हुम्लामा हेलिकप्टरमार्फत मतपेटिका सङ्कलन गरिँदै 

सोमबार, मंसिर ५, २०७९
Global Ime Bank

हिमाली जिल्ला हुम्लामा मतपेटिका सङ्कलन गर्न नेपाली सेनाको हेलिकप्टर सिमकोट आइपुगेको छ । सदरमुकामभन्दा टाढा रहेका मतदान केन्द्रबाट मतपेटिका ल्याउन असहज भएपछि हेलिकप्टर आइपुगेको हो । 
यस्तै उत्तरी नाम्खा गाउँपालिकाको तील, जाङ, हल्जिका मतदान केन्द्रबाट मतपेटिका ल्याइने भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । लिमिको यी तीन मतदान केन्द्रमा यसअघि हेलिकप्टरबाट मतपेटिका, कर्मचारी, सुरक्षाकर्मी पु¥याइएको थियो । यारी, याल्वाङ र मुचुका मतपेटिकासमेत हेलिकप्टरबाट ओसारिने भएको हो । लिमिको बाटो ल्यालु लेखमा बाक्लो हिउँ जमेका कारण आवतजावतमा समेत कठिनाइ छ । मतपेटिका ल्याउन असहज हुने भएपछि हेलिकप्टरबाट ल्याउने भएको हो । 
यस्तै दक्षिण भेगमा रहेका मतपेटिका समेत हेलिकप्टरबाट सदरमुकाम ल्याइने भएको हो । आइतबार राति सदरमुकाम आसपासका मतदान केन्द्रका मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेको बताइएको छ । 
जुम्लामा सर्वदलीय बैठकपछि मतगणना थालिने 

 

जुम्ला । आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको तीन स्थानबाट मतगणना गरिने भएको छ । मतदान केन्द्र र मतदानस्थलबाट मतपेटिका संकलन भइसकेका छन् ।
मतगणना सुरु गर्नका लागि केहीबेरमा सर्वदलीय बैठक बस्ने जनाइएको छ । सर्वदलीय बैठकपछि मतगणना सुरु गर्ने गरी तयारी भइरहेको मुख्य निर्वाचन अधिकृतको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिए । मतगणनालाई सुरक्षित बनाउन तारजालीको व्यवस्था गरिएको छ । गणनास्थलमा उम्मेदवार र राजनीतिक दलको एक÷एक जना प्रतिनिधिलाई सहभागी हुनेछन् । जिल्लामा सङ्घीय सभा सदस्य निर्वाचनका लागि सत्ता गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)की गोमा गौतम (कँुवर), नेकपा (एमाले)का रतननाथ योगी र राप्रपाका ज्ञानेन्द्र शाही बीच मुख्य प्रतिस्पर्धा हुने भएको छ । प्रदेशसभा सदस्यका लागि सत्ता गठबन्धनको तर्फबाट प्रदेश (क) मा नेपाली कांग्रेसका ललितजङ्ग शाही, नेकपा एमालेका धीरेन्द्रराज गिरी र स्वतन्त्र उमेर देवेन्द्रबहादुर शाहीलगायत प्रतिस्पर्धामा छन् । 
त्यस्तै प्रदेशसभा (२) मा सत्ता गठबन्धनको तर्फबाट नेकपा समाजवादीका पदमबहादुर रोकाया, एमालेका टेकराज पछाई र स्वतन्त्र उम्मेदवार धनबहादुर बस्नेतबीच प्रतिस्पर्धा हुने भएको छ । जिल्लामा प्रतिनिधिसभाका लागि १ र प्रदेशसभाका लागि दुई स्थानका लागि निर्वाचन भएको छ । जिल्लामा ६८ हजार छ सय ३८ मतदाता छन् । जिल्लामा एक सय छ मतदान केन्द्र र ८३ वटा मतदानस्थल र दुईवटा अस्थायी मतदान केन्द्रबाट निर्वाचन भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

सुर्खेत मतगणनाका समय तय गर्न सर्वदलीय बैठक बस्दै

सुर्खेत । सुर्खेत निर्वाचन क्षेत्र नम्बर–२ को मतगणनाका लागि सर्वदलीय बैठकको तयारी गरिएको छ । आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मतपेटिका मतगणना स्थलमा आइसकेको प्रमुख निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले जानकारी दिनुभयो । यसका लागि मतगणनाको स्थल वीरेन्द्रनगर नगरपालिका–६ मा रहेको सुर्खेत सभा हलमा तोकिएको छ ।
यस्तै, सुर्खेत निर्वाचन क्षेत्र नम्बर–१ को मतगणना भने टुङ्गो लाग्न सकेको छैन । आइतबार सिम्ता गाउँपालिका–६ को सिम्ता बहुमुखी क्याम्पसमा रहेको मतदान केन्द्रमा स्थगित भएको छ । मत पेटिकामा फरक मतपत्र फेला परेपछि स्थगित भएको थियो । सुर्खेत १ का मतदान अधिकृत वीरेन्द्रनगरमा हुने सर्वदलीय बैठकमा सहभागी हुन आउँदै गरेको र वीरेन्द्रनगर पुगेपछि स्थगित सिम्ता बहुमुखी मतदान केन्द्रमा मतदान कहिले गर्ने भन्नेबारे पनि छलफल हुने प्रमुख निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले बताए ।

चितवनमा मतगणना गरिँदै 
तीन निर्वाचन क्षेत्र रहेको यस जिल्लाका सबै क्षेत्रमा आज बिहानबाट मत गणनाको तयारी गरिएको छ । आइतबार राति अबेरसम्म मतपेटिका ल्याउन र बुझ्न समय लागेपछि आज बिहान सर्वदलीय बैठक राखिएको छ ।  मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार सर्वदलीय बैठकपछि मत गणना गरिँदै छ । क्षेत्र नम्बर १ र २ ले बिहान ८ बजेका लागि सर्बदलिय बैठक बोलाएका छन् । क्षेत्र नम्बर ३ ले बिहान ९ बजे सर्वदलीय बैठक बोलाएको छ । बैठक पछिलगत्तै गणनाको तयारी गरिएको छ ।  जिल्लाको क्षेत्र नं १ मा ६८ दशमलव ७३ प्रतिशत मत खसेको छ । सो क्षेत्रमा एक१ लाख ३९ हजार आठ सय ४५ मतदाता रहेका छन् । क्षेत्र नम्बर २ मा ६७ दशमवल तीन प्रतिशत मत खसेको छ । यस क्षेत्रमा एक लाख २४ हजार दुई सय १४ मतदाता रहेका छन् । 
क्षेत्र नम्बर ३ मा ६५ दशमवलव ४१ प्रतिशत मात्रै मत खसेको यहाँका निर्वाचन अधिकृत हरिसिं धामीले जानकारी दिनुभयो । यस क्षेत्रमा एक लाख ४४ हजार दुई सय ८३ मतदाता छन् । 
जिल्लाभर चार लाख आठ हजार तीन सय ४२ मतदाता रहेका छन् । उनीहरूमध्ये महिला दुई लाख नौ हजार तीन सय नौ र पुरुष एक लाख ९९ हजार ३२ जना रहेका छन् । एक सय ६१ मतदानस्थलमा चार सय ६० मतदान केन्द्र रहेका थिए । 
पाँचथरमा मध्याह्नबाट मतगणना आरम्भ गरिँदै
आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा पाँचथरमा ५४ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा ३९ हजार छ सय ३७ जना पुरुष र ३५ हजार दुई सय ६१ महिला गरी ७४ हजार आठ सय ९८ जना मतदाता गरेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा कूल एक लाख ३८ हजार नौ सय ३२ मतदाता थिए । करिब ५४ प्रतिशत मतदाताले मतदान गरेको सो कार्यालयले जनाएको छ । 
जिल्लाको कुम्मायक गाउँपालिका–४ स्थित सिद्ध माध्यमिक विद्यालय तिङदेन ‘ख’ मतदान केन्द्रमा प्रतिनिधिसभा सदस्यको पहिलो हुने निर्वाचित हुने प्रणालीको २१ मतपत्र प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने प्रणालीको मतपेटिकामा परेपछि झण्डै दुई घण्टा मतदान रोकिएको थियो । 
जिल्लामा अहिले बिहानसम्ममा सबै मतदान केन्द्रका मतपेटिका मतगणनास्थलसम्म ल्याइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले मध्याह्नबाट मतगणना थाल्ने तयारी गरेका छन् । यसका लागि बिहान ११ बजे दल तथा उम्मेदवारका प्रतिनिधिलाई बैठकका लागि बोलाइएको सो कार्यालयले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९  १४:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार