सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुर क्षेत्र नं ३ की प्रतिनिधिसभाकी उम्मेदवार डा. तोसिमा कार्कीलाई फाइदा पुग्ने गरी आनो नाम जोडेर राखिएको स्टाटसको खण्डन गरेका छन् । काठमाडौंबाट प्रकाशित हुने एक अनलाइनले मंगलबार ललितपुर क्षेत्र नं ३ को चुनावका बारेमा प्रकाशित गरेको समाचारको अंशमा चिरीबाबु महर्जनको नाम पनि उल्लेख भएकोप्रति उनले आपित्त प्रकट गर्दै खण्डन गरेका हुन् । उक्त अनलाइनले ‘ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन भने भुसाल भन्दा पनि तोसिमाको पक्षमा उभिएको चर्चाले भुसाललाई समस्या परेको बताइन्छ’ भन्दै समाचार प्रकाशित गरेको थियो । सोही समाचारको अंश तोसिमा कार्की फ्यान पेजमा राखिएको थियो । ललितपुर महानगर प्रमुख महर्जनले बुधबार खण्डन प्रकाशित गर्दै, ‘मिति २०७९ कार्तिक २९ गतेका दिन Toshima Karki तोसिमा कार्की fanpage मा ललितपुर महानगरपालिकाका “मेयर चिरीबाबु महर्जन भुसाल भन्दा पनि तोसिमाको पक्षमा उभिएको चर्चाले भुसाललाई समस्या परेको बताइन्छ”भन्ने भावको स्टाटस प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ’, भनेका छन् ।
‘नेपालकै पुरानो र लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसको प्रतिनिधित्व गर्दै २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा म ललितपुर महानगरपालिकाको मेयर पदमा दोस्रोपटक निर्वाचित भएको सर्वविदित नै छ । नेपाली कांग्रेस पार्टीको एक “वफादार सिपाही”भएको नाताले नेपाली कांग्रेस पार्टीबाट भएको निर्णय नै मेरो अन्तिम निर्णय हो’ प्रमुख महर्जनले प्रकाशित गरेको खण्डनमा भनिएको छ ।
‘तोसिमा कार्कीलाई मैले प्रत्यक्ष भेटेको र देखेको समेत छैन, भेटेर कुराकानी भएको भन्ने कुरा तथ्यहीन एवं भ्रामक छ । निजसँग मेरो टेलिफोनमा समेत कुरा भएको छैन । सामाजिक सञ्जालबाट यस्ता मनगणन्ते, भ्रामक र कपोलकल्पित कुरा संप्रेषण गर्नु राजनीतिक संस्कार विपरितको कुरा हो । कपोलकल्पित एवम् मिथ्या कुरा सामाजिक सञ्जालमार्फत सम्प्रेषण गरी सर्वसाधारणलाई अन्योलमा पार्ने उक्त स्टाटसमा लेखिएको कुरा सत्य नभएको र निर्वाचन आयोगबाट जारी आचारसंहिताका कारण प्रचारप्रसारमा जान नपाएको यस्तो समयमा सम्प्रेषित उक्त विषयप्रति मेरो घोर आपत्ति रहेको कुरा महानगरवासी तथा अन्य सबै लोकतन्त्र प्रेमी महानुभावहरूमा जानकारी गराउँछु’ महानगर प्रमुख महर्जनले खण्डनमा भनेका छन् ।