सोसल मिडिया
Contact Us
युनिकोड
टक्सार (भोजपुर) । आसन्न निर्वाचनको चहलपहल भइरहँदा पूर्वी पहाडी जिल्ला भोजपुरका ग्रामीण क्षेत्रका कृषक भने खेतमा पहँेलपुर भएर पाकेको धान काट्न र थन्क्याउन व्यस्त देखिन्छन् । मतदाता आफ्नो पक्षमा पार्नका लागि उम्मेदवार बनेका दलका नेता तथा स्वतन्त्र उम्मेदवार भने अहिले चुनावी घरदैलो अभियानमा लागेका छन् । नेताहरूमा चुनावको उत्साह देखिए पनि कृृषक भने समयमा नै धान भित्र्याउने कार्यमा लागेका छन् । जिल्लाका ग्रामीण क्षेत्रमा अहिले धान थन्क्याउने चटारोले कृषकलाई मारामार छ । निर्वाचन आइरहँदा वर्ष दिन खानका लागि उत्पादन गरेको धान पनि भित्र्याउन जरुरी रहेको कृषकको भनाइ छ । कृषक कृष्ण प्रधान निर्वाचनभन्दा खेतमा धान काट्न व्यस्त भएको बताउँछन् । “समयमा धान नथन्काएमा असिना आउन सक्छ र सबै वर्ष दिन खाने खेती नष्ट हुन सक्छ, त्यसैले कृषकको पहिलो काम पाकेको बाली घरमा भित्र्याउनु पनि हो”, प्रधानले भने, “यस पटक दसैँ तिहार छिटो भएकाले चाडपर्व सकिएलगत्तै खेतमा धान काट्न सुरु गरिएको हो ।” अर्का कृषक सूर्य श्रेष्ठ वर्षभरिको लागि खाने बाली धान भित्र्याउने समय भएकाले निर्वाचनभन्दा खेतीमा विशेष ध्यान दिएको बताउँछन् । धमाधम एकैसाथ धान पाकेकाले काम गर्ने मानिसको अभाव देखिने गरेको उनको भनाइ छ । मौसम जुनसुकै बेला प्रतिकूल हुनसक्ने भएकाले असिना र पानीबाट खेती पनि बिग्रने भएकाले आफूहरू अहिले धान थन्क्याउने कार्यमा जुटेको कृषकको धारणा देखिन्छ । कृषक खेतमा नै काम गरिरहेको अवस्थामा भेटिने भएकाले मत माग्नका लागि उम्मेदवारसहित नेता कार्यकर्तासमेत खेतमा नै मत माग्न पुग्ने गरेका छन् । “कृषकलाई धानको मैजारो छ, हामीलाई प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको के गर्ने खेतबारीमा नै पुगेर भए पनि मतदातासँग मत त माग्नै पर्यो”, दलका नेता कार्यकर्ता भन्छन् । निर्वाचनका दिन आफूलाई मन परेको उम्मेदवारलाई मतदान गरे पनि अरु बेला खेतबारीको काममा नै व्यस्त हुने कृषक बताउँछन् । जिल्लाका विभिन्न क्षेत्र धानखेतीका लागि पकेट क्षेत्रका रुपमा घोषणा गरिएको छ । प्रतिनिधिसभाका लागि एक र प्रदेशसभाका लागि दुई वटा निर्वाचन क्षेत्र रहेको भोजपुरमा मङ्सिर ४ को निर्वाचनका लागि कूल मतदाता एक लाख २३ हजार तीन सय ७९ जना सहभागी हुने जिल्ला निर्वाचन कार्यालय भोजपुरले जनाएको छ ।
बागलुङमा निर्वाचन विरोधी गतिविधि गर्ने १४ जना पक्राउ
निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा बागलुङको कुश्मीशेरा बजारबाट प्रहरीले १४ जनालाई पक्राउ गरेको छ । जैमिनी नगरपालिका–१ कुश्मीशेरा बजारमा कोणसभा गरिरहेका नेकपा(मसाल) का १४ नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । निर्वाचन बहिष्कारका लागि आयोजना भएको कोणसभामा प्रहरीचौकी कुश्मीशेराबाट पुगेको प्रहरी टोलीले मसालका पोलिटब्यूरो सदस्य कृष्णराज पौडेलसहितका नेता तथा कार्यकर्ता पक्राउ गरेको हो । पक्राउ पर्नेमा पोलिटब्यूरो सदस्य कृष्णराज पौडेल, अखिल भारत नेपाली एकता समाजका अध्यक्ष देवबहादुर लामिछाने, बागलुङका सचिव नारायण सापकोटा, प्रवक्ता रेशम गिरी, रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय उपाध्यक्ष दलबहादुर विक, अखिल भारत नेपाली एकता समाजका युवा नेता सूर्य थापा, कास्कीका प्रवक्ता विक्रम थापा, युवा वाम नेता सागर कुँवर, आकाश गौतम, विनोद विष्ट, रमाकान्त शर्मा र काठमाडौँका नेता यमप्रसाद शर्मालगायत रहेका छन् । उनीहरूलाई प्रहरीचौकी कुश्मीशेरामा राखिएको छ । “निर्वाचन विरोधी गतिविधि गरेको सूचना आधारमा पक्राउ गरिएको हो, कुन पार्टीका हुन् भन्ने हामीलाई जानकारी छैन”, जिल्ला प्रहरी प्रमुख दयानिधि ज्ञवालीले भने, “प्रचार सामग्रीसहित फेला परेकाले अनुसन्धान भइरहेको छ, मुद्दा चलाउने वा कागज गरेर छोड्ने अनुसन्धानपछि थाहा हुन्छ, घटनाको प्रकृति र उनीहरूको क्रियाकलापको विषयमा हामीले पहिले जानकारी लिन्छौँ ।” कोणसभाका मुख्यवक्ता पोलिटब्यूरो सदस्य कृष्णराज पौडेलले सम्बोधन गरिरहेका बेला प्रहरीले सबैलाई पक्राउ गरेको थियो । मसालका नेता कार्यकर्ता र प्रहरीबीच केहीबेर घम्साघम्सी भएको प्रतक्षदर्शीले बताए । प्रहरीले उनीहरूसँगै माइक र पर्चालगायतका प्रचार सामग्री पनि जफत गरेको छ ।