सोसल मिडिया
Contact Us
युनिकोड
डडेल्धुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज डडेल्धरा, बैतडी र अछाममा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । सभालाई सम्बोधन गर्न उनी आज गृहजिल्ला आएका छन् । कांग्रेस डडेल्धुराका सचिव हेमराज चटौतका अनुसार प्रधानमन्त्री देउवाले साढे ११ बजे अजयमेरु गाउँपालिकाको देवलमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री देउवाले बैतडी र अछाम जिल्लामा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको जानकारी उनले दिए । यसअघि प्रधानमन्त्री देउवा यही कात्तिक १७ गतेदेखि चार दिनसम्म यहाँ बसेका थिए । सो क्रममा उनले सात पालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गरेका थिए । आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा उनी प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् । प्रतिनिधिसभातर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा प्रधानमन्त्री देउवासहित आठ उम्मेदवार चुनावी मैदानमा छन् । उनी २०४८ सालयताका हरेक निर्वाचनमा विजयी हुँदै आएका छन् ।
चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री दोस्रोपटक बैतडी आउँदै
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवाले आज सत्ता गठबन्धनद्वारा बैतडीको शिवनाथ गाउँपालिकाको सुल्लेखानमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । चुनावी सभाको तयारी पूरा भएको सत्ता गठबन्धनका चुनाव प्रचार–प्रसार संयोजक एवं नेपाली कांग्रेसका जिल्ला सभापति चतुरबहादुर चन्दले जानकारी दिए । यसअघि प्रधानमन्त्री देउवाले यही कात्तिक २३ गते बैतडीको पाटनमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गरेका थिए । सो सभालाई उनीसँगै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत सम्बोधन गरेका थिए । बैतडीमा सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका लागि माओवादी केन्द्रका नरेन्द्रबहादुर कुँवर तथा प्रदेशसभा (१) मा कांग्रेसका वीरबहादुर विष्ट र प्रदेशसभा (२) मा कांग्रेसकै शिवराज भट्ट चुनावी मैदानमा छन् ।
माओवादी केन्द्रका अध्यक्ष दाहालले ताप्लेजुङ र खोटाङको सभालाई सम्बोधन गर्ने
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्र्रचण्ड’ले आज ताप्लेजुङ र खोटाङमा आयोजना गरिने चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् । सत्ता गठबन्धन ताप्लेजुङद्वारा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्न दाहाल ताप्लेजुङ आउने भएको जिल्ला निर्वाचन परिचालन समितिका संयोजक मिङ्मा डण्डु शेर्पाले जानकारी दिए । सदरमुकामस्थित तोक्मेडाँडामा आयोजित सभालाई नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महत, नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव डा.गङ्गालाल तुलाधरलगायतले सम्बोधन गर्ने कार्यक्रम छ । सत्ता गठबन्धनले यसअघि जिल्लाका आठ पालिकामा चुनावी सभा सम्पन्न गरिसकेको छ । जिल्लामा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका खेलप्रसाद बुडाक्षेत्री प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् । यस्तै प्रदेशसभा (१) मा एकीकृत समाजवादीका खेम वनेम र (२) मा कांग्रेसका खगेनसिं हाङ्गाम उम्मेदवार रहेका छन् । यसबीच अध्यक्ष दाहालले सत्ता गठबन्धनद्वारा खोटाङको दिक्तेलबजारमा आज आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । उक्त सभालाई अध्यक्ष दाहालसँगै कांग्रेस प्रवक्ता डा प्रकाशशरण महत र नेकपा (एकीकृत समाजवाद) पार्टीका उपमहासचिव डा गङ्गालाल तुलाधरले सम्बोधन गर्ने कार्यक्रम रहेको चुनाव प्रचार–प्रसार समितिका संयोजक टङ्कबहादुर थापाले जानकारी दिए । सत्ता गठबन्धनले जिल्लाका १० वटै स्थानीय तहमा चुनावीसभा सम्पन्न गरिसकेको छ । एउटा प्रतिनिधिसभा र दुईवटा प्रदेशसभा रहेको जिल्लामा सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका रामकुमार राई, प्रदेशसभा (१) मा एकीकृत समाजवादीका वीरबलकाजी राई र प्रदेशसभा (२) मा कांग्रेसका भूपेन्द्र राई उम्मेदवार रहेका छन् ।