निर्वाचनका लागि देशभर ३४ हजार आठ सय ३८ सशस्त्र प्रहरी परिचालन  

शनिबार, मंसिर ३, २०७९

काठमाडौँ । भोलि मङ्सिर ४ गते देशभर हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ३४ हजार आठ सय ३८ सशस्त्र प्रहरी परिचालन हुने भएको छ । निर्वाचनमा दोस्रो घेरामा रहने सशस्त्र प्रहरीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, शान्त र भयरहित रूपमा सम्पन्न गर्नका लागि देशभर उक्त सङ्ख्यामा जनशक्ति परिचालन गरेको हो ।
सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक पुरुषोत्तम थापाले मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा देशभरका एक सय ६५ वटै निर्वाचन क्षेत्रमा प्रहरी नायब उपरीक्षक (डिएसपी)को कमान्डमा निर्वाचन क्षेत्र सुरक्षा बेस तयार गरेको जानकारी दिए । जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतको सुरक्षा गर्ने जिम्मा पाएको सशस्त्र प्रहरीले मोबाइल गस्ती, स्ट्राइकिङ, रिजर्भ र क्युआरटीसमेत खडा गरेको छ । यस्तै, जिल्ला कमान्ड पोष्ट, निर्वाचन सेलमा समेत सशस्त्रको टोली खटिने प्रवक्ता थापाले बताए ।
निर्वाचन नजिकिएसँगै सशस्त्र प्रहरीले सीमा नाकामा तैनाथी बढाउनाका साथै स्थिर अवधिमा हुनसक्ने निर्वाचन विरोधी गतिविधिको सूचना सङ्कलनसमेत गरिरहेको छ । निर्वाचनका लागि गएराति १२ बजदेखि ७२ घण्टाका लागि सीमानाका सिल भइसकेको छ । निर्वाचनको दिनमा सुरक्षित वातावरणमा आम मतदातालाई मतदान गर्ने व्यवस्था मिलाउनका लागि सशस्त्र प्रहरी मतदान केन्द्र र मतदानस्थलको बाहिरी घेरामा खटिनेछ । सशस्त्र प्रहरीले मतदान सकिएसँगै मतपेटिकालाई सुरक्षित तवरले मतगणनास्थलसम्म लैजानका लागि नेपाल प्रहरी र म्यादी प्रहरीलाई सघाउनेछ । 
यस्तै, मतगणना सुरु भएपछि मतगणनास्थलको बाह्य घेराको सुरक्षाको जिम्मेवारीसमेत सशस्त्र प्रहरीले लिएको प्रवक्ता थापाले बताए । 
 

प्रकाशित मिति: शनिबार, मंसिर ३, २०७९  ०५:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार