सोसल मिडिया
Contact Us
युनिकोड
हेटौँडा । मकवानपुरको बकैया गाउँपालिका–११ लेनडाँडा नजिकैको कान्तिलोकपथ सडकखण्डमा आज बिहान मिनि ट्रक दुर्घटना हुँदा सडक पूर्णरूपमा अवरुद्ध भएको छ । प्रहरीका अनुसार बारा जिल्लाबाट परालको भुस लोड गरी काठमाडौँतर्फ जाँदै गरेको मधेश प्रदेश–०३–००२ ख १३६५ नम्बरको मिनि ट्रक सडकको खाल्डाखुल्डी र चिप्लो भागमा अनियन्त्रित भई बीच सडकमै पल्टिएको हो। दुर्घटना बिहान करिब ७ बजेतिर भएको हो । घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट जितपुरभञ्याङबाट प्रहरी सहायक निरीक्षक (प्र.स.नि) सुरेन्द्र दरैको कमाण्डमा खटिएको प्रहरी टोली तत्काल घटनास्थलमा पुगेको थियो । प्रारम्भिक अनुसन्धानअनुसार दुर्घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । चालक समिर तामाङ बारा–कोल्बी नगरपालिका निवासी हुन् र उनी प्रहरी सम्पर्कमा रहेका छन् । दुर्घटनापछि उक्त सडकखण्डमा दुईतर्फी सवारी आवागमन पूर्णरूपमा अवरुद्ध भएको छ । पल्टिएको ट्रक सडकको बीचभागमा अड्किएकाले अन्य सवारी साधन रोकिएका छन्। प्रहरीका अनुसार ट्रक हटाउने कार्यका लागि क्रेनसँग समन्वय भइरहेको छ र केहीबेरमै सडक सञ्चालनमा आउने अपेक्षा गरिएको छ । कान्तिलोकपथको सो भाग निकै साँघुरो र जोखिमयुक्त मानिन्छ। सो क्षेत्रमा वर्षा पछि सडकमा ठूला–ठूला खाल्डाखुल्डी बनेका कारण निरन्तर सवारी दुर्घटनाको जोखिम बढेको स्थानीयहरूले बताएका छन् । प्रहरीले दुर्घटनाको विस्तृत विवरण संकलन भइरहेको र आवश्यक कारवाही तथा मर्मतसम्बन्धी काम सम्पन्न भएपछि विस्तृत प्रतिवेदन सार्वजनिक गर्ने जनाएको छ । उक्त स्थान अस्थायी प्रहरी पोष्ट जितपुरभञ्याङबाट करिब ४ किलोमिटर पूर्वतर्फ पर्छ ।