सोसल मिडिया
Contact Us
युनिकोड
ताप्लेजुङ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त लोकतान्त्रिक वाम गठबन्धनको ध्यान विकास र समृद्धितर्फ केन्द्रित भएको बताएका छन् । गठबन्धनद्वारा ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै उनले मुलुकमा स्थायी शान्ति र दिगो विकासका लागि संयुक्त लोकतान्त्रिक वाम गठबन्धन बनेको हो भने । उनले भने, “दिगो विकास, स्थायी शान्ति र समृद्धिसँगै संविधानको रक्षा गर्नु नै गठबन्धनको मूल दायित्व हो । देशभर नै गठबन्धनको पक्षमा चुनावी माहोल देखिएको हुँदा निर्वाचन पछि गठबन्धनकै सरकार बन्ने छ ।” परिवर्तनका लागि राजनीतिक आन्दोलन र घोषणा धेरै भए पनि विभिन्न कारणले समग्र विकासको गति अघि बढ्न नसकेको जनाउँदै उनले अब दृढ सङ्कल्पसहित गठबन्धन अघि बढेको छ भने । मङ्सिर ४ को निर्वाचन प्रतिगामी शक्तिलाई परास्त गर्दै मुलुकलाई सही बाटोमा अघि बढाउने अवसरका रुपमा लिन पनि उनले आग्रह गरे । देश विकास गर्नका लागि गठबन्धन : प्रवक्ता डा महत
नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले देश विकास गर्न गठबन्धन आवश्यकता रहको बताएका छन् । ताप्लेजुङको सदरमुकाममा वाम लोकतान्त्रिक गठबन्धनद्वारा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै उनले देश विकास र संविधानको रक्षा गर्न गठबन्धन आवश्यकता छ भने । देश अस्थिरताबाट जोगाउन र देश समृद्ध बनाउनका लागि गठबन्धन भएको उनले जनाउँदै यो गठबन्धनको लामो समयसम्म रहने दाबी गरे । उनले भने, “संसद् विघटनपछि यो गठबन्धन बन्न पुगेको हो । यो गठबन्धनले देश समृद्ध बनाउन बनेको छ । संविधानको रक्षा गर्दछ ।” उनले गठबन्धनको अबको सङ्कल्प देश विकास गर्नु नै हो भने ।
गठबन्धनका उम्मेदवारलाई जिताउन डा.खड्काको आग्रह उदयपुर क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका नेपाली कांग्रेसका उम्मेदवार डा नारायण खड्काले नेकपा (एमाले)ले स्थानीय विकासको नाममा भ्रमको खेती गरेको आरोप लगाएका छन् । त्रियुगा नगरपालिका–१० मा भएको चुनावीसभालाई सम्बोधन गर्दै उहाँले लोकतन्त्रको रक्षाका लागि गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे । उनले जनता आवास कार्यक्रममार्फत दलित समुदायलाई घर निर्माण गर्न सहयोग गरेको र गत निर्वाचनमा आफूले गरेको प्रतिबद्धता पूरा गरेको बताए । त्रियुगा नदीमा बाध बाध्ने कामको सुरुआत र सगरमाथा विमानस्थल निर्माण भइरहेको उनले जानकारी दिए । कार्यक्रममा वाम गठन्धनका प्रदेशसभा १ (२) का उम्मेदवार हिमाल कार्कीले एमालेले चुनावी अभियानमा विभिन्न स्थानमा पुगेर आफूहरुका पहलमा भएका विकासका काममाथि भ्रम छर्ने काम गरेको आरोप लगाए । कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य सुरेश राई, नेकपा (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य बलदेव चौधरीले संविधानको रक्षा गर्ने काम बामलोकतान्त्रिक शक्तिले गर्ने बताए ।