नर्वेका राजदूतद्वारा रसुवामा वृक्षरोपण 

मंगलबार, मंसिर १३, २०७९

रसुवा । नेपालका लागि नर्वेका राजदूत टोरन ड्याम्ड्रलले रसुवामा वृक्षरोपण गरेका छन् । उनले गोसाइँकुण्ड गाउँपालिका–६ स्थित धुञ्चेबाट पूर्वतर्फको तिवारी बगर नजिक खाली चौरमा स्थानीय भाषामा बोलिने डालेचुक नामक सिवक थ्रनको बिरुवा रोपण गरेका हुन् । 
लाङ्टाङ राष्ट्रिय निकुञ्जको सहयोग एवं इसिमोड तथा युनेस्को संस्थाद्वारा यहाँ आयोजित जलवायु प्रतिकूल र त्यसको असरसम्बन्धी भएको छलफलमा भाग लिन रसुवा पुग्दा राजदूत टोरोन वृक्षरोपणमा सहभागी भएका थिए ।  वृक्षरोपणमा इसिमोडका  प्रबन्ध निर्देशक पेमा ग्याम्जो, गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङ, लाङ्टाङ राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईसमेतको सहभागिता थियो ।
नमूना पार्कका रूपमा विकसित गर्ने उद्देश्यले रोपण गरिएको बिरुवा जुस बनाउने डालेचुकलगायत विभिन्न प्रजातिका ५१ वटा रोपिएको छ । पवित्र तीर्थ गोसाइँकुण्ड जाने धार्मिक मार्गको आसपासमा रोपण गरिएकाले हजारौँ भक्तजनमाझ सो पार्क आकर्षणको थलो बन्न सक्ने स्थानीय बासिन्दाले बताएका छन् ।
संरक्षणका साथसाथै सो स्थानमा क्रमशः बिरुवा रोपणको सङ्ख्या थपिँदै लगिने र सुक्खायाममा पानी राख्ने व्यवस्थासमेत मिलाइने प्रमुख संरक्षण अधिकृत भट्टराईले बताए ।
यस्तै राजदूत टोरन तथा इसिमोडका कार्यकारी निर्देशक  पेमा, इसिमोडका विज्ञ सुनिता चौधरीसमेतको उपस्थितिमा निकुञ्जका अधिकारी एवं प्राविधिक कर्मचारी एवं निकुञ्ज सेरोफेरोमा आधारित मध्यवर्ती क्षेत्र विकास समितिका पदाधिकारी, सञ्चारकर्मी, शिक्षक, विद्यार्थी, सरोकारवाला निकाय समेतका पदाधिकारीको सहभागिता जलवायु प्रतिकूल असरका बारेमा छलफल भएको थियो । 
कार्यक्रममा हिउँ रेखा सर्ने रफ्तार बढेको, वर्षा कमी हँुदै गएको, बाली प्रणालीमा असर परेको, फलफूलको उत्पादनमा सन्तुलन घटेको, चरन तथा घाँसेमैदानमा बाह्य घाँस पलाउन थालेको, सधैँ चिसो हुने स्थानमा तापक्रम बढ्दै गएको, चौँरीगाईलगायत चौपायाको चरनमा स्थानीय जातका घाँस लोप हुन थालेको, वन्यजन्तुले बासस्थान सार्न थालेको, जलाशय क्षेत्रमा सुक्खा बढ्न थालेको जस्ता विविध विषयमा समीक्षा गरिएको थियो । 
विद्यालयस्तरबाटै जलवायु परिवर्तनका असर छात्रछात्रामाझ सुसूचित गराई न्यूनीकरणको जागरण क्षमता अभिवृद्वि गराउन विद्यार्थीलाई चित्रकला तयार पार्ने कार्यमा सहभागी गराई पुरस्कारसमेत वितरण गरिएको थियो ।
चित्रकलामा हाइल्यान्ड आवासीय मावि धुञ्चे प्रथम, कोमेन स्यामे वाङ्फेल मावि स्याफ्रुबेँसी द्वितीय र कालिका हिमालय माविका छात्रछात्रा तृतीय भएका थिए । चित्रकलामा रसुवा मावि एवं राम्चे माविले सान्त्वना पुरस्कार प्राप्त गरेको थिए । 

अष्ट्रेलियाली राजदूतद्वारा मदरसा शहबाजियामा स्रोत केन्द्र उद्घाटन
नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले विराटनगरस्थित मदरसा शहबाजिया माविमा अष्ट्रेलियाली सहयोगमा स्थापना भएको स्रोत केन्द्रको उद्घाटन गरेका छन् ।  सो अवसरमा उहाँले सामाजिक समावेशिता अष्ट्रेलियाली विकास क्रियाकलापहरूको आधार भएको बताउँदै इस्लाम धर्मावलम्बी बालबालिकालाई थप सिकाइका अवसरका लागि सहयोग गर्न पाउँदा खुसी लागेको उल्लेख गरे । 
नेपालमा पनि अष्ट्रेलियामा जस्तै विविध जाति, धर्मका समुदायहरू एकापसमा मिलेर बसेका रहेको उल्लेख गर्दै राजदूत भोल्कले शिक्षामा समान पहुँच, सबै क्षेत्रमा समान अवसरहरूले समाजिक मेलमिलापलाई र राष्ट्रिय समृद्धिलाई प्रोत्साहित गर्ने धारणा व्यक्त गरे ।
उक्त स्रोत केन्द्रको स्थापना अष्ट्रेलिया अवार्डस् अल्मुना शेहनाज अन्सारीको अगुवाइमा दूतावासको अष्ट्रेलियाली अल्मुनाई पब्लिक डिप्लोमेसी फन्डद्वारा प्राप्त आर्थिक सहयोगमा स्थापना गरिएको हो । यसमा बालबालिकाको पढ्ने बानीको विकास गर्न र विभिन्न संस्कृति र भूगोलका बारेमा बुझ्न सहयोग गर्ने पुस्तकहरूको व्यवस्था गरिएको यहाँस्थित अष्ट्रेलियाली दूतावासले जनाएको छ ।
सो अवसरमा राजदूत भोल्कले एसोसिएसन अफ नेपालिज अल्मुनाई फ्रम अष्ट्रेलिया (आना) का प्रतिनिधि शेहनाजलाई उक्त संस्थामार्फत नेपाल र अष्ट्रेलियाको सम्बन्ध र मित्रतालाई प्रवद्र्धन गर्न सफल भएकामा बधाईसमेत दिएका थिए । 
 

प्रकाशित मिति: मंगलबार, मंसिर १३, २०७९  ०५:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार