तीन दिनभित्र प्रत्यक्षतर्फको नतिजा सार्वजनिक गर्ने आयोगको योजना

बिहीबार, मंसिर १, २०७९
Global Ime Bank

काठमाडौँ  ।  आगामी प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको नतिजा तीन दिनभित्र सार्वजनिक गर्ने निर्वाचन आयोगको योजना रहेको छ   निर्वाचनको तयारीबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन भएको तीन दिन अर्थात् मङ्सिर ७ गते बेलुकासम्ममा प्रत्यक्षतर्फका सबै नतिजा सार्वजनिक गरिसकिने कार्ययोजना बताए  । 
“सबै मतपेटिकाहरू सङ्कलन भएको लगत्तैदेखि मतगणना प्रारम्भ हुनेछ”, उहाँले भन्नुभयो, “तीन दिनभित्र प्रत्यक्षतर्फ र त्यसको पाँच दिनभित्र समानुपातिकका सबै मतगणना सक्ने गरी योजना बनाएका छौँ ।”  

    मङ्सिर २२ गतेभित्र निर्वाचनको सम्पूर्ण नतिजाको प्रतिवेदन आयोगले राष्ट्रपतिसमक्ष बुझाउन चाहेको जनाउँदै उनले भने , “निर्वाचन प्रक्रियामा सबैको प्रतिबद्धता र सहयोग भएको खण्डमा त्यो सम्भव हुन्छ भन्नेमा आयोग ढुक्क छ ।” अस्वाभाविकरूपले मतदान भएका केन्द्रलाई आयोगले विशेष सूचीमा राख्ने जानकारी दिँदै प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदान केन्द्रमा तीन वटा सुरक्षा घेरा रहने व्यवस्था गरिएको बताए  । 

    उनले कुनै केन्द्रमा अप्रिय घटना भएमा ३० मिनेटभित्र नेपाली सेना पुग्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो । बुथ कब्जा गरेर चुनाव जित्ने सोच नराख्न राजनीतिक दल र उम्मेदवारलाई सुझाव दिँदै उहाँले वारेसका आधारमा मतदान गर्ने प्रवृत्तिलाई निस्तेज तुल्याइने बताए  । 

    आगामी दुई दिनभित्र मतदान केन्द्र निर्माणको कार्य पूरा भइसक्ने आयोगले जनाएको छ । प्रजातन्त्रको मेरुदण्डका रूपमा रहेको आवधिक निर्वाचनको मुख्य सरोकार पक्ष भनेको उम्मेदवार र मतदाता नै हुन् । सार्वजनिक सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत मतदाता शिक्षा कार्यक्रम सञ्चालन भएकाले विगतका जस्तो तडकभडक नभएको आयोगले जनाएको छ ।   
      यही मङ्सिर ४ गते देशभर एकै चरणमा हुने उक्त निर्वाचनको लगभग सम्पूर्ण तयारी पूरा भएको सो अवसरमा जानकारी दिइयो । उक्त निर्वाचनमा एक करोड ७९ लाख ८० हजार पाँच सय ७० मतदाता कायम छन् । यही मङ्सिर ३ गतेसम्म १८ वर्ष उमेर पुगेका बालिग मतादाताले निर्वाचनमा मतदान गर्न पाउनेछन् ।    मतदानका लागि १० हजार आठ सय ९२ मतदान स्थलमा २२ हजार दुई सय २७ मतदान केन्द्र कायम गरिएको छ । यस्तै एक सय ४१ अस्थायी मतदान केन्द्र र आफूलाई पायक पर्ने तथा आफू खटिएका मतदान केन्द्रबाट करिब चार लाख ५० हजार अस्थायी मतदाताले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्नुहुनेछ ।   रासस   

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १७:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार