसाद यादव र अभिषेक यादव दोहोरिएर संसद् बन्न सकेनन् । 
प्रदेशसभा सदस्यमा एक(एक स्थानमा जित हासिल गरेका कांग्रेस र नेकपा (समाजवादी केन्द्र) का प्रदेशसभा सदस्यबाहेक सबै नयाँ अनुहार हुन् ।

कपिलवस्तुमा ३७ हजार बढी मत बदर
यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा ३७ हजार बढी मत बदर भएको छ । 
जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुका निर्वाचन अधिकृत राजीव पन्थीका अनुसार प्रत्यक्ष तथा समानुपातिक गरी ३७ हजार सात सय ३६ मत बदर भएको हो ।
प्रत्यक्षतर्फ प्रतिनिधिसभामा १३ हजार चार सय ५६ मत बदर भएको छ भने प्रदेशसभामा ११ हजार एक सय ४३ मत बदर भएको पन्थीले जानकारी दिए । तीन प्रतिनिधिसभा र छ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा सबैभन्दा बढी मत क्षेत्र नं ३ मा बदर भएको छ ।
क्षेत्र नं ३ मा प्रत्यक्षतर्फको प्रतिनिधिसभामा पाँच दशमलव ३१ प्रतिशत मत बदर भएको छ भने दुवै प्रदेशसभा १ मा चार दशमलव ३२ प्रतिशत र प्रदेशसभा २ मा पाँच दशमलव ८१ प्रतिशत मत बदर भएको छ ।
जिल्लामा सबैभन्दा कम मत क्षेत्र नं २ मा बदर भएको छ । प्रतिनिधिसभातर्फ तीन दशमलव ८१ प्रतिशत मत बदर हुँदा प्रदेशसभा १ मा दुई दशमलव ६० प्रतिशत र प्रदेशसभा २ मा चार दशमलव ६५ प्रतिशत मत बदर छ । 
क्षेत्र नं १ मा पाँच दशमलव ८७ प्रतिशत मत बदर भएको छ । प्रदेशसभा १ मा तीन दशमलव ८१ प्रतिशत र प्रदेशसभा २ मा पाँच दशमलव ६४ प्रतिशत मत बदर छ ।
प्रतिनिधिसभा तथा प्रदेशसभा समानुपातिकतर्फ क्षेत्र नं १ मा पाँच दशमलव ३३ प्रतिशत, क्षेत्र नं २ मा चार दशमलव १८ प्रतिशत र क्षेत्र नं ३ मा पाँच दशमलव ९९ प्रतिशत मत बदर भएको छ  । 
जिल्लामा मतदाता शिक्षा प्रभावकारी नभएको कारण मत बदर भएको कपिलवस्तु नागरिक समाजका अध्यक्ष डोलकबहादुर पछाईँको भनाइ छ । “हरेक निर्वाचनमा मत बदर हुने गरे पनि त्यसलाई कम गर्ने कुनै योजना बनेको देखिँदैन”, उनले भने । 
जिल्लामा कुल मतदाता तीन लाख ६८ हजार दुई ३२ रहेकामा दुई लाख ५३ हजार पाँच सय नौ मत खसेको थियो । जिल्लामा ६७ दशमलव दुई प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुका सूचना अधिकारी अनिता क्षेत्रीले बताए । 

 

प्रकाशित मिति: मंगलबार, मंसिर १३, २०७९  १२:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार