राजनीतिक परिवर्तन गर्न सफल वाम–लोकतान्त्रिक गठबन्धन आर्थिक समृद्धिका लागि लामो समय जान्छ : पम्फा भुसाल

बिहीबार, मंसिर १, २०७९

यही मङ्सिर ४ गते हुन गइरहेको निर्वाचनमा ललितपुर निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभाका लागि प्रत्यक्ष उम्मेदवार, नेकपा(माओवादी केन्द्र)का उप–महासचिव एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको ताजा अन्तरवार्ता ।

 पछिल्ला १५ दिनदेखि मतदाताको घरदैलोमा पुगिराख्नुभएको छ । जनताको प्रतिक्रिया कस्तो पाउनुभएको छ ?

जनतामा मैले एक प्रकारको उत्साह र उमङ्ग देखेको छु । जति निर्वाचनको दिन नजिकिँदै छ, त्यतिनै सिङ्गो मुलुक र जनतामा निर्वाचन लागेको छ । जनता र मतदातामा निर्वाचनप्रतिको आकर्षण छ । नेताहरुलाई घरदैलोमा जाँदा आफ्नो मनमा लागेका कुरा भन्ने, स्थानीयको समस्या सुनाउने र उम्मेदवारसँग नजिकबाट साक्षात्कार गर्ने क्रम अघि बढेको छ । यसअर्थमा हेर्दा निर्वाचनप्रति जनतामा उत्साह छ ।

म यस क्षेत्रबाट दुई पटक विजयी भएको छु । म २०६४ सालमा संविधानसभा निर्वाचनमा विजयी भएँ । निर्वाचनमा विजयी भएपछि संविधान बनाउने प्रमुख कार्यभार थियो । मैले जनताको पक्षमा संविधान बनाउँछु भनेर मत मागेको थिएँ । पहिलो संविधानसभा असफल भए पनि दोस्रो संविधानसभाको निर्वाचनबाट नेपालमा संविधान जारी भयो । हामीले जनताको पक्षमा उत्कृष्ठ संविधान बनायौँ । त्यसपछि २०७४ सालमा स्थिरताको एजेण्डा लिएर वाम गठबन्धनसहित निर्वाचनमा गएको थिएँ । ललितपुरको हकमा मैले १२ बुँदे प्रतिबद्धतापत्रसहित मतदाताको बीचमा गएको थिएँ । त्यसलाई मतदाताले अनुमोदन गर्नुभयो ।

हामीले स्थिरताको प्रतिबद्धता विभिन्न कारणले पूरा गर्न सकेनौँ । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सरकार हुँदा प्रधानमन्त्री एवं नेकपामा अध्यक्ष केपी शर्मा ओलीले गैरसंवैधानिक तबरले दुई-दुई पटक संसद् विघटन गर्नुभयो । हामी सडक आन्दोलनदेखि अदालतसम्म जानुपर्ने अवस्था बन्यो । त्यसले गर्दा स्थिरताको प्रतिबद्धता पूरा गर्न सकिएन । विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीलगायत कारणले पनि केही अप्ठ्यारो पार्‍यो । यद्यपि, प्रतिकूलताका बाबजुद मैले सांसद हुँदै गर्दा जनता र ललितपुरवासीको पक्षमा विभिन्न काम गरेँ । यहाँको पर्यटन प्रवद्र्धन, खानेपानी, सडकलगायत जनताको मागलाई सम्बोधन गर्न अधिकतम् प्रयत्न गरेँ । पछिल्ला समय ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री भएपछि पनि मैले ललितपुर क्षेत्र र समग्र देशका लागि महत्वपूर्ण काम गरेँ । यसअर्थमा मतदाताले मलाई विजयी नबनाउनुपर्ने कुनै कारण छैन । मतदाता मप्रति सन्तुष्ट देख्छु । मेरो प्रतिबद्धता पूर्णरुपमा पूरा गर्न नसक्नुमा  संसद् विघटन, कोरोना महामारीलगायत कारणलाई जनताले बुझ्नुभएको छ ।

Pampha Bhusal11668672587.jpg

 अत्यधिक बहुमतबाट विजयी हुन्छु भन्ने यहाँको दाबी हो ?

मसँग जति समय र अवसर थियो, त्यसलाई मैले अधिकतम् रुपमा देश जनता र ललितपुरवासीका लागि प्रयोग गरेको मतदाताले बुझेको पाएको छु । यसअर्थमा ललितपुर क्षेत्र नं ३ का मतदाताले मलाई अत्यधिक बहुमतले विजयी गराउनुहुनेछ । मतदाताले मलाई तपाईं जतिको उम्मेदवार कुनै पार्टीमा पनि छैन भनेर भन्नुहुन्छ । तपाईं भोलि पार्टी र देशको नेतृत्व गर्न सक्ने अवस्थामा पुग्दै हुनुहुन्छ भनेर मतदाताले भनिराख्नुभएको छ । उहाँहरुले तपाईं जस्तो उम्मेदवारलाई छाडेर अन्यलाई विजयी गराउन सक्दैनौँ भनेर स्पष्ट रुपमा भन्नुभएको छ । मतदाताले आफूले जिताएको जनप्रतिनिधि जहिले पनि भेट्न सक्ने, सहज पहुँच भएको खोज्नुहुन्छ । त्यो सहजता म जत्तिको अन्य उम्मेदवारसँग छैन भन्ने मेरो दाबी हो । यो मेरो दाबी मात्र होइन जनताको पनि विश्वास हो । मैले सांसद्, मन्त्री हुँदा वा नेतृत्वदायी भूमिकामा हुँदा जे गर्न सकेँ, सक्छु त्यो अन्य उम्मेदवारले गर्न सक्दैनन् भन्ने आम मतदाताको भनाइ छ । यसअर्थमा मतदाताले अन्य उम्मेदवारभन्दा मलाई नै रोज्नुहुन्छ भन्नेमा ढुक्क छु ।

 तपाईंले ‘अबको भिजन, गुणस्तरीय जीवन’ भन्ने दृष्टिकोण अगाडि सार्नुभएको छ । के अबको पाँच वर्षमा ललिपतुरवासीले गुणस्तरीय जीवनयापन गर्न पाउँछन् ?

पक्कै पनि पाउनुपर्छ । हाम्रो देश जुन प्रकारको राजनीतिक अवस्थाबाट गुज्रियो । पविर्तनका लागि विभिन्न खालका सङ्घर्ष भए । त्यो सबैलाई हामीले जनताका प्रतिनिधिबाट संविधान बनाएर संस्थागत ग¥यौं । अब हाम्रो प्रमुख कार्यभार भनेर समृद्धि र आर्थिक विकास हो । यसलाई हासिल गर्न हामी अघिल्लो पटकदेखि नै आर्थिक विकासमा जाने भनेका थियौँ । विभिन्न कारणले हामी त्यसतर्फ जान सकेनौँ । ललितपुरवासी मात्र होइन सम्पूर्ण नेपालीले गुणस्तरीय जीवनयापन गर्न पाउने अधिकार छ । जनताको यो अधिकारलाई हामी राजनीतिक दल र उम्मेदवारले पूरा गर्नै पर्छ । अबको पाँच वर्षमा ललितपुरवासीको मात्र होइन, सम्पूर्ण नेपालीको जीवन गुणस्तरीय हुने बाटोमा हामी देशलाई अगाडि बढाउछौँ ।

घरदैलोका क्रममा प्रत्येक टोलमा पुग्नुभएको छ । पूर्वाधार, खानेपानी, स्वच्छ वातावरणको समस्या रहेको मतदाताको भनाइ छ । यसलाई कसरी सम्बोधन गर्नुहुन्छ ?

मुलुकका अन्य क्षेत्रका तुलनामा यो क्षेत्र विकासमा केही अगाडि रहेको मान्न सकिन्छ । यद्यपि, यहाँ खानेपानी, सडकका समस्या छन् । विकास निर्माणका कामले पर्यावरणमा ठूलो असर पारिरहेको छ । खानेपानीको प्रमुख समस्या देखिन्छ । यसअघिका निर्वाचनमा म घरदैलोमा हिँड्दा महिलाहरुले खानेपानीको कुरा उठाउनुभएको थियो । यसपटक पुरुष मतदाताले पनि खानेपानीको समस्या उठाइराख्नुभएको छ । यसअर्थमा पनि खानेपानीको ठूलै समस्या छ । तर हामीले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडमार्फत मेलच्चीको पानी जनताको घरघरमा पुर्‍याइरहेका छौँ । मेलम्चीबाहेक अन्य खानेपानी स्रोतको उचित व्यपस्थापन गरी वितरणलाई प्रभावकारी बनाउँदै छौँ । धेरै ठाउँमा पाइपलाइनको विस्तार भइसकेको छ । चाँडै नै घरघरमा खानेपानी पुर्‍याउछौँ । खानेपानी, ढल, सडक, धुँवाधुलोको समस्या हामी समाधान गर्छौँ ।

चुनावको बेलामा सबैले विभिन्न एजेण्डाहरु बोकेर जनताको घरदैलोमा आउने र चुनाव जितेपछि पूरा गर्दैनन् भन्ने जनगुनासो छ नि ?

पक्कै पनि, जनताको गुनासो छ । यसलाई दुई किसिमले हेर्नुपर्छ । एकातर्फ जनअपेक्षा पूरा भएका छैनन् । अर्कातर्फ केही व्यक्ति तथा समूह अर्को पक्षलाई दोषी देखाएर बसिरहेको छ । समस्या मात्रै छ । समाधान भएको छैन भनेर समस्या मात्रै देखाएर अहिलेको व्यवस्था, राजनीतिक नेतृत्वप्रति आक्रमण गर्ने र हल्लाको व्यापार गर्ने, विषयलाई अतिरञ्जित गर्ने खालका विषय पनि आएको छ । ठ्याक्कै समस्यैसमस्या मात्र त होइन, समाधान पनि छ । तर जुन जनताको अपेक्षा थियो, हामी राजनीतिक दल र नेतृत्वको प्रतिबद्धताअनुसार नभएको चै हो ।

 विपक्षी गठबन्धन, स्वतन्त्र उम्मेदवारले पनि विभिन्न एजेण्डा प्रस्तुत गरेका छन् । मतदाताले तपाईंलाई विश्वास किन गर्ने र मत किन दिने ?

निर्वाचनमा जोजो उम्मेदवार भएर प्रस्तुत हुन्छन्, उनीहरुले यो–यो कारणले हामीलाई मत दिनुस् भनेर भन्छन् । आआफ्नो अवधारणासहित राजनीतिक प्रतिबद्धता जाहेर गर्ने र जनतामा जाने कुरा निर्वाचनको सुन्दर पक्ष हो । मेरा प्रतिस्पर्धीले आआफ्नो प्रतिबद्धता पेश गरेर जनतामा जानुभएको छ । मलाई नै मत किन दिने त रु भन्ने प्रसङ्गमा मैले यस क्षेत्रको अधिकांश घर–घरमा पटकपटक पुगेको छु । यसअर्थमा प्रत्येक मतदाताले मलाई प्रत्यक्षरुपमा सम्पर्क गर्ने, भेट्ने र आफ्ना कुरा राख्न निकै सहज छ ।

आर्थिक विकास र समृद्धिको एजेण्डालाई लिएर यहाँका मतदातासँग म भिजेको छु । परिचित छु । त्यति अन्य उम्मेदवार भिज्नु भएको छैन । केही दिनभित्र हुने निर्वाचनका लागि म प्रतिनिधिसभा सदस्यका रुपमा खडा भएको छु । अहिलेको व्यवस्थामा प्रतिनिधिसभा सदस्यमा निर्वाचित व्यक्ति सांसद्, मन्त्री र प्रधानमन्त्री हुने अवस्था छ । राजनीतिक परिवर्तनका साथै मुलुकको आर्थिक सामाजिक अवस्था परिवर्तन गर्न मैले निर्वाह गरेको नेतृत्वदायी भूमिकालाई मतदाताले बुझ्नु भएको छ । मैले आजसम्म महिला भनेर कुनै पनि सुविधा लिएको छैन । नेपालमा दुई पटक निर्वाचित भएको र तेस्रो पटक निर्वाचित हुँदै गरेको म मात्रै महिला उम्मेदवार हो । अन्य त्यस्तो उम्मेदवार छैनन् ।

 तपाईंले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पनि सम्हालिरहनुभएको छ । जनतालाई सहुलियत दिन के के काम गर्नुभयो ?

विशेष खालको राजनीतिक परिस्थितिमा छोटो समयका लागि मैले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी सम्हालेँ । योजनावद्धरुपमा लामो समयसम्म नेतृत्व गरेको पनि होइन । केपी ओलीले संविधानमाथि कु गर्दै प्रतिगमनतर्फ जाने जुन प्रयत्न गर्नुभयो । त्यो प्रतिगमनलाई सच्याउन, ओलीको असंवैधानिक कदमलाई सच्याएर देशलाई संवैधानिक रुपमा सही बाटोमा ल्याउनका निम्ति वाम–लोकतान्त्रिक शक्तिबीच गठबन्धन गर्‍यौँ । आन्दोलन ग¥यौँ । त्यो विशेष परिस्थितिमा वर्तमान सरकार बनेको हो । यो सरकारले छाटो समयमा निर्वाचन गर्नुपर्ने अवस्था थियो । कोरोना महामारी नियन्त्रण गर्न खोप अभियान सञ्चालन गर्नुपर्ने प्राथमिकताका बीच पनि मैले मन्त्रालय सम्हालेपछि केही महत्वपूर्ण काम गरेँ । मैले गरिब, सर्वाहारा, किसान, श्रमजीवि, महिला, दलित, मुस्लिम, पछाडि पारिएका क्षेत्र र वर्गका निम्ति मेरो जीवन समर्पण गरेँ । त्यो अर्थमा गरिब जनतालाई केही राहत दिनुपर्छ भनेर मासिक २० युनिट विद्युत् खपत गर्ने ग्राहकलाई निःशुल्क विजुली दिने निर्णय गरँे । त्यो निर्णयले नेपाल विद्युत् प्राधिकरण मातहतका २० लाख र सामुदायिक विद्युतीकरण आयोजनाका पाँच लाख ५० हजार गरी २५ लाख बढी ग्राहक लाभान्वित भएको अवस्था छ । एउटा ग्राहक भनेको एउटा परिवार हो । २५ लाख परिवारले राहत प्राप्त गरेका छन् । यसअर्थमा सरकारको यो निर्णयबाट झण्डै एक करोड जनता लाभान्वित भएका छन् ।

Pampha Bhusal 21668672575.jpg

देशको आर्थिक विकासको मेरुदण्ड कृषि, पर्यटन र ऊर्जा नै हो । कृषिमा आत्मनिर्भर गराउन तथा जनतालाई कृषि क्षेत्रमा आकर्षित गर्न सिचाइका लागि विद्युत् महसुलमा ७५ प्रतिशत सहुलियत दिइएको छ । सिँचाइ सुविधा नपुगेका स्थानमा भूमिगत पानीको प्रयोग गरी सिँचाइ सुविधा उपलब्ध गराउने निर्णय गरेको छु । विभिन्न स्थानमा डिप बोरिङ, स्यालो ट्युबेल, डिप ट्युबेल राखेर सिँचाइ सुविधा उपलब्ध गराइएको छ । सतही र भूमिगत पानीबाट सिँचाइको सम्भावना नभएका स्थानमा लिफ्टिङ गरेर सिँचाइको व्यवस्था गरिएको छ ।

विद्युत्को क्षेत्रमा मैले जुन सहुलियत दिएँ । समग्र बिजुलीको मूल्य नै ६ प्रतिशत घटाएको छु । हामीले ‘विदेशी ग्यास छाडौँ, स्वदेशी विजुली जोडौँ’ भन्ने नारा ल्याएका छौँ । मासिक २० युनिटसम्म विद्युत् खपत गर्नेलाई निःशुल्क दियौँ । ग्यास छाडेर इन्डक्सन चलाउँदा हुने बिजुलीको खर्च प्रतियुनिट १ रुपैयाँ घटाइएको छ । यसर्थ विद्युत् खपत बढाउन प्रोत्साहन गरेँ, विद्युत्को महसुल घटाएँ । विभिन्न स्थानमा सिँचाइको सुविधा पुर्‍याएँ । सिचाइ आयोजनालाई प्राथमिकताका साथ अगाडि बढाएँ । नयाँ र ऐतिहासिक काम मैले मेरो पालामा गरेँ । त्यो काम भनेको के हो भने नेपालमा विद्युत् आयात हुन्थ्यो । लामो समयदेखि प्रयास गर्दा पनि नेपालको विद्युत् भारतीय बजारमा निर्यात हुन सकेको थिएन । मैले मन्त्रालयको नेतृत्व लिएपछि भारत सरकारसँग कुरा गरेर, प्रधानमन्त्रीको तबरमा पनि कुरा गराएर यो गाठो फुकाएँ । नेपालले अहिले दैनिक ३६४ मेगावट विद्युत् भारतलाई बिक्री गरिरहेको छ । नेपालले थप २२ मेगावाट विद्युत् बिक्री गर्ने सुविधा पाएको छ । यसबाट मासिक झण्डै रु तीन अर्ब बराबरको विद्युत् निर्यात गर्न सफल भएका छौँ । खर्बौको व्यापार घाटा भइरहेको मुलुकमा विद्युत्को व्यापारबाट सानो आशाको किरण जगाएको छ । व्यापार घाटा न्यूनीकरण गर्नसमेत सघाउ पुगेको छ । ३६४ मेगावाट भनेको धेरै ठूलो परिमाण त होइन, तर नेपालका विद्युत् भारतमा बेच्न सक्छौँ र ऊर्जामा मुलुकलाई आत्मनिर्भर बनाउन सक्छौँ भन्ने स्थापित भएको छ । ‘पहिले विद्युत् उज्यालोका लागि, अहिले विद्युत् उज्ववल भविश्यका लागि’ भन्ने नारा ल्याएर नेपालमै विद्युत्को खपत बढाउने र नेपालमा खपत नभएको बिजुली भारतीय वा अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्ने बाटो खोलेँ ।

यसका साथै विद्यु्त प्राधिकरणको सुधार, नेतृत्व परिवर्तनलगायतका विभिन्न  काम यसबीचमा सम्पादन गरेको छु । यसबाट देशले सकारात्मक परिणाम हासिल गरेको छ । ऊर्जा क्षेत्रले देशको समृद्धि हासिल गराउँछ भन्ने मार्गको निर्देश पनि गरेको छ । साथसाथै नेपालको आफ्नै लगानीमा नेपाल सरकारले ‘गेम चेन्जर’ परियोजनाका रुपमा जलाशययुक्त बूढीगण्डकी आयोजना बनाउने निर्णय पनि मैले गरेँ । बूढीगण्डकी आयोजना बनाउने कम्पनी स्थापना भइसकेको छ । आठ वर्षभित्र बूढीगण्डकी आयोजना बन्छ । यसले देशको समृद्धिमा महत्वपूर्ण योगदान दिन्छ । छोटो समयमा गर्व गर्न लायक काम गरेँ भन्ने लाग्छ ।

निर्वाचनपछि वर्तमान गठबन्धनको निरन्तरताका बारेमा आशंका पैदा हुन थालेको छ । गठबन्धन कायमै हुन्छ ?

अहिलेको निर्वाचनमा मुख्यतः दुई वटा गठबन्धनबीचको लडाईं छ । एउटा प्रतिगमनतर्फ जाने, यो व्यवस्थालाई उल्ट्याउने, संविधानलाई च्यात्ने र देशलाई राजनीतिक अस्थिरतातर्फ धकेल्ने गठबन्धन छ । जुन नेकपा (एमाले)ले नेतृत्व गरिरहेको छ । यो व्यवस्थलाई सुदृढ गरेर देशलाई समृद्धिको बाटोमा लैजाने, आर्थिक हिसाबले सम्पन्न बनाउने, जनताको जीवन गुणस्तरीय बनाउने हामी वाम–लोकतान्त्रिक गठबन्धन आएका छौँ । देशव्यापी रुपमा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नै विजयी हुन्छन् ।

यस निर्वाचन प्रणालीबाट निर्वाचनपछि एउटै दलको सरकार बन्ने अवस्था सिर्जना हुन कठिन छ । निर्वाचनपछि पनि यही गठबन्धनले सरकार बनाउने हो । यसअर्थमा एमाले नेतृत्वको गठबन्धन प्रतिगामी हो भन्ने हाम्रो दाबी हो । एमालेले यसअघि गरेको व्यवहारले पनि त्यसलाई पुष्टि गर्छ । संविधानलाई कार्यान्वयन नगर्ने, गैरसंवैधानिक तबरबाट संसद् विघटन गर्ने, सत्ता कब्जा गरी देशलाई निरङ्कुशतातर्फ लैजाने कुचेष्टा गर्ने प्रतिगामी चरित्रविरुद्ध यो गठबन्धन बनेको हो । यो गठबन्धन टुटोस् भन्ने विपक्षीलाई लागेको छ ।

अहिले यो संविधान उल्टयाउनुपर्छ, देशलाई पहिलेकै अवस्थामा फर्काउनुपर्छ भन्ने शक्तिलाई टाउको दुखेको छ । यसअर्थमा यी शक्तिहरुको साठगाँठ एमालेसँग देखिएको छ । एमालेसहितको गठबन्धनभित्र ती तत्व पनि छन् । उनीहरुले यो गठबन्धन भत्कन्छ, निर्वाचनपछि यही गठबन्धन रहँदैन भनेर गरेको कुप्रचार मात्रै हो । पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूले यो गठबन्धनलाई निर्वाचनपछि पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । त्यसलाई जनताले विश्वास गर्नुभएको छ । यो गठबन्धन निरन्तर अगाडि बढ्छ । आम जनता भ्रममा नपर्नुहोला । वाम र लोकतान्त्रिक शक्ति एक भएको अवस्थामा मुलुकमा ठूलो राजनीतिक परिवर्तन भएका छन् । मुलुकको आर्थिक समृद्धिका लागि वाम–लोकतान्त्रिक शक्ति एक भएका छौँ । त्यो विषयलाई बुझेर वाम–लोकतान्त्रिक गठबन्धनका देशैभरका उम्मेदवारलाई  विजयी गराउन म अपिल गर्दछु ।

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १३:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार