मौन अविधमा भेला–सभा गरे २५  हजार रुपैयाँसम्म जरिवाना 

केन्द्रीय आचारसंहिता अनुगमन समितिको बैठकको निर्णय
शुक्रबार, मंसिर २, २०७९

काठमाडौं । आइतबार हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि शुक्रबार राति मध्यराति १२ बजेदेखि मौन अवधि सुरु भएको छ । निर्वाचन आचार संहितामा मतदान हुने दिनभन्दा अठचालिस घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्म उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन नपाएने उल्लेख छ । आचार संहितामामा जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै पनि प्रकारले प्रचारप्रसार गरे निर्वाचन अधिकृत वा अनुगमनकर्ताले २५  हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था गरिएको छ । 
निर्वाचन आचारसंहिता, २०७९  को दफा १७ मा मतदान हुने दिनको अघिल्लो अठचालिस घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म पालना गर्नुपर्ने विशेष आचरणसम्बन्धी व्यवस्था रहेको भन्दै आयोगले दल तथा उम्मेदवारहरुलाई जानकारी गराएको छ । 
केन्द्रीय आचारसंहिता अनुगमन समितिको बैठकले शुक्रबार राती १२ बजेपछि निर्वाचन प्रचारप्रसार सम्बन्धी वा राजनीतिक दल वा उम्मेदवारको गतिविधि वा प्रचारप्रसार सम्बन्धी कुनै पनि समाचार प्रकाशन वा प्रसारण नगर्ने तथा नगराउने प्रबन्ध गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल प्रेस काउन्सिललाई लेखी पठाउने निर्णय पनि गरेको छ ।
शुक्रबार राती १२ बजेपछि मतगणनाको काम पूरा नभएसम्म कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला गोष्ठी, मष्तिष्क मन्थन लगायतका निर्वाचन प्रचारप्रसार सम्बन्धी कुनै पनि गतिविधि नगर्न वा नगराउन तथा फेसबुक, ट्वीटर, युट्युब जस्ता सामाजिक सञ्जालमा निर्वाचन प्रचारप्रसार सम्बन्धी कुनै पनि सामग्री प्रकाशन वा प्रसारण, शेयर, ट्याग, लाइक, कमेन्ट वा प्रतिकमेन्ट नगर्न वा नगराउन तथा आफ्नो सामाजिक सञ्चालमा त्यस्तो सामग्री भएमा तत्काल हटाउन उम्मेदवार, राजनीतिक दल लगायत सम्पूर्ण सरोकारवालाहरूलाई निर्देशन दिने,
निर्वाचन प्रचारप्रसार सम्बन्धी कुनै पनि सामग्री फेसबुक, ट्वीटर, युट्युब जस्ता सामाजिक सञ्जालमा नराख्न, शेयर, ट्याग, लाइक, कमेन्ट वा प्रतिकमेन्ट नगर्न वा नगराउन सर्वसाधारणलाई आह्वान गर्ने,
कसैले निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३  अनुसार जरिवाना गरी सोको जानकारी आयोगमा गराउन सम्पूर्ण निर्वाचन अधिकृत तथा अनुगमन अधिकृतहरूलाई निर्देशन दिने,  मतदानको दिन मतदान केन्द्रको वरिपरि कुनै राजनीतिक दल वा उम्मेदवारको पहिचान देखिने खालका एकै रङ वा किसिमका साङ्‍केतिक अर्थ जनिने पोशाक, लोगो, ब्याज, झण्डा, टिसर्ट, ज्याकेट, गम्छा, टोपी, क्याप, भेष्ट, मास्क, झोला, स्टीकर लगायतका पहिरन र चीज वस्तु लगाएमा, प्रयोग गरेमा, देखाएमा र प्रदर्शन गरेमा तत्काल जफत गर्न सुरक्षाकर्मीलाई निर्देशन  दिने तथा सामाजिक सञ्जाल तथा अनलाइन सञ्चार माध्यमबाट कुनै राजनीतिक विज्ञापन नगर्ने नगराउने, यस अघि गरिएका यस्ता विज्ञापनहरु हटाउन सम्बन्धित सञ्चार माध्यमलाई अनुरोध गर्ने र सोको अनुगमन गर्न विज्ञापन बोर्डलाई निर्देशन  दिने पनि निर्णय गरेको छ । 

प्रकाशित मिति: शुक्रबार, मंसिर २, २०७९  ०८:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार